News 24 Television
घरभित्रै डर, असहिष्णु बन्दै समाज

काठमाडौं । घर, जहाँ मानिसले शान्ति र सुरक्षाको अनुभूति गर्छन् । त्यही घरभित्र जब डर, असहिष्णुता र हिंसाले ठाउँ लिन्छ तब समाज नै त्रासको छायाँमा बाँधिन्छ । हालैका घटनाहरू हेर्ने हो भने परिवारभित्रै हत्या, कुटपिट र आक्रमणका घटनाहरू बढ्दै गएका छन् । 

श्रीमान–श्रीमती, बुबा–छोरा, दाजुभाइ, प्रेमी–प्रेमिका जस्ता नजिकका सम्बन्धहरूमा विश्वास कमजोर हुँदै गएको छ । यसले समाजमा असुरक्षा र अविश्वासको वातावरण सिर्जना भइरहेको छ । आखिर किन आफ्नै नजिकका मान्छेहरू घातक शत्रु बन्दै गएका छन् ?

परिवार समाजको एउटा महत्वपूर्ण आधारशिला हो, जहाँ मन हलुका पार्न सकियोस्, माया साट्न सकियोस्, अनि सुरक्षाको अनुभूति होस् । तर कल्पना गरौँ, जब यही परिवार असुरक्षाको घेरामा बन्दी बन्छ । आफ्नै प्रियजनबाट ज्यान जाने डर हुन थाल्छ । 

कस्तो भयानक दृश्य सिर्जना हुन्छ होला ? सबैभन्दा ठूलो त्रास त तब लाग्छ जसले सुरक्षा दिनुपर्ने हो, ऊ नै खतरा बन्छ । केही समययता हामीले यस्ता हृदयविदारक घटनाहरू देखिरहेका छौँ । सानो झगडाले ज्यान लिने तहसम्म पु¥याएको छ । 

साना मनमुटावले हत्या–हिंसाको रूप लिँदैछन् अनि एकअर्काप्रति बढ्दो आक्रोशले समाज नै त्रसित देखिँदैछ । कहिले श्रीमानले श्रीमतीको हत्या गर्छन्, कहिले श्रीमतीकै हातबाट श्रीमान मारिन्छन् । साथीभाइबीचको सामान्य विवाद पनि ज्यानै लिने स्तरमा पुग्न थालेको छ ।
 
घटना– १

–    गत सोमबार मात्रै सिन्धुलीको दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गरेको आरोपमा उनका श्रीमान पक्राउ 

–    घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेको 

–    आपसी मनमुटावका कारण दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको

घटना– २

–    धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि शव फेला 

–    ३३ वर्षीय शहीद अन्सारीलाई उनकी प्रेमिका अनिता कुमारी यादव र उनका श्रीमान राजकिशोर यादवले मिलेर हत्या गरेको अनुसन्धानबाट खुलेको

–    कतारमा कार्यरत अन्सारी र अनिता दुई वर्षदेखि प्रेम सम्बन्धमा
घटना– ३
–    पाल्पामा कुटपिट गरी हत्या गरेको आरोपमा बुवा र दिदी पक्राउ 

–    बगनासपाली गाउँपालिका–२ पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको हत्या

–    घरासयी विवादमा भएको झगडाका क्रममा कुटपिट गरेको

‘घर’ जहाँ मान्छेले आफूलाई सबैभन्दा सुरक्षित महसुस गर्छ । ‘परिवार’ जो साथमा हुँदा जीवन सुरक्षित लाग्छ । तर, पछिल्ला केही वर्षमा यी विश्वासका दायराहरू चकनाचूर भइरहेका छन् । घरभित्रै हुने कलह, स्वार्थ र असमझदारीले अपराध जन्माइरहेको छ ।

कहिलेकाहीँ त ज्यानै लिने योजनासम्म पुग्ने गर्छ । सम्पत्तिको लोभ, आपसी द्वन्द्व र टुट्दै गएको पारिवारिक सम्बन्धले हिजोको माया गर्ने हात आज हत्यारो बन्न पुगेको छ । सञ्चारमाध्यममा बाबुले आफ्नै छोरालाई मारेको, श्रीमानले श्रीमतीको ज्यान लिएको, नातीले बाजेलाई हत्या गरेको जस्ता हृदयविदारक घटनाहरू दिनहुँ देख्न र सुन्न पाइन्छ । आखिर किन आफ्नै नजिकका सम्बन्धीहरू एकअर्काका वैरी बन्दै गएका छन् ? किन परिवारभित्रैको आक्रोश अपराधमा रूपान्तरित भइरहेको छ ? यस विषयमा गहिरो अध्ययन भने भएको छैन । तर, यस्ता घटनाहरूको वृद्धि भयावह संकेत हुन् ।

