
काठमाडौं । काठमाडौं विश्वविद्यालयमा अबको उपकुलपति को ? यो अहिले पनि चासोको विषय बनेको छ । उपकुलपतिमा निर्वतमान उपकुलपति भोला थापाको समेत नाम सिफारिस भएको अवस्था छ भने कायममुकायम उपकुलपतिमा प्रा.डा. अच्युतप्रसाद वाग्ले आसिन भइसकेका छन् । वाग्लेको नाम पनि उपकुलपतिका रुपमा सिफारिस भइसकेको नाम हो ।
यता, भोला थापाविरुद्ध ‘केयुभीसी नो नट अगेन’को नारा चर्किरहेको छ । यस्तो लफडाका बीच सिफारिसमा परेकाहरुले आफ्नो शक्ति प्रर्दशन गर्नेक्रम जारी छ । लफडा नै लफडाले गञ्जागोल केयुमा उपकुलपतिको लाइनमा रहेकाहरु को कस्ता छन् त ? कहाँ–कहाँ छ उनीहरुको कनेक्सन ?
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपति चयन प्रक्रियाले लफडा मच्चाइ रहेका बेला अहिले कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रा.डा. अच्युतप्रसाद वाग्लेले पाएका छन् । रजिष्ट्रार रहेका वाग्लेलाई कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को व्यवस्था नभएसम्मका लागि केयुको कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरिसकेका छन् । तर, उपकुलपति चयनमा देखिएको लफडा अहिले नै सामसुम हुने देखिदैन ।
२०८१ माघ ६ गते काठमाडौं विश्वविद्यालयका उपकूलपति प्राध्यापक डाक्टर भोला थापाको चार वर्षे कार्यकाल समाप्त भएपछि अच्युत वाग्लेले कायममुकायम उपकुलपतिको जिम्मेवारी पाएका हुन् । ७७ माघ ७ मा प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकूलपतिमा नियुक्त गरेका थिए ।
नयाँ उपकूलपति छनोट समितिले १७ मध्ये १६ जनाको नाम स्वीकृत गरेको छ । जसमा समितिका संयोजक सुरेशराज शर्माका भान्जा प्राध्यापक डाक्टर नवीन पोख्रेल र नजिकका आफन्त प्राध्यापक डाक्टर मनीष पोख्रेल र अहिलेको उपकूलपति प्राध्यापक डाक्टर भोला थापा पनि छन् । विगतमा कांग्रेसको कोटाबाट उपकूलपतिमा नियुक्त भएका भोला थापा पुनः उपकुलपति होलान् कि नहोलान् भन्ने केयुवृत्तमा चासो छ ।
थापालाई लक्षित गर्दै ‘केयु भिसी नो नट अगेन’ भन्ने नारा सामाजिक सञ्जालमा लागिरहेको छ । तर, शक्ति केन्द्र रिझाउने कुशल खेलाडीका रुपमा परिचय बनाएका थापाले दोहोरिएर उपकूलपति हुने अस्त्र प्रयोग गरिरहेका छन् ।
जसको पछिल्लो उदाहरण हो – ‘विग्रहमा गइसकेको धुलिखेल अस्पताल र केयुको सम्बन्ध पुनस्र्थापित गर्नमा गरिएको सहमति ।’
