News 24 Television
३५ बुँदे माग बोकेर १० दिनेदेखि धर्नामा स्ववियू सचिव

काठमाडौं । १० दिन देखि त्रिभुवन विश्व विद्यालयका उपकुलपतिको कार्यकक्ष बाहिर त्रिवि केन्द्रिय क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू)का सचिव २४ सैं घन्टा धर्नामा छन् । 

आफ्ना विभिन्न ३५ बुँदे शिक्षा सुधारका माग राख्दै धर्नामा बसेका सचिव सिद्धान्त भट्टको माग सम्बोधन भने तत्काल हुने छाँटकाँट देखिएको छैन । 

उपकुलपति, रेक्टर र रजिष्ट्रार नै विश्वविद्यालय सुधारको माग सम्बोधन गर्न गम्भिर नदेखिएको भट्टको आरोप छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकक्षको ढोकै अगाडि १० दिन देखि स्वतन्त्र विद्यार्थी युनियनका सचिव सिद्धान्त भट्ट २४ सैं घन्टा धर्नामा छन् ।

विश्वविद्यालय सुधारका लागि भन्दै विभिन्न ३५ बुँदे माग राखेर धर्नामा बस्दा पनि आफ्नो मागको सम्बोधन गर्न उपकुलपति, रेक्टर र रजिष्ट्रार कसैले पनि चासो नदेखाएको उनको आरोप छ । 

भट्टले उठाएका ३५ बुँदे मागमा त्रिविका अनुसन्धान केन्द्रहरुलाई विद्यार्थीसंग जोड्न त्यहाँ कार्यरत प्राध्यापकहरुले अनिवार्य रुपमा आफू सम्बद्ध विभागमा अध्यापन गराउनुपर्ने, आङ्गिक क्याम्पस, सम्बन्धन प्राप्त क्याम्पसमा छात्रवृत्तिमा समावेशी र पारदर्शी रुपमा कार्यान्वयन गराउन हरेक शैक्षिक बर्ष अगावै बार्षिक प्रणाली र सेमेस्टर प्रणालीमा भर्ना भएका विद्यार्थी सङ्ख्याको कम्तिमा ४० प्रतिशत हुने गरी छात्रवृत्तिको सम्पूर्ण विवरण सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने, विदेशी विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको क्रेडिट ट्रान्सफर सम्बन्धी कार्यविधि कार्यान्वयन गर्नुपर्ने, पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको विदेशी विश्वविद्यालयले प्रदान गर्ने प्रमाणपत्र र उपाधिको मान्यता र समकक्षताका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने, हरेक २ बर्षमा हुने स्ववियू निर्वाचनको ज्ञारेण्टी हुनु पर्ने, त्रिविमा कार्यरत आंशिक शिक्षकहरुलाई स्वतः करार गर्ने प्रक्रिया खारेज गर्नुपर्ने, त्रिविमा प्राध्यापन सेवा प्रवेशका लागि न्यूनतम मापदण्ड पि.एच.डी हुनु पर्ने र सबै प्राध्यापकको पि.एच.डी. को पारदर्शी रुपमा छानविन गर्नुपर्ने लगायत छन् । 

आफुले विश्वविद्यालयका पदाधिकारीलाई यी बिषयमा पटक पटक ध्यानाकार्षण गराउँदा पनि सम्बोधन नभएपछि बाध्य भएर धर्नामा बस्नु परेको उनको भनाइ छ । विश्वविद्यालयका पदाधिकारीलाई काममा कुनै अवरोध नगरेपनि उनीहरुले कार्यालय नै नआई बाहिरबाट नै विश्व विद्यालय चलाएको उनको आरोप छ ।


धर्नामा बसेको दोस्रो दिन उपकुलपति, रेक्टर र रजिष्ट्रार धर्ना स्थल अगाडिबाटै कार्यकक्षमा प्रवेश गरेको र समिति बनाईदिएका छौं वार्तामा बस्नु भनेर गएको भट्ट बताउँछन् । तर वार्ता समितिलाई कुनै अधिकार नै नदिई वार्ता गर्न पठाएको र समितिकै सदस्यहरु आफ्ना मागका सम्बन्धमा अनविज्ञ रहेको भट्को आरोप छ । त्यसपछि उपकुलपति, रेक्टर र रजिष्ट्रारलाई सम्पर्क गर्न खोज्दा आफुसँग अहिलेसम्म पनि दोहोरो कुराकानी नभएको उनले बताए । 

यस बिषयमा त्रिविका उपकुलपति केशरजंग वराललाई बुझ्दा उनले वार्ताका लागि समिति गठन गरेको बताउँदै आफुहरु काम विशेषले पोखरा आएको र काठमाडौं फर्किए पछि समितिमार्फत जानकारी लिने बताए ।त्रिविलाई विगत देखिनै दलगत राजनीतिक हस्तक्षेपले गिजोलेको छ । 

उपकुलपति, रेक्टर र रजिष्ट्रार सहित डिन र निर्देशक चयन गर्दा मेरिटोक्रेसी भनिएता पनि अन्त्यमा राजनीतिक भागवण्डा नै हुने गरेको छ ।

अहिले विश्वविद्यालय सुधारका निम्ति स्ववियूका सचिवले उठाएका ३५ बुँदे माग जायज भए पुरा गर्न र जायज नभए विश्वविद्यालयले खण्डन गर्न जरुरी छ । 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update