सामान्य विवादबाटै ज्यान जाने घटनाहरू बढ्दै जाँदा नागरिक असुरक्षित महसुस गर्न थालेका छन् । समाजमा भय र संत्रास फैलिनुका पछाडि कानुनी कमजोरी, राजनीतिक स्वच्छन्दता र दण्डहीनता प्रमुख कारण रहेको अनुसन्धानकर्ताहरू बताउँछन् । 

पूर्व डिआइजी हेमन्त मल्लका अनुसार दशक लामो सशस्त्र द्वन्द्वले समाजको संरचना मात्र होइन मानिसहरूको सोचाइ र मानसिकतामा समेत गहिरो परिवर्तन ल्याएको छ । 

द्वन्द्वकालमा राज्य र विद्रोही पक्षबाट भएका ज्यादती, विस्थापन, र हिंसाका घटनाहरूको असर अहिलेको पुस्तामा प्रत्यक्ष देखिन थालेको छ । त्यसले मानिसलाई असहनशील बनाएको छ । सानो झगडामा पनि सहनशीलताको सीमा टुट्छ अनि कुरा हत्या–हिंसासम्म पुग्छ । यो प्रवृत्ति घरभित्र मात्र सीमित छैन, समाजमा समेत व्यापक रूपमा फैलिएको छ । 

मल्लका अनुसार यी हुन् परिवारसँग जोडिएका अपराधका कारण :

–    गरिबी, बाध्यता, सहनशीलता, जागरूकताको कमी लगायत विभिन्न कारण

–    रोजगारी र अध्ययनका कारण एकल परिवारको संख्या बढ्नु, परिवारभित्रको
असन्तुष्टिबारे छलफल नहुनु

–    अभिभावकहरू बालबालिकाको गतिविधि र संगतबारे निगरानी राख्न असमर्थ हुनु
–    बालबालिकासम्बन्धी जानकारी गराउँदा पनि अभिभावकहरूलाई अरूले चासो राखेको मन नपर्नु

–    आफ्ना सन्तानलाई उचित निगरानी गर्न नसक्ने र अरूले देखेको कुरा जानकारी गराउँदा रिसाउने प्रवृत्ति बढ्नु

–    समयअनुसार अनुशासनका मान्यता परिवर्तन हुनु र अभिभावकले अनुशासन सिकाउने फुर्सद ननिकाल्नु

आपराधिक घटनामा वृद्धि हुँदा प्रहरीको भूमिका र शान्ति सुरक्षामाथि प्रश्न उठेको छ ।

अहंकारले पारिवारिक अनुशासनलाई कमजोर पार्दै सही निर्णय लिन नदिई मानिसलाई अपराधको अन्धकारतर्फ धकेल्ने काम गरिरहेको छ । स्वाभिमान अहंकारमा बदलिँदा पारिवारिक सम्बन्धहरूमा दरार उत्पन्न हुन थाल्छन् । 

अब हेरौं ७ विभिन्न आर्थिक वर्षको कर्तव्य मुद्धा तथ्यांक

aparadh-1741314358.JPG
नेपालमा पारिवारिक हिंसा सम्बन्धी घटनामा उतारचढाव देखिएको छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार पछिल्ला आर्थिक वर्षहरूमा श्रीमानले श्रीमतीमाथि गरेको हिंसाका घटना तुलनात्मक रूपमा उच्च देखिएको छ । 

यस्तै, श्रीमतीले श्रीमानमाथि गरेको हिंसाका घटनामा पनि उतारचढाव देखिन्छ । बुबा–आमाले छोराछोरीमाथि गरेको हिंसाका घटनाहरू २०७५\७६ देखि नै कम देखिए पनि बीचमा केही वृद्धि भएको देखिन्छ । २०७७\७८ मा १४ घटना रहेकोमा २०७९\८० मा १३ पुगेका थिए भने २०८१\८२ को माघसम्म ७ घटना दर्ता भएका छन् । त्यस्तै, छोराले आमाबुबामाथि गरेको हिंसा भने अन्य घटनाहरूको तुलनामा निरन्तर उच्च देखिन्छ । 

२०७५\७६ मा १५ घटना दर्ता भएकोमा २०७९\८० मा ३७ पुगेको देखिन्छ । २०८०\८१ मा भने केही घटेर २६ भए पनि २०८१\८२ को माघसम्म १४ घटना दर्ता भएका छन् । यस्ता घटनाहरू कम गर्नका लागि कानूनी कारबाहीसँगै सामाजिक चेतनाको आवश्यकता रहेको विज्ञहरू बताउँछन् । प्रहरीको तथ्याङ्कले परिवारभित्रको हिंसा अझै चुनौतीपूर्ण विषय रहेको देखाउँछ ।

hatya2-1741314446.JPG

परिवार भित्रको हिंसामध्ये वर्सेनि श्रीमानबाट श्रीमतिको हिंसा बढी देखिन्छ । नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो ७ आर्थिक वर्षमा १५ सय ७ जनाको हत्यामा आफन्त संलग्न रहेको पाइएको छ । 

सोसहित ३ हजार ९ सय ५७ जनाको हत्या भएको छ । पारिवारिक हत्याका घटनाहरू दिनप्रतिदिन बढ्दा सम्बन्धहरूमा अविश्वास पैदा हुनुका साथै सामाजिक चक्रलाई नै खल्बलाई दिएको छ । यसमा सर्वसाधारणको राय के छ त ? 


