
काठमाडौं । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा संचालित १० वर्षे सशस्त्र युद्धकै जगबाट नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको मानिँदै आएको छ । माओवादीको उक्त युद्ध २०६३ मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौतामार्फत शान्तिमा परिणत भएको थियो ।
तरपनि माओवादीले उक्त सशस्त्र युद्धलार्ई जनयुद्धको रुपमा परिभाषित गर्दै आएको छ । तर यही जनयुद्धको सवालमा शीर्ष राजनीतिक दलहरुबीच नै तर्क वितर्कहरु भने अझै हुने गरेका छन् । जनयुद्धको व्याख्याका सवालमा बेलाबखत दलका नेताहरुबीच संसद र सडकमै विवाद हुने गरेका छन् । यअसघि भदौमा बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी आन्दोलनलाई हिंसाको रुपमा परिभाषित गरेका थिए, भने उनले माओवादी आन्दोलनकै कारण देश विकासमा धेरै पछाडि धकेलिएको आरोप लगाएका थिए ।
डेडिकेटेड र ट्रंक लाईनको बक्यौता मिलानका सम्बन्धमा सृजित विवादको सवालमा बोल्नेक्रममा माओवादी आन्दोलनकै कारण विद्युत क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको भाव प्रकट गर्दै सांसद भट्टराइले युद्धलाई नै हिंसा भनेपछि संसदमै हंगामा मच्चिएको थियो । यसको विपक्षमा रहेर माओवादी सांसदहरुले समेत योगेशको अभिव्यत्तिलाई आपत्ति जनाएका थिए ।
माओवादी युद्धको सवालमा हुने तर्कवितर्कहरु अझै सतहमै देखिएका छन् । केहीदिन अघि माओवादी युद्धमै सामेल भएका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले जनयुद्धलाई हिंसा भनेको भनेका थिए । हिंसा नै युद्ध भएको र युद्ध वर्ग संघर्षको रुप हो भनेका बादलले केपी ओलीले भन्ने गरेको हिंसामा आफ्नो कुनै आपत्ति नभएकोसमेत सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनको यो अभिव्यक्तिसमेत चर्चाको विषय बनिरहेको छ ।
यही अवस्थामै प्रधानमन्त्री केपी ओलीले प्रजातन्त्र दिवसलाई जनताको दिवसका रुपमा मनाउनुपर्ने भन्दै माओवादी युद्धलाई भने हिंसाकै रुपमा परिभाषित गरेका छन् ।
यसपछि आइतबारको प्रतिनिधिसभा बैठकमा पनि प्रचण्डले अध्यादेशको विषयमा दिएको टिप्पणीलाई जवाफ पर्काउँदे एमाले सांसदले माओवादी युद्धका कारण देशको प्रगति ५० वर्ष पछि धकेलिएको आरोप लगाए । मुलुकले अहिले सामना गरिरहेको गरिबी तथा पछौटेपनालाई समेत उनले माओवादी युद्धसँगै जोडेर टिप्पणी गरेका छन् ।
माओवादीले १० वर्षसम्म लडेको युद्ध जनयुद्ध वा हिंसा ? यो विषयको बहस अहिले गम्भीर रुपमै चलिरहेको देखिन्छ । संविधानले यसलाई सशस्त्र संघर्ष भनेको भएपनि दलहरुबीच भने विवाद कायमै देखिन्छ ।
यस्तो अवस्थामा माओवादीले भने उक्त आन्दोलनलाई जनयुद्धकै रुपमा परिभाषित गरिनुपर्ने अडान लिँदै आएको छ । एमालेबाट जनयुद्धबारे आएका धाराणालाई माओवादीले भने शहिदहरुको अपमान गरिएको रुपमा व्याख्या गर्दै १० वर्षे युद्धलाई जनयुद्धकै रुपमा लिइनुपर्ने घुमाउरो जवाफ दिइरहेको छ ।
माओवादीको आन्दोलनमा ठूलै मात्रामा जनधनको क्षति भएको भयो । यद्यपि यसले एकात्मक व्यवस्थाको अन्त्य गरी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापित गराउन सघाउ पुग्यो । तर उक्त आन्दलोलनलाई जनयुद्धको रुपमा परिभाषित गर्ने वा हिंसाकै ट्याग दिने भन्ने विषयमा प्रमुख दलहरुबीच नै मतभेद देखिन्छ ।
माओवादी युद्धले गणतन्त्रात्मक व्यवस्थाको कल्पना गरेर यो व्यवस्थालाई स्थापित गराउन सफल भएपनि नागरिकको अवस्थामा खास परिवर्तन नभएपछि यो आन्दोलनको औचित्य के ? भन्ने प्रश्न समेत खडा भइरहेका छन् ।
उता एमाले नेताहरुले जनयुद्ध हिंसा हो भन्दै व्याख्या गरिरहँदा माओवादीले बारम्बार उक्त युद्धलाई जनयुद्ध नै हो भन्दै प्रष्टिकरण दिनुपरिरहेको हो । यता युद्धपछि भएको विस्तृत शान्ति सम्झौताका बाँकी कामले पूर्णता नपाउनुको कारणले पनि पछिल्लो समय माओवादीलाई आफ्नै नेतृत्वमा भएको १० वर्षे युद्ध भारी पर्दै गएको देखिन्छ ।