काठमाडौं । २५ वर्षदेखि सत्तामा रहेका सिरियाली राष्ट्रपति बशर अल असद डिसेम्बरमा अचानक सत्ताच्यूत भएका छन् । गत साताको ११ दिनभित्र भएको यो घटनाले सिरियामात्र नभई सम्पूर्ण मध्यपूर्वमा तरंग ल्याएको छ ।
यो घटनाले अरब क्रान्तिको नयाँ अध्याय पनि संकेत गरेको छ । तर विद्रोहीको कब्जामा पुगेको सिरियालाई उनीहरुले समन्वय गर्दै कसरी अगाडि बढाउँछन्, यो सबैको चासोको विषय बनेको छ ।
सिरियामा वर्षौंदेखि चलिरहेको जनआन्दोलनले असद सरकारविरुद्ध असन्तुष्टि बढाएको थियो । आर्थिक संकट, भ्रष्टाचार र नागरिक स्वतन्त्रताको अभाव जस्ता मुद्दाहरूले जनताको आक्रोश भित्रभित्रै बढिरहेको थियो । यसमा पश्चिमी मुलुकहरूले राष्ट्रपति बशर अल असद असदलाई सत्ताच्यूत गर्न कूटनीतिक र आर्थिक नाकाबन्दी गर्दै आएका थिए ।
खासगरी अमेरिकाको नेतृत्वमा युरोपेली संघ र केही खाडी राष्ट्रहरूले असदको पतनलाई समर्थन गरे । अमेरिकी प्रतिबन्धका कारण सिरिया आर्थिकरुपमा कमजोर बन्दै गइरहेको थियो । त्यसैले सिरियाली सरकारसँग सैनिकहरुलाई नियमित तलब दिनसक्ने हैसियत पनि गुमिसकेको थियो ।
यसले पनि सैनिकहरुमा व्यापक असन्तुष्टि थियो । निकै नाजुक अवस्थामा पुगेको सरकारका कारण धेरै सैनिक भागेर बिद्रोही समूहमा गइसकेका थिए । तबल र सुविधाकै कारण सैनिकहरू र सुरक्षा बलहरूभित्रै असन्तुष्टि थियो । केही उच्च पदस्थ अधिकारीहरू सरकारको पक्षमा नरहेको खुलासा भएपछि सरकार झन् कमजोर बन्न पुग्यो ।
राष्ट्रपति असदलाई सबैभन्दा ठूलो सहयोग रुसबाट थियो । रुसले सिरियालाई सैन्य र आर्थिक सहयोग गर्दै सत्तामा टिकाउन ठूलो मद्दत गर्दै आइरहेको थियो ।
अरबभित्रै इरानी नेत्तृत्वमा हिजबुल्लाह, हुथी जस्ता समूहहरुले पनि राष्ट्रपति असदलाई सहयोग गर्दै आइरहेका थिए । तर अहिले स्थिति ठ्याक्कै उल्टो भयो । रुस आफै युक्रेनसँगको लडाईमा व्यस्त छ भने इरानको आर्थिक र सैन्य समर्थन रहेको हिजबुल्लाह लेवनानमा इजरायलको आक्रमणले तहसनहसको अवस्थामा छ ।
यही अवस्थालाई नजिकबाट नियालीरहेका विद्रोहीहरुले एक्कासी आफ्नो उपस्थिति राष्ट्रपति असदविरुद्ध बढाए ।
क्षेत्रिय शक्ति संघर्षमा असदको सरकारलाई कमजोर बनाउने खाडी राष्ट्रहरु र इजरायलले आर्थिक तथा प्राविधिक सहयोग गरेका विद्रोहीहरुले यही समयमा शसक्त दबाब सिर्जना गरे । जसको प्रतिफल असद देश नै छोडेर रुसको शरणमा पुग्न बाध्य भए ।
असदको पतनका ११ दिन !
असदको सहज पतनमा सिरियाली सेनाको भूमिका मुख्य रह्यो । विद्रोहीहरु आक्रमक बनिरहँदा सिरियाली सेना चुप बस्यो । सैनिकहरूले विद्रोहीमाथि दमन गर्न अस्वीकार गरेपछि सैन्य बलमै टिकेको असद सरकार एकदमै कमजोर बन्यो ।
सिरियाली सैनिकहरूले विद्रोहीविरुद्ध दमन गर्न अस्वीकार गर्नुका पछाडि विभिन्न कारणहरू रहेका छन् । एक त, सैनिकहरू आफै देशको अवस्थाबाट असन्तुष्ट थिए ।
अर्कोतर्फ, अन्तर्राष्ट्रिय समुदायबाट आएको दबाबले पनि सैनिकहरूलाई प्रभावित पारेको हुन सक्छ । सन् २०२४ मा जारी ग्लोबल फायर पावर इन्डेक्सका अनुसार सैन्य शक्तिमा सिरिया अरब क्षेत्रको छैटौं शक्तिशाली मुलुक थियो भने अन्तर्राष्ट्रिय स्तरमा ६० औं शक्तिशाली थियो ।
तर विद्रोहीसँग भिड्न अस्वीकार गर्दै सिरियाली सेना तटस्थ बस्दा ५० वर्षदेखि पारिवारिक शासनको विरासत धान्दै आएका असद देश छोडेर भाग्न विवश भए ।
अमेरिकालगायतका शक्तिशाली राष्ट्रहरूको समर्थन पाएका विद्रोही समूह हयात तहरिर अस साल एचटिएसले नेतृत्व गरेको विद्रोहीहरुको कब्जामा सिरिया पुगेको छ । तर यही मौकामा सिरियाका सैन्य अखडाहरुमा बमबारी गरिरहेको छ ।
अरब क्रान्तिको झल्को !
बशर अल असदको पतनले सिरियामा नयाँ युगको सुरुवात गरेको छ । यो घटना केवल राजनीतिक परिवर्तन नभई, अरब क्रान्तिको दोस्रो लहरको संकेतका रुपमा पनि देखा परेको छ ।
अरब क्रान्ति जसलाई अरब स्प्रिंग् पनि भनिन्छ, जुन सन २०१० मा ट्युनिसियाबाट शुरु भएको राजनीतिक तथा सामाजिक आन्दोलन हो, जसले मध्यपूर्व र उत्तर अफ्रिकाका थुप्रै मुलुकमा सत्ता परिवर्तन गरायो । अरब क्रान्तिको बलमा ट्युनिसिया, इजिप्ट, लिबिया जस्ता देशका शासकहरू सत्ताच्युत भएका थिए ।
सिरियामा पनि असदको पतन यसै क्रान्तिको अर्को श्रृंखलाको रुपमा रहेको छ । परिणाम स्वरूप भएको हो । अब सिरियाको भविष्यले मध्यपूर्वको भू–राजनीतिक अवस्थालाई कता लैजाला, यसले विश्वभरको ध्यान तानेको छ ।