
काठमाडौं । सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकोअर्जुन दृष्टि पुनः सत्तामै छ । तर, सत्ता प्राप्तिसम्मको समयलाई कसरी सदुपयोग गर्ने ?
कसरी जनतामा वाहा माओवादी, वाहा प्रचण्ड भन्ने वातावरण बनाउने ? यसका लागि उनी अनेक तिगडमबाजी गरिनै रहेका छन् । विस्तृत शान्ति सम्झौता लगत्तै सदन र सत्तामा शक्तिशाली माओवादीलाई जनताले लामो समय विश्वास समेत गरे । तर, अहिले संसदमा ३२ सिटे बन्नु परेको छ । हाल बेहाल जस्तो बनेको माओवादीले जनता फकाउनकै लागि अनेक तिगडमबाजी गर्नुपर्ने अवस्था कसरी आइलाग्यो त ? जनताका मुद्दामा कहाँ–कहाँ चुक्यो माओवादी ? के अब माओवादीले आफ्नो मति सुधार गर्ने छाँटकाँट देखिन्छ त ?
नेकपा माओवादी अनि प्रचण्ड, यो नाम नेपाली राजनीतिक इतिहासमा कुनै समय खुब कहलिएको थियो । अर्थात, नेपालको शासन व्यवस्थालाई यहाँसम्म पु¥याउने महत्वपूर्ण शक्तिमध्येको एक थियो, माओवादी ।
अहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका यि व्यक्तिको राजनीतिक विचारधारा नै अघि सारिएको थियो, प्रचण्ड पथ नाम दिएर । अर्थात, कम्युनिस्ट विचारकमध्येमा प्रचण्डको विचारलाई विश्वस्तरमा फैलाउनेसम्मका कार्य गर्न सकिन्थ्यो ।
तर, माओवादी र प्रचण्डको राजनीतिक छवि जनतामा धेरै समय प्रिय बन्न सकेन । समाजवाद हुँदै साम्यवादका गफ हाक्ने प्रचण्ड व्यवहारमा अहिले खुङ्खार पूँजीवादीलाई मात दिने प्रकारका छन् । संसदीय राजनीतिमा त उनी आफुलाई जादुको छडी भन्ने गर्दछन् ।
सशस्त्र द्वन्द्वको त्यो समय र प्रचण्डको सुप्रिमो छवि
१० वर्षे सशस्त्र द्घन्द्घ र ०६२\६३को जनआन्दोलन सफलता पुर्वक सम्पन्न गर्ने नायकी भूमिका खेलेका प्रचण्डलाई धेरैले आदर्श पात्रका रुपमा लिन्थे ।
युद्ध र जनआवाजको बलमा माओवादीले ०६४ को पहिलो संविधानसभा चुनावमा झण्डै दुई तिहाई हाराहारी जनमत पाउँदै पहिलो दल पनी बन्यो अनि एकल सरकारको नेतृत्व गर्न सफल समेत भयो ।
२०६५ साल जेठ १५ मा गणतन्त्र स्थापना भएपछि अध्यक्ष प्रचण्डको राजनीतिक कद अझ ठुलो बनेको थियो ।
सत्ताका बादशाह बन्ने होडले शक्तिहीन अवस्था
२०६५ पछिमाओवादीमा उच्च विचलन देखियो । टुटफुट र छिन्नभिन्नताले २०७९ को चुनावी नतिजाले संसदको तेस्रो शक्तिमा खुम्चिनु परिरहेको छ । ०६४ मा अभुतपुर्व जनमत पाएको माओवादीले ०७९ को आमचनावमा ३२ सिटमा चित्त बुझाउन परेको छ ।
जनता फकाउने तिकडम बाजीमा प्रचण्ड
माओवादीको आरोलो यात्रा निरन्तर जारी रहेपनि धेरै समय प्रचण्ड सत्ता चास्नीमै माधक बनिरहे । तर, उनको तिगडमबाजीले सत्ता कब्जामा जादु नचलेपछि उनी अहिले जनतासँगै छु भनेर देशदौडाह गरिरहेका छन् । प्रचण्डले जनता सम्झिनुमा कांग्रेस–एमालेको मिलन नै हो ।
एक दशक यता, काग्रेस र एमालेलाई ढोक्सामा पार्दै अध्यक्ष प्रचण्ड पटकपटक प्रधानमन्त्री समेत बने । ०७९ को आमचुनावको परिणाम पश्चात् एमाले सहितको गठबन्धनमा प्रधानमन्त्री बनेका प्रचण्डले कांग्रेससंग सत्ता सहकार्य गरे । फेरी एमालेसंग सरकारको गठजोड गर्न पुगेका प्रचण्डलाई गत बर्ष असारमा कांग्रेस–एमाले मिलेर किनारमा पुर्याए ।
