
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सक्रियता र राजावादीहरूको चुरीफुरीप्रति प्रमुख दलका नेताहरुले टिप्पणी गर्ने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शासन गर्ने चाहना भए चुनाव लडेर सत्तामा आउन पूर्वराजालाई चुनौती दिएका छन् । ‘अलिकति टाउको निकाल्ला निकाल्ला जस्तो पनि गर्ने, अलि अप्ठेरो पर्यो भने लुसुक्क पछाडि तानेर कछुवाजसरी टाउको लुकाउने’ खेल खेल्नुभन्दा सिधै चुनाव लडेर आउन ओलीले चुनौती दिएका हुन् ।
बिहीवार एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताले फालेको राजतन्त्र पुनः फर्काउन भन्दै केहीले नाराबाजी गरिरहेको बताए । जन्मिँदै कोही कुर्सीमा बस्दा राजा हुने दिन गइसकेको र नेपालको संविधानले राजतन्त्र नचिन्ने उनले बताए । राजाको नाममा बेकारको तनाव बढाउने काम कसैले पनि नगर्न चेतावनी दिँदै ओलीले यदि आफूसँग लोकप्रियता छ भने चुनाव लडेर सत्तामा आउन पूर्वराजालाई आग्रह गरे । छायाँ अघि सारेर नभई आफैँ राजनीतिक दल खोलेर चुनाव लड्न र लोकतन्त्र स्वीकार गरेर आउन शाहलाई उनको आग्रह छ ।
यस्तै, सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले अरु देशमा भए पूर्वराजा जेलमा बस्नुपर्ने थियो, तर नेपालमा उदार लोकतन्त्र हुनाले उनले खुलेआम हिँड्न पाएको बताएका छन् । शुक्रबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा उनले नेपाल उदार लोकतन्त्र भएको मुलुक रहेको बताए । ‘अरूजस्तो मुलुकमा भएको भए नयाँ व्यवस्था आइसकेपछि राज परिवारका व्यक्तिहरू सबै जेलमा बस्नुपथ्र्यो, तिनका सम्पत्ति राज्यले हरण गर्नुपथ्र्याे’ –सुब्बाको भनाइ छ । नेपालमा भने उल्टै सुरक्षाको प्रबन्ध गरेर नागार्जुन दरबारमा राखेको बताउँदै आज पूर्वराजाले त्यस्तो प्रबन्ध गर्ने राजनीतिक दलहरूलाई नै कटाक्ष गर्नु र फेरि राजा बनेर फर्कने चाहना राख्नु ठीक नभएको बताए ।
यसअघि फागुन १३ गते एमाले सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा शाहले प्रजातन्त्रप्रति बिषवमन गरेको आरोप लगाएका थिए । पूर्वराजाले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले शहीदहरुको अपमान गरेको उनको आरोप छ । ज्ञानेन्द्रकै कारण राजतन्त्र ढलेको जिकिर गर्दै गैरेले मदन भण्डारीको डाइलग स्मरण गराए– ‘महाराज हात नलम्काई बक्सियोस्, आँखा नझिम्काई बक्सियोस् ।’
प्रजातन्त्र दिवस (फागुन ७)को पूर्वसन्ध्यामा पूर्वराजा शाहले एक भिडियो सन्देश जारी गर्दै आफूलाई जनताबाट साथ दिन अपिल गरेपछि राजनीतिक क्षेत्र तरंगित छ । आफूले गणतन्त्र ल्याउनका लागि त्याग गरेको स्मरण गर्दै उनले गणतान्त्रिक व्यवस्थाले पनि राष्ट्रिय समस्या समाधान हुनुको साटो मुलुक झन कमजोर भइरहेको बताएका थिए । त्यसपछि राप्रपाले त राजा ल्याउन भन्दै देशव्यापी विरोध ¥याली र सभाहरू गर्दै आएको छ । तर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईदेखि, माधव नेपाल र प्रचण्डसम्मले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाएका छन् । भट्टराईले त पूर्वराजा शाहको अभिव्यक्तिले सीमा नाघेको र संविधानविरोधी भएको भन्दै उनलाई सरकारले नियन्त्रणमा लिनुपर्ने बताए । संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र देशको सार्वभौमिकतामाथि प्रहार भैरहेको भन्दै उनले पछिल्ला बेथितिप्रति आक्रोशित जनमतलाई प्रतिगमनतिर सोझ्याउने कसरत भैरहेको समेत बताए ।
बाबुरामको भनाइको खण्डन गर्दै काँग्रेस महामन्त्री गगन थापाले बोलेकै कारण पूर्वराजालाई पक्राउ गर्न वा मुख थुन्न नजाने बताएका थिए । पूर्व प्रधानमन्त्री प्रचण्ड पूर्वराजासँग मिल्न लागेको भनेर समेत केहीले अफवाह फैलाएका छन् । तर प्रचण्डले पूर्वराजा शाहप्रति लक्षित गर्दै ‘इतिहासको रछ्यानमा मिल्काइएका तत्वहरु फेरि सल्बलाउन थालेको’ टिप्पणी गरेका छन् । राजनीतिक दल र सरकारप्रतिको आक्रोश र असन्तुष्टि देखाएर पूर्वराजा शाहको पुनरागमन सम्भव नभएको उनले दो¥याउँदै आएका छन् ।
पूर्वराजालाई चुनाव लडेर आउन, वर्तमान व्यवस्था स्वीकारेर राजनीति गर्न तर राजतन्त्र फर्काउने सपना नदेख्न भन्दै संसदमा समेत टिप्पणी भएको छ । काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजाको पुनः सत्तामा फर्किने चाहना भए टिका लगाएर या कसैको कृपाले होइन, नागरिकले पाउने सुविधाको उपयोग गर्दै २०८४ सालको निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले पुनः राजा बन्ने चाहना त्यागेर प्रजातान्त्रिक प्रणाली स्वीकार्दै प्रधानमन्त्री बन्न पूर्वराजालाई आग्रह गरे । आफ्नो नेतृत्वमा प्रजातान्त्रिक पार्टी खोलेर चुनाव लड्न र प्रधानमन्त्री बनेर नेपालको चौतर्फी विकास गर्न उनको आग्रह छ ।
यसरी शक्तिमा फर्कने पूर्वराजाको सन्देशलाई राप्रपा र राजावादी समूहले स्वागत गरे पनि गणतन्त्र, लोकतन्त्र पक्षधर पार्टी र नेताहरुले उनको आलोचनात्मक टिप्पणी गरिरहेका छन् । राजा आउनुपर्छ र आउनुहुन्न भन्ने जनमत पनि विभाजित भइरहेको छ ।