News 24 Television
विश्वलाई घेराबन्दीमा पार्ने एकसे एक रणनीतिमा अमेरिका !

काठमाडौं । अमेरिकाले आफ्नो विश्वव्यापी प्रभाव विस्तार गर्न क्यारेबियन सागरदेखि क्यानडा, रुस, चीन र भारतसम्म रणनीतिक घेराबन्दीको नीति अगाडि बढाइरहेको देखिन्छ ।

शुक्रवार अमेरिकाले विश्वकै सबैभन्दा ठूलो युद्धपोत क्याराबियन सागरमा परिचालन गरेको छ । यसलाई भेनेजुएलाका राष्ट्रपति निकोलास मदुराले अमेरिका युद्ध निम्त्याउन अग्रसर रहेको आरोप लगाएका छन् । अमेरिकाले कसरी विश्वभर सामरिक घेराबन्दी गरिरहेको छ त ? 

क्यारेबियन सागरदेखि क्यानाडा, रुस, चीन र भारतसम्म फैलिएको सामरिक घेराबन्दीमार्फत अमेरिका विश्वलाई आफ्नो प्रभावमा पार्ने प्रयास गर्दैछ । हिन्द–प्रशान्त नीतिमा आधारित यो रणनीति अन्तर्गत अमेरिका विशेषगरी चीनको उदयलाई रोक्न चाहन्छ । यसका लागि अमेरिकाले क्वाड र औकस गठबन्धन पनि बनाएको छ । 

जसमध्ये क्वाड अमेरिका, भारत, जापान र अष्ट्रेलियाबीचको यस्तो रणनीतिक गठबन्धन हो जसले हिन्द–प्रशान्त क्षेत्रमा स्वतन्त्र र खुला समुद्री व्यवस्था कायम गर्दै सुरक्षा, आर्थिक विकास, प्रविधि र आपतकालीन सहकार्यमा चीनको बढ्दो प्रभाव सन्तुलन गर्न काम गर्छ ।

त्यसैगरी औकस अन्तर्गत अमेरिका, बेलायत र अष्ट्रेलियाबीचको सुरक्षा गठबन्धनको मुख्य उद्देश्य पनि हिन्द–प्रशान्त क्षेत्रमा चीनको प्रभाव सन्तुलन गर्ने नै हो । औकस विशेषगरी आणविक पनडुब्बी प्रविधि, साइबर सुरक्षा, एआई र रक्षा सहयोगमा केन्द्रित छ । यसबाहेक क्यारेबियन क्षेत्रमा अमेरिकाले नेटो र आफ्ना सैन्य साझेदारहरूको माध्यमबाट प्रभाव जमाइरहेको छ । 

ल्याटिन अमेरिकामा भेनेजुएला, निकारागुवा र क्यूबा जस्ता देशहरूमाथि प्रतिबन्ध र राजनीतिक दबाब प्रयोग गर्दै आएको छ । अमेरिकाले क्यानाडासँग नेटो र आर्कटिक सहयोगमार्फत उत्तरी ध्रुवीय क्षेत्र नियन्त्रण गर्दैछ भने रुसविरुद्ध नेटोको पूर्वी विस्तार र युक्रेनलाई युद्धमा सघाएर घेराबन्दी गरिरहेको छ । चीनलाई काउन्टर दिन दक्षिण चीन सागरमा नौसेना अभ्यास र भारतसँग साझेदारीमार्फत चाइना प्लस वान रणनीति अपनाएको छ ।

कैयौ देशका सरकार ढालेको आरोप !

