
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले धर्मरहित राजनीति गर्नेहरुका कारण मुलुकले आफ्नो धार्मिक तथा सांस्कृतिक पहिचान गुमाएको टिप्पणी गरेका छन् ।
कास्कीको पोखरामा जारी कोटिहोम महायज्ञलाई सोमवार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले धर्म निरपेक्षताको नाममा राजनीति गर्नेहरूले आम नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर पैसा कमाउने काम गरिरहेको टिप्पणी गरे ।
अब पूजापाठ गरेर मात्र धर्मको रक्षा नहुने बताउँदै अध्यक्ष लिङदेनले धर्मप्रतिको व्यवहारिक कर्तव्य निभाउनुपर्नेमा जोड दिए । उनले बद्नाम नेताहरुसँगै राजनीति गरिरहेको भए पनि राजनीतिक जीवनमा एक रुपैयाँ पनि अनियमित ढंगले नकमाएको दाबी गरे ।
लिङदेनले भने, ‘तपाईंहरुले याद गर्नुभएको छ कि छैन । धर्म निरपेक्षको राजनीति गर्नेहरु, धर्मरहित राजनीति गर्नेहरुले के गरिराखेका छन् । धर्मरहित राजनीति गर्नेहरुलाई आफ्नो जनतालाई नक्कली भुटानी शरणार्थी बनाएर पैसा कमाउने बुद्धि आउँदो रहेछ । हामी धर्मसहितको राजनीति गर्छौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो भनेर भन्छौँ । अहिले म पनि बदनाम नेताहरुको बीचमै छु । तर भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो मात्रै भन्दिन, यति लामो राजनीतिमा एक रुपैयाँ पनि खाएको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । त्यो निष्ठा बोकेको मान्छे अरु कसले के भन्छ म चिन्ता लिँदिन । हामीले कर्मकाण्ड गरेर, पूजा अनुष्ठान गरेर मात्र अब नपुग्ने भएको छ । आफ्नो धर्मकाप्रति हाम्रा कर्तव्य पनि छन् । हामीले हाम्रो पहिचान अकारण गुमाउनु पर्यो । गलत नेतृत्वको कारण गुमाउनुपर्यो । त्यसप्रति पनि हाम्रा कर्तव्य छन् भन्नेकुरा हामीले यस प्रकारका यज्ञमा आउँदा थाहा पाउनुपर्छ ।’
धर्म र संस्कृति रहेमात्र मुलुक रहने उल्लेख गर्दै अध्यक्ष लिङ्देनले धर्मको संरक्षण र प्रवर्धनका लागि लागि पर्न सबैमा आग्रह गरे ।