
काठमाडौँ । बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजमा दुई दिने विज्ञान प्रदर्शनी सुरु भएको छ। ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेजमेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रम बिहीबार कलेज परिसरमा आयोजित समारोहमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नुभयो।
विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनोपयोगी तथा अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो। कलेजले आयोजना गर्दै आएको विज्ञान प्रदर्शनीको यो १३ औं संस्करण हो। कलेज स्थापना भएदेखि नै हरेक वर्ष आयोजना हुँदै आएको प्रदर्शनी कोभिड महामारीका कारण दुई वर्ष सञ्चालन गर्न सकिएको थिएन।
प्रदर्शनीको उद्घाटन गर्दै उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले विद्यार्थीहरूमा विज्ञान तथा प्रविधिको महत्व जगाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो। राज्यले विज्ञान तथा प्रविधिको क्षेत्रमा पर्याप्त लगानी गर्न नसकेको वर्तमान अवस्थामा शैक्षिक संस्थाहरूले यस्ता प्रदर्शनी आयोजना गरेर सरकारलाई टेवा पुर्याएको उहाँले उल्लेख गर्नुभयो।
विद्यार्थीहरूले सैद्धान्तिक रूपमा सिकेको ज्ञान तथा सीपलाई व्यवहारिक रूपमा प्रयोगमा ल्याउन यस्ता प्रदर्शनीले ठूलो योगदान पुर्याउने भन्दै मन्त्री सिंहले भन्नुभयो, ‘नेपालजस्तो मुलुकमा विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउन यस्ता कार्यक्रमले सरोकारवालाहरूलाई प्रेरित गर्नेछ।’
विज्ञान र प्रविधिको विकास विना देशको समग्र प्रगति सम्भव नहुने हुँदा सरकारले अब शैक्षिक नीति निर्माण गर्दा विज्ञान तथा प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले साउथवेस्टर्न स्टेट कलेज टोखा नगरपालिकाको गौरव र अग्रणी शैक्षिक संस्था भएको बताउनुभयो। नीजि शैक्षिक संस्थाले आर्थिक रूपमा कमजोर तथा मेधावी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुपर्ने विषयमा बोल्दै नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘साउथवेस्टर्न स्टेट कलेज तथा स्कुलले आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई पूर्ण रूपमा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। साउथवेस्टर्न कहिल्यै पनि ‘नाइँ’ भन्ने संस्थान होइन, जसका कारण यो कलेज धन्यवादको पात्र बनेको छ।’
कार्यक्रममा कलेजका अध्यक्ष इन्जिनियर वासुदेव विष्टले विज्ञान तथा प्रविधिको विकास विना कुनै पनि नवीन आविष्कार सम्भव नहुने बताउँदै, ‘साउथवेस्टर्न कलेजले स्थापना कालदेखि नै विज्ञान तथा प्रविधिलाई विशेष प्राथमिकता दिँदै आएको छ,’ भन्नुभयो।
कलेजका अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक सरिता शाक्य प्रधानका अनुसार प्रदर्शनीसँगै निःशुल्क दन्त तथा अन्य स्वास्थ्य परीक्षण, रक्तदान, सौर्य ऊर्जा अवलोकन, सांगीतिक कार्यक्रमलगायतका प्रस्तुतीहरू हुनेछन्। प्रदर्शनीले विज्ञान तथा प्रविधिको क्षेत्रमा लाग्न युवा प्रतिभाहरूलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।
प्रदर्शनीमा निजी तथा सामुदायिक विद्यालय र कलेजका विद्यार्थीहरूको तर्फबाट ६० भन्दा बढी स्टलहरू राखिएका छन्। सहभागी विद्यार्थीहरूलाई विभिन्न चरणका प्रतियोगितामा समावेश गराएर नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ। शुक्रबारसम्म चल्ने प्रदर्शनीमा २५ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
सन् २०१० (वि.सं. २०६७) मा स्थापना भएको साउथवेस्टर्न स्टेट कलेज हाल साउथवेस्टर्न समूहअन्तर्गत सञ्चालित छ। यस समूहअन्तर्गत साउथवेस्टर्न स्टेट कलेज, साउथवेस्टर्न स्कुल, साउथवेस्टर्न सेकेण्डरी स्कुल, साउथवेस्टर्न सेन्टर फर रिसर्च एण्ड पीएचडी स्टडिज, साउथवेस्टर्न बिजनेस कलेज, साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टरलगायतका संस्थाहरू सञ्चालनमा रहेका छन्।