अमेरिकामाथि सुक्ष्मरुपमा विश्वका धेरै देशका सरकारहरु ढालेको आरोप लाग्दै आएको छ । यस्तो आरोप चीनलाई दोस्रो विश्वयुद्ध यता नै लाग्दै आएको थियो । १९५३ मा इरान, १९५४ मा ग्वाटेमाला, १९७३ मा चिली, १९६० मा कंगो, १९६४ मा ब्राजिल, १९९१ मा हाइटी, २००३ मा इराक र २०११ मा लिबियाको सरकार ढालेको आरोप अमेरिकामाथि लाग्ने गरेको छ । 

अमेरिकाले कतिपय देशमा प्रत्यक्ष सैन्य आक्रमणमार्फत् र कतिपयमा लोकतन्त्र र मानवअधिकारको नाममा हस्तक्षेप गरेर सत्ता परिवर्तन गराएको छ । नेपालमै पनि भारत र चीनको प्रभाव घटाउन नेपालका जेनजीमाथि करिब ५० करोड रुपैयाँ अमेरिकाले लगानी गरेको द सण्डे गार्डियनले खुलासा गरेको थियो । 

चीन र भारतमाथिको निगरानी !

चीन र भारतमाथि अमेरिकाको चासोका दुई प्रमुख कारण आर्थिक प्रतिस्पर्धा र भू–राजनीतिक प्रभाव हो । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेपछि अमेरिकाको एकाधिकार चुनौतीमा परेको छ । अमेरिकाले भारतलाई चीनको सन्तुलनकारी शक्ति र सम्भावित साझेदारका रूपमा हेर्छ ।

चीनको जीडीपी वृद्धि र बीआरआईले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको छ । त्यसैले अमेरिकाले भारतसँग प्रविधि र सुरक्षा सहयोगमार्फत् चीनविरुद्ध काउन्टर ब्यालेन्सको रणनीति अपनाइरहेको छ । तर भारतको रुससँगको सम्बन्धले अमेरिकाको चिन्ता बढाएको छ । 

त्यसैले रुससँगको तेल व्यापार तोड्न दबाब समेत दिइरहेको छ । चीनको उदय रोक्न अमेरिकाले जापान, दक्षिण कोरिया र फिलिपिन्समा सैन्य उपस्थितिलाई तीव्र बनाउँदैछ भने ताइवान कार्ड पनि खेलिरहेको छ । 

चिनियाँ राष्ट्रपतिसँग ट्रम्पको रणनीतिक भेट

युक्रेन युद्ध अन्त्यको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीमा तय भएको वार्ता स्थगित गर्दै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दैछन् । दुवै राष्ट्रपतिको दक्षिण कोरियामा अक्टोबर ३० मा भेटवार्ता हुँदै छ । ट्रम्पले रुस युक्रेन युद्धलाई अहिलेकै अवस्थामा युद्धविराम गरेर रोक्न प्रस्ताव गरेपछि पुटिनसँगको वार्ता भंग भएको हो । 

युद्धविरामका लागि रुसले युक्रेनको पूर्ण निःशस्त्रीकरण र कब्जा गरेका युक्रेनी भूभाग आफैसँग राख्ने अडान लिएको छ भने युक्रेन भूमि सुम्पने कुरामा सहमत छैन । त्यसैले पनि आफ्नो प्रयासले सार्थकता नपाउने भएपछि ट्रम्पले पुटिनसँगको वार्तालाई समयको बरबादी मात्रै भन्दै सी जिनपिङसँगको वार्ता तय गरेका हुन् ।  

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट्ने ट्रम्पको निर्णय पछाडि पनि रणनीतिक सन्देश लुकेको छ । ट्रम्पले वार्तामार्फत चीनसँग व्यापारिक सम्झौतामा लचकता खोज्ने र आर्थिक लाभ सुनिश्चित गर्ने प्रयास गरेको देखिन्छ । त्यस्तै यसले रूसमाथि कूटनीतिक दबाब सिर्जना गर्दै विश्वलाई मुट्ठीमा पार्न र दोस्रो विश्वयुद्धपछिको अमेरिकी हेजमोनी कायम राख्नलाई पनि ट्रम्प प्रशासनले अनेकौ रणनीतिहरु तीव्र बनाइरहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update