News 24 Television
मधेशको गुनासोः अध्यक्ष जी हाम्रो चोकमा चोरी बढ्यो  

काठमाडौं । विकास निर्माणको विषय होस् वा शिक्षा रोजगारीको स्थिति, मधेसमा चरम विभेद र सामाजिक परिवन्धका पर्खालहरु छरपष्ट छन् । तराई मधेशबाट जनताको भोट लिएर निर्वाचित हुनेहरुले बाँचा पुरा गर्दैनन् । तर, जनताहरु भने अहिले पनि सामाजिक न्यायसहितको समाज निर्माणको अपेक्षासहित नेताहरुमाथि प्रश्न गरिरहेका छन् । 

माओवादी केन्द्रले तराई मधेस जागरण अभियान चलाइरहेको छ । झापाबाट शुरु भएको जागरण अभियान सप्तरी पुगेको छ । तर, नागरिकका गुनासा रोचक मात्रै छैनन्, भोट लिनेहरुले विश्वास गुमाउदै गरेका छन भन्ने प्रष्ट देखिन्छ । 

नागरिकमा देखिएका यस्ता गुनासा असरल्ल छन् । मधेशका मतदातको मत संकलन गर्ने नेताहरु अनेक छन् अनि नागरिकका दुख पनि अनेक छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सप्तरीमा नागरिकका कुरा सुनिरहेका देखिन्छन् । स्थानीयले भनिरहेका छन्, अध्यक्ष जी, हाम्रो चोकमा चोरी असाध्यै हुन्छ । प्रहरी समयमै पुग्दैन् । यसको समाधान गरिदिनु प¥यो । 

प्रश्नहरुको ओइरो नै लाग्छ । प्लस टु पढ्ने विद्यार्थीले जिल्लामै शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गरिदिन माग गर्छन् । हनुमाननगर कंकालिनी नगरपालिका ७ का वडाध्यक्ष राजेश्वर ठाकुरले पनि प्रश्न गर्छन् । अस्पताल चाहियो भन्छन, उसोतः उनी माओवादी केन्द्रबाटै निर्वाचित भएका वडाध्यक्ष हुन् । 

प्रचण्ड विहान चिया पिउदै प्रश्न सुन्छन्, जवाफ दिन्छन् ।  प्रहरीलाई सुरक्षा व्यवस्था मिलाउन भन्छन् । प्रचण्डले यतिमात्रै भन्दैनन्, उनले परिवर्तनको प्रमुख हिस्सेदार माओवादी कमजोर बनेको स्वीकार गर्छन् । माओवादीलाई विश्वास गर्न र बलियो बनाउन भन्छन् । मधेसवादी दलहरुमाथि टिप्पणी गर्छन् । 

यसरी सवाल–जवाफ चलेपनि यसले के संकेत गरिरहेको छ ? भन्ने मुख्य प्रश्न हो । आम नागरिकमा राज्यप्रति ठूलो गुनासो देखिन्छ । राज्यले नागरिकका सामान्य समस्या समाधान गर्न नसकेको पुष्टी हुने प्रशस्त आधारहरु छरपष्ट छन् । तर, पनि नेताहरुले आफ्नै दाबी भने गर्न छाडेका छैनन् ।

के भन्छन् मधेसका सर्वसाधारण ?

राजनीतिक दलहरुले धेरै पटकका निर्वाचनमा निर्वाचित भएर राजकीय स्वाद चाखिसकेका छन् । मधेसबाट धेरै नेताहरुले मन्त्री बन्ने मौका पाए भने आन्दोलन र सत्तामार्फत् मधेशका नागरिकका लागि धेरै गरेको दाबी मधेशका नेताहरु गर्छन् । तर, नागरिक सामान्य चोरीका घटनाबाट प्रताडीत छन् । 

सामाजिक विभेदको दलदलबाट मधेशका नागरिक उम्किनै सकेका छैनन् । बलात्कृत युवती र तीनका परिवारलाई न्यायबाट बञ्चित गराउनेदेखि अनेक किशिमका तिकडम देशका अन्य भूभागभन्दा मधेशमा बढि नै छ । नागरिकका सपना ठूला छैनन् ।

शिक्षा, स्वास्थ्य र दैनिकी फेरिनुपर्नेमा उनीहरु जोड दिन्छन् । तर यसैमा मधेशको भोट बटुलेर आएकाहरु चुकिरहेका छन् । यस्तोमा मधेसका केहि जिल्लाका प्रतिनिधि आवाजहरु कस्ता छन् त ? 

मधेसमा व्याप्त अशिक्षा, बेरोजगारी, पछौटेपना र चेतनास्तरको लाभ उठाउने राजनीतिक दलहरु किन जनताप्रति संवेदनशील बन्दैनन ? माओवादि केन्द्रको जागरण अभियानमा जस्तै सबै राजनीतिक दलका नेताहरु पुग्दा आउने गुनासा प्राय यस्तै हुने गरेका छन् । तर, समाधानको पहल प्रयास भने कसले गर्ने ? जवाफ अनुत्तरित नै देखिन्छन् ।

नागरिकका सामान्य समस्या समाधान नै हुन सकेन्

राज्यले नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा यस्तो गर्न सक्दैन् । स्थानीय सरकारले नै गर्न सक्ने कामहरु पनि हुन सक्दैनन् । दलीय दृष्टीकोणको आधारमा भागबण्डा चल्छ । सामान्य नागरिक भने साना प्रश्न र गुनासा बोकेर बसेका छन् । 

मधेसमा चल्ने चरम जातिय विभेद, अन्तरजातिय विवाहमा देखिने समस्या, लुटपाट लगायतका अपराध कर्मले नै समस्या बल्झाइरहेको देखिन्छ । भ्रष्टाचार र अनियमिता अरु प्रदेशमा भन्दा मधेशमा चर्को छ । 

सामान्य समस्याको समाधानमा राज्यले पहल नगर्दा नेताहरु पुग्दा जनताले भीड लागेर समस्या सुनाउनुलाई शक्ति बढेको भन्ने वा विश्वास जित्न जनताका काममा सक्रिय बन्ने ? राजनीतिक दलमाथिको ठूलो प्रश्न यो बन्न पुगेको छ । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update