थापाकै कारण धुलिखेल अस्पताललाई केयुसँग अलग गर्ने, तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई खुसी पारेर नयाँ अस्पताल खोल्न राजी गराउनेसम्मको तयारी गरिसकेका थापा यसपटकको सिनेट बैठकमार्फत विगतका सबै प्रयास छाड्दै धुलिखेल अस्पतालसँगको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन बाध्य भएका छन् ।
नेपाली कांग्रेस र माओवादीबीचको राजनीतिक समिकरणले स्थायीत्व पाउने आँकलनबमोजिम थापाले यसबीच विश्वविद्यालयलाई माओवादीको लालकिल्लाको रुपमा परिणत गरेको भनेर आलोचना हुने गरेको छ । अहिले माओवादी कमजोर भएको अवस्थामा थापाका लागि एमाले–कांग्रेस रिझाएरै अघि बढ्नुको विकल्प छैन । उपकूलपति सिफारिस समितिका संयोजक सुरेशराज शर्मा फ्याक्टरसमेतलाई मिलाउने र राजनीतिक लविङ ठिक ठाउँमा गर्न सक्दा थापा उपकूलपतिमा दोहोरिन पनि सक्छन् ।
जानकारहरु भन्छन् ‘थापा सर सधैं शक्ति पछि दौडदाँ अध्ययन–अध्यापनबाट टाढा पुग्नु भयो’
सन् १९९४ मा लेक्चररको रुपमा प्रवेश गरेका थापाको ३१ वर्षे करिअरमा ‘अध्ययन अध्यापन कम, विभिन्न व्यवस्थापकीय पदहरुमा डुबुल्की ज्यादा भयो’ भनेर केयुकै अन्य प्राध्यापकहरुले कुरा उठाउने गर्छन् । थापाले विश्वविद्यालय प्रवेशपछि विश्वविद्यालयकै सुविधामा भारतबाट स्नातकोत्तर, नर्वेबाट पिएचडी गरे । त्यो बेला स्नातक मात्रै गरेकाहरुलाई पनि लेक्चररको रुपमा केयुमा प्रवेश दिइन्थ्यो । ३१ वर्षे कार्यकालमा थापाले पाँच वर्षजति अध्ययन विदा नै लिए ।
त्यसपछि विभागको प्रमुख, डिन, रजिष्टार र उपकूलपतिको रुपमा काम गरे । रजिष्टार हुँदा पनि आफ्नो विभागको डिन चाहिँ छाडेनन् । कोभिड –१९ को बेला र अन्य फाटफुट वर्षहरुमा उनी अध्यापनमा लागे । तर, कोभिड १९ महामारीमा पनि खास पढाई भने हुन सकेको थिएन । ३१ वर्षमा बढीमा सात आठ वर्ष पढाएका थापाले विश्वविद्यालयमा रहेका जति सबै पद ओगटे । तर १५ देखि २२ वर्षसम्म पढाएका धेरै अहिलेसम्म असोसिएट प्रोफेसर– प्रोफेसर हुन पाएका छैनन् । विश्वविद्यालयका लागि कम योगदान दिएपछि यसबीच थापाले शक्तिकेन्द रिझाएकै भरमा भएजति सबै शक्तिशाली पदहरुमा राज गरे । अब फेरि थापा उपकूलपतिको दौडमा छन् ।
कस्तो छ अन्य प्रतिस्पर्धीको पृष्ठभूमि ?
