News 24 Television
आगलागीपछिका दर्दनाक दृष्य ! दमकलको विकल्प खोजी 

काठमाडौं । काठमाडौंको मखन गल्ली बुधबार विहान भीषण आगलागीको चपेटामा प¥यो । खाना पकाउने ग्यास लिक भएर फैलिएको आगोले आगलागीमा ८० वर्षीया विष्णु अधिकारी जलेर मृत्यु भएको पुष्टि भएको छ । 

स्थानीयको सहयोग र ६ वटा दमकलसहित सुरक्षाकर्मीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो । यो घटनाले काठमाडौंका साँघुर गल्लीमा दमकलको विकल्प खोज्न पनि सचेत गराएको छ । 

उनी हुन् कालिकोटका रन्दराज बम  । आशावादी पिता, जिम्मेवार श्रीमान्, र संघर्षशील व्यापारी । डेढ वर्षअघि जीवनमा केही राम्रो गर्ने सपना बोकेर उनी काठमाडौं आए, साथमा श्रीमती र दुई नाबालक सन्तान पनि थिए । 

काठमाडौं महानगरपालिका–२४, मखन टोलमा रहेको दयाराम श्रेष्ठको घरमा सानो कपडाको गोदाम खोले । यहीबाट उनले आफ्नो जिन्दगीको नयाँ अध्याय सुरू गरेका थिए । 

दिनभर शहरका गल्लीहरूमा घुम्दै कपडा बेच्थे । सधै झै बुधवार बिहान पनि उनी आफ्नै गोदाममा थिए । माथिल्लो तलाबाट केही आवाज आयो । 

उनले सोचे सामान्य झगडा होला । तर, केही क्षणमै उनले महसुस गरे कि त्यो त झगडा होइन बिनाशको संकेत थियो । जब उनी बाहिर निस्किए दोस्रो तलाबाट सुरु भएको आगोको लप्का तेस्रो, चौथो तलासम्म फैलिइसकेको थियो । 

ग्यासका सिलिण्डरहरू एकपछि अर्को पड्किन थाले । हावामा डर र धुवाँ मिसिएको थियो । रन्दराज भागेर ज्यान त जोगाउन सफल भए तर जीवन धान्ने आधार उनको सानो गोदाम, उसका कपडा, अनि त्यसमा गाँसेका सपना सबै आगोमै भष्म भए । 

बिहानको साढे ६ बजेको थियो जब माटो र काठले बनेको पुरानो घर अचानक हल्लिन थाल्यो । सप्तरीका सुमित प्रसाद देव र शिवनारायण मण्डललाई भूकम्प हो कि भन्ने लाग्यो । 

फुटपाथमा व्यापार गरेर पेट पाल्दै आएका ती दुई त्यो घरको चौथो तलामा डेरा लिएर बसेका थिए । आगालागी भएको थाहा पाउँने बित्तिकै उनीहरूले सिधै झ्यालबाट हाम फाले । ज्यान त जोगियो तर मोबाइल फोन, पैसा, लत्ताकपडा, कागजातहरू सबै खरानी बने । 

अझ दर्दनाक त सोही घरमा बस्ने ८० वर्षीया विष्णु अधिकारीको ज्यानै गयो । त्यो देखेर उनीहरू अझै पनि स्तब्ध र त्रसित छन् । 

उनीहरूसँग अब न ओछ्यान छ, न छानो छ, न त भोलिको कुनै सुनिश्चितता । उनीहरूको नजर सरकारतर्फ आशाले टक्टक्याइरहेको छ गास, बास र कपासको टेको मिल्ला कि भनेर । 

यता, दयाराम श्रेष्ठको घरसँगै रहेको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत आगो सल्किएको थियो । क्षति कति भयो भन्ने यकिंन भने भैसकेको छैन । 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update