तनाव, अस्थिरता र सामाजिक टकराव

घरेलु हिंसा, पारिवारिक हत्या र आत्महत्याजस्ता घटनाहरू दिनप्रतिदिन समाचारका मुख्य शीर्षक बन्दा  समाजमा बढ्दै गएको हिंसात्मक प्रवृत्तिले गम्भीर चिन्ता निम्त्याएको छ । 

मनोविश्लेषकका अनुसार सामाजिक, मानसिक र व्यक्तिगत कारकहरूले यस्तो अपराधलाई मलजल गरिरहेका छन् । 

प्रतिस्पर्धात्मक जीवनशैली, आर्थिक अस्थिरता र असफलता स्वीकार्न नसक्ने मनोवृत्तिले मानिसहरूलाई मानसिक रूपमा कमजोर बनाइरहेको छ । 

तनाव व्यवस्थापन गर्न नसक्दा हिंसात्मक व्यवहार झन् चुलिँदै गएको छ । मनोविश्लेषकहरूको भनाइमा मानसिक तनाव तथा कुण्ठा व्यक्त गर्न नसक्दा पारिवारिक तथा व्यक्तिगत सम्बन्धहरू हिंसात्मक बन्न पुगेका छन् ।

हिंसा किन पुनरावृत्ति हुन्छ ?

–    बाल्यकालमा भोगिएका हिंसात्मक घटना वा दुव्र्यवहारले व्यक्तिको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्छ ।

–    यदि कोही सानैदेखि हिंसा झेल्दै वा देख्दै हुर्किन्छ भने भविष्यमा उसले त्यही व्यवहार दोहोर्याउने सम्भावना उच्च हुन्छ ।

–    समाजमा अझै पनि ‘पुरुषप्रधान सोच’ हावी हुनु, घरेलु हिंसालाई सामान्यीकरण गरिनु, र कानुनी कारबाहीको डर नहुनु अपराध वृद्धिका प्रमुख कारण हुन् ।

–    आर्थिक अस्थिरता, बेरोजगारी र पारिवारिक जिम्मेवारी पूरा गर्न नसक्दा उत्पन्न हुने निराशाले मानिसहरूलाई हिंसात्मक बनाउँछ ।

मनोविश्लेषकहरूका अनुसार पारिवारिक संचार सुधार्न, मानसिक स्वास्थ्यप्रति सचेत बन्न, आक्रोश व्यवस्थापन गर्न, र आवश्यक परामर्श लिन सकिएमा यस्तो अपराध नियन्त्रण गर्न सकिन्छ । 

सामाजिक सद्भाव, भावनात्मक समझदारी र मानसिक सन्तुलन कायम गर्न सकियो भने पारिवारिक हिंसा न्यूनीकरण गर्न सकिने उनीहरूको तर्क छ । 

क्रूर बन्दै समाज

हालै मात्र विभिन्न स्थानहरूमा आफन्तबीच भएको हत्या तथा हिंसाका घटनाहरूले समाजलाई झस्काइरहेको छ । सामाजिक विघटन, आर्थिक समस्या, मानसिक तनाव तथा वैदेशिक रोजगारीका कारण पारिवारिक सम्बन्ध कमजोर बन्दै गएका कारण परिवारभित्रै घातक घटना भइरहेको समाजका अगुवाहरूको बुझाई छ ।

समाजमा सहिष्णुता घट्दै गएको र मानिसहरू सानो विवादलाई पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्दा हत्या जस्ता जघन्य अपराधहरू बढिरहेका छन् । 

परिवारभित्रको असमझदारी, आर्थिक समस्या, अहंकार र सहनशीलताको अभावले पारिवारिक सम्बन्धलाई कमजोर बनाइरहेको छ । 

मनोविश्लेषकहरूका अनुसार यस्ता घटनाहरू न्यूनीकरण गर्नका लागि पारिवारिक संवाद सुधार्न, मानसिक स्वास्थ्यप्रति सचेत बन्न र सामाजिक सद्भावलाई पुनस्र्थापित गर्न आवश्यक छ । अन्यथा, परिवारभित्रको आक्रोश अपराधमा बदलिंदै जानेछ र समाज हिंसाको दुष्चक्रबाट कहिल्यै उम्कन सक्ने छैन ।

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update