१. प्रा.डा. मेघराज दंगाल– माआवादी निकट
२. प्रा.डा. श्यामनारायण लाभ – केयुबाहिरका उम्मेदवार
३. प्रा.डा. नवीन पोख्रेल – सुरेशराज शर्माका आफन्त
४. प्रा.डा. सुबोध शर्मा –पूर्वरजिष्ट्रार–पुराना प्रोफेसर
५. प्रा.डा. बालचन्द्र लुइटेल – नेकपा एमाले निकट
६. प्रा.डा. हरिप्रसाद न्यौपाने – पूर्वअसोसिएट डिन
७. प्रा.डा. विभूति रञ्जन झा – सेवा निवृत्त
८. प्रा.डा भोला थापा – निवर्तमान उपकूलपति
९. प्रा.डा. कन्हैया झा –पूर्वडिन
१०. प्रा.डा. जनार्दन लामिछाने –माओवादी कार्यकर्ता
११. प्रा.डा. मनीष पोखरेल – सुरेशराज शर्माका भाञ्जा
१२. प्रा.डा.विमप्रसाद श्रेष्ठ– पूर्व असोसिएट डिन
१३. प्रा.डा.वेदमणि दाहाल –पूर्वअसोसिएट डिन÷प्राध्यापक संघको पूर्वसभापति
१४. प्रा.डा.राजेश नेपाल – नोबेल मेडिकल कलेजका कार्डियोलोष्टि
१५. प्रा.डा. अच्युतप्रसाद वाग्ले – कायममुकायम उपकुलपति\तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाका आर्थिक सल्लाहकार
१६. प्रा.डा. धीरज गिरी ः पूर्व असोसिएट कन्ट्रोलर
परीक्षामा सहभागी नै नभएकाहरुलाई उत्तीर्ण गराउनेहरुलाई कारबाही सिफारिस
काठमाडौं विश्वविद्यालयको मंसिर २९ मा सम्पन्न दीक्षान्त समारोहमा विभिन्न तीन कार्यक्रमका उत्तीर्ण नभएका ११ विद्यार्थीको नाम ग्रेसलिस्टमा समावेश भएको र तीन जना विद्यार्थी उत्तीर्ण हुँदा पनि ग्रेस लिस्टमा नपरेको सम्बन्धमा लापरबाही गर्ने पदाधिकारीहरुमाथि कारबाही सिफारिस भएको छ ।
जसअनुसार परीक्षा नियन्त्रण कार्यालयका अधिकृत चन्द्रनारायण खड्गालाई स्पष्टिकरण माग्न, सह परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रक, सम्बन्धिक प्राज्ञिक परिषद सदस्य, प्राज्ञिक परिषद सदस्य सचिवको हकमा समितिले ‘कार्यकारी परिषदले आवश्यक कारबाही गर्न सक्नेछ’ भनेर कारबाहीको कुनै ठोस सुझाव दिएको छैन ।
केयुका प्रोफेसरहरु भन्छन् निजी युलियन्समा कक्षा लिन पठाउने यो कस्तो बिडम्बना !
काठमाडौं विश्वविद्यालयले एम टेक एआई, एमटेक आइटी र एमई कम्प्युटर इन्जिनियरिङको कार्यक्रम अहिले आफ्नै भौतिक पूर्वाधार हुँदा पनि पठनपाठनको केन्द्र चाहिँ युलियन्स फाउन्डेसनको परिसरलाई बनाएको छ ।
ललितपुरमा रहेको स्कुल अफ म्यानेजमेन्टको यो भवनका सबैजसो कोठा दिउँसो पाँच बजेपछि खाली हुन्छन् । अनि यी विषयहरु पाँच बजेपछि नै सञ्चालन हुने गर्छन् । दुई वटा कोठा पनि काठमाडौं विश्वविद्यालयसँग नरहेको झै गरी भोला थापाले आफ्नो कार्यक्रम युलियन्सलाई जिम्मा लगाएका छन् । अनि विश्वविद्यालयका लेक्चरर–प्राध्यापकहरुले केयुको परिचयपत्र भिरेर शिक्षाका व्यापारीहरुले चलाएको केन्द्रमा गएर पढाउनु पर्छ ।
यस्तो अवस्था देखेपछि सबै संकायका पदाधिकारीहरुले यो घटनालाई दुर्भाग्यको रुपमा चित्रण गर्दै आएका छन् । हात्तीवनमा रहेको स्कुल अफ आर्टसको यो अर्को भवन पनि हेर्नुहोस् । यो भवनमा पनि युलियन्सको जिम्मा लगाइएको कार्यक्रम सञ्चालन गर्न सकिन्थ्यो ।
युलियन्स फाउन्डेस नेपाली कांग्रेस निकट व्यक्तिहरुले चलाएको र कांग्रेस खुसी पार्न भोला थापाले आफ्नो विश्वविद्यालयको कार्यक्रम युलियन्समा लगेर आफ्ना प्रोफेसरहरुलाई ‘ह्युमिलियट’ गरेको भनेर केयुमा चर्चा हुने गर्छ ।