त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले जनता सम्झिएका हुन् । कमजोर जनमतले पटकपटक काग्रेस–एमालेलाई ढोक्सामा पार्न सफल भएपनि दिगो नहुँने भान गरेका प्रचण्डले त्यसयता जनताको घरघरमा पुगेर पार्टी हाकिरहेका छन् ।
केहिसमय अघि तराई–मधेस जागरण अभियान मार्फत दर्जन बढि जिल्ला अभियानका साथ पुगेको प्रचण्ड मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियानमा होमिने सुरसार गरिरहेका छन् ।
सत्ताराजनीतिमा कमजोर जनमतको भान गरेका प्रचण्डले २०८४ को आमचुनामा बहुमत सहित मुलुकको बागडोर सम्हाल्ने दाबी गरिरहेका छन् ।
जातीय र पहिचानको मुद्दा नै प्रचण्डको अस्त्र
गरिब, दुखि, उत्पीडन र निमुखाका लागि अग्र मोर्चामा रहेर लडेको र हक अधिकार स्थापीत गर्न सफल भएको दाबी गर्दै आएका प्रचण्डले पछिल्लो सयम जातीय र पहिचानको मुद्धा जोडतोडले उठाइरहेका छन् ।
मुलुकमा यतिबेला जातीयता र पहिचानको विषयमा विरोध र आन्दोलन भइरहेका छन् । कोशी प्रदेशको नामकरणको विषयमा पहिचान पक्षधर आन्दोलनमा छन् । विभिन्न दलित र अल्पसंख्यक समुदायका प्रतिनिधि जातीय भेदभाव अत्यको उदेश्य सहित सडक आन्दोलनमा छन् ।
यस्तो अवस्थामा माओवादी अध्यक्ष प्रचण्ड पहिचानको पक्षमा खुलेरै समर्थन गरिरहेका छन् । कोशी प्रदेशका विभिन्न जिल्लामा अभियान लिएर पुगेका प्रच्चण्डले पहिचानको आधारमा नामकरण गर्न लागि पर्ने जनतालाई आश्वासन दिएका छन् ।
यस्तै, सत्ताधारी दलका नेताहरुले प्रचण्डलाई सत्तामा हुँदा माखो नर्माने तर जनताको सेन्टिमेन्टमा खेल्न अनेक तानबुना बुन्ने गरेको आरोप लगाउने गरेका छन् ।
प्रचण्डको मनिङ वाक, भक्का र सादगी बन्ने प्रयास
माओवादी अध्यक्ष प्रचण्डले यतिबेला जनमत बुटल्न अनेकन जुक्ति लगाइरहेका छन् । पार्टी अभियान लिएर जनतचको विचमा पुगेका प्रचण्डको मर्निङ वाक गर्ने, सडक छेउमा बसेर भक्का खाने र मकै खाने देखि गाउँले परिवेसको जिवन यापनमा समेत उत्तिकै ध्यान दिएका छन् ।
साथै विभिन्न जातजाती र पहिचानका नागरिको घरमा बसी स्थानीय परिकारको आहार समेत प्रच्चडले गरे । कैलालीको थारु बस्तीमा प्रचण्डलेमुसा, गँगटाको चटनीदेखि घोँघीसम्म भोजन गरेका थिए ।
प्रचण्डले यीनै क्रियाकलापलाई सामाजिक संजाल मार्फत सार्वजनिक समेत गर्ने गरेका छन् । यसले जनतासंगको दुरी घट्ने र जनतासंगै छु भन्ने सन्देश प्रचण्डले दिन खोजेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड पटकपटक गरी तीन पटक प्रधानमन्त्री बनेपनि जनताले सम्झिनेगरी काम गर्न सकेनन् ।
पछिल्लो कार्यकालमा प्रधानमन्त्री बन्दा भ्रष्ट्राचारका फाइल खोल्नु बाहेक प्रचण्डले प्रभाव छोड्ने कार्यसम्पादन गरको देखिदैन् । यस्तो अवस्थामा प्रचण्डको मिसन ०८४ ले कत्तिको सार्थकता पाउँछ त्यो भने हेर्न बाँकी छ ।