
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ । कास्की, रुपन्देही र काठमाडौंमा मुद्दा दर्ता भई धरौटीमा छाडिएका लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको हो ।
यो मुद्दामा लामिछाने पत्नी निकिता समेत मुछिएकी छन् । सरकारी वकिलले पत्नी निकिताको नाममा चेक काटेको प्रमाणसहित मुद्दा अभियोजन गरेको छ । रविलाई थुनामै राख्नुपर्ने मागसहित ७ वर्ष कैद र जरिवानाको पनि माग गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध मंगलबार चितवन जिल्ला अदालतमा सहकारी ठगी मुद्दा दर्ता भएको छ । चितवनको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलन मुद्दामा रास्वपा सभापति लामिछानेसहित ३२ जनालाई प्रतिवादी बनाएर पुरक अभियोजन दर्ता भएको हो ।
यसअघि कास्की, रुपन्देही र काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भई रवि तीन वटै जिल्लामा धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् । यी तीन वटै जिल्लामा रविविरुद्ध ठगी तथा संगठित अपराधमा मुद्दा दर्ता भएका छन् ।
चितवन जिल्ला अदालतमा भने रविविरुद्ध सहकारी रकम ठगी कसुरमा मात्रै मुद्दा दर्ता गरिएको छ । अन्य जिल्लामा रवि आफैले सहकारीको रकम तत्कालिन अवस्थामा उनी संलग्न गोरखा मिडिया नेटवर्कमा लगेको भेटिए पनि चितवनमा भने आफैले ऋण लगेको नदेखिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । प्रतिवादी लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको ठहर गरी दफा २४९ को उपदफा ३ (ग) बमोजिम सजाय हुन अभियोगपत्रमा मागदाबी गरिएको छ ।
सरकारी वकिलले रविसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगी कसुरमा मुद्दा दायर गरेको छ । रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीबाट आएको रकम हिनामिनामा संलग्न रहेको अभियोग छ ।
छविलाल जोशीसहित अन्य १२ जनाविरुद्ध भने ठगी तथा संगठित अपराध कसुरको मुद्दा दायर भएको छ । छविलालसहित गितेन्द्रबाबु (जीवी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, दिपक लामा र नेत्रप्रसाद बाँस्तोलाविरुद्ध ठगी तथा संगठित अपराध कसुरमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ ।
सहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ । अभियोगपत्रमा उक्त सहकारीको ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ ४७ पैसा ठगी भएको निष्कर्ष निकालिएको छ ।
अभियोगपत्रमा जीबी राईबाट ४१ लाख ३० हजार, असरफ अलि सिद्धिकीबाट ३ करोड २० लाख र महेन्द्र भोटे भन्ने शिव बहादुर गुरुङले २ करोड ६४ लाख सहकारीलाई व्यक्तिगतरुपमा भर्नुपर्ने मागदाबी पनि गरिएको छ । रास्वपा सभापति लामिछाने यसअघि कास्कीबाट ६५ लाख, काठमाडौंबाट ६० लाख र रुपन्देही जिल्ला अदालतबाट १ करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा छाडिएको थियो ।
थुनछेक बहसका क्रममा कास्की अदालतबाट धरौटीमा रिहा हुने क्रममा न्याय नमरेको प्रतिक्रिया दिएका लामिछानेलाई अन्य सबै जिल्लाबाट क्रमशः धरौटी माग गरेपछि उनी धरौटीमा छाड्ने कास्की अदालतको आदेश विरुद्ध एक साताअघि मात्रै उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।