News 24 Television
ज्ञानेन्द्र राप्रपाको कि जनताको राजा ? राष्ट्रिय गानदेखि दलीय दाउपेचसम्म

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताले राजनीति तरङ्गित बन्न पुगेको छ । उनले बढाएको सक्रियतालाई राजनीतिक दलले चासोका साथ चुनौति पेश गरिरहेका छन् भने राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उनलाई उचाल्न खोजेको देखिन्छ । 

यस परिवेशमा के उनको सक्रियताले गद्दीसम्मको यात्रा तय गर्ला ? राजगद्दीको दौडले ज्ञानेन्द्रलाई जनमतको उभारमा होम्याइदेला ? 

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा प्रजातन्त्रको अभ्यास गर्नुपर्ने भन्दै अहिलेको राजनीतिक प्रणालीमाथि चर्को बहस छेडे । आफूलाई साथ दिन अपिल समेत गरे । यसपछि राजनीतिक दलहरुले प्रतिक्रिया दिन थाले भने राष्ट्रिय प्रजातन्त्र पार्टीले अब राजालाई नारायणहिटी ल्याउने समय आएको मात्रै भनेन्, हात समाएरै ल्याउने भन्यो ।

लिङ्देनले यस्तो दाबी गरेपनि राजनीतिक रुपमा पूर्वराजालाई दल खोलेर निर्वाचनमार्फत प्रधानमन्त्री बन्न चेतावनी दिनेदेखि धेरै नबोल्न धम्की समेत दिइयो । धम्की दिनेमा शीर्ष नेतादेखि प्रधानमन्त्री केपी ओली समेत सक्रिय देखिन्छन् ।

सरकारले पनि पूर्वराजा ज्ञानेन्द्रको सक्रियतामाथि कडा प्रश्न गर्न थालेको छ । वंश नाश हुने गरि भएको हत्या रोक्न नसक्नेले देश बचाउन नसक्ने सरकारको दाबी छ । 

यद्दपी, पूर्वराजाको सक्रियता भने बढिरहेको छ । उनले आफूलाई राजाकै शैलीमा देखाउने प्रयास गर्न थालेका छन् । तर, के उनको यो सपना पुरा होला ? प्रश्न र संशय भने तीब्र देखिन्छ । 

ज्ञानेन्द्रको सक्रियता कस्तो ?

यो दृश्य पोखरामा पूर्वराजा ज्ञानेन्द्रले वीरेन्द्र शाहको शालिक अनावरण गरेको बेलाको हो । वीरेन्द्र शाहको शालिक अनावरणको क्रममा राजाका पालाको राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली बजाइयो, जुन राजाको भक्तिगानले भरिपूर्ण छ । यो गितमा छातिमा हात राखेर ढक्क उभिएका ज्ञानेन्द्रलाई श्री ५ बडामहाराजधिराज भनिएको छ । जबकी उनले राजदण्ड, राजगद्दी आफैले छाडेको घोषणा दरबार छाड्दा नै गरिसकेका हुन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका मात्रै छैनन्, उनले राजगद्दीको चाहना समेत राख्न थालेका छन् । पोखरामा ज्ञानेन्द्रको पक्षमा नारा लाग्यो, हुटिङ चल्यो । 

उनी राजाकै शैलीमा निर्धक्क बसिरहेका देखिन्छन् । उनको यो सक्रियतालाई भने धेरैले उनको बढ्दो उमेर, छोरा पारस शाहप्रति जनताको बुझाई र राजसंस्थाको लिगेसीको चिन्तालाई लिएरै भविष्यबाणी गर्ने गरेका छन् । तर, राजसंस्थाप्रतिको जनमत भने मापन गर्ने गरि राजनीतिक नेतृत्व तयार हुने कुनै संकेत देखाएको देखिन्न ।

वीरेन्द्रको त्यो दुखान्त र ज्ञानेन्द्र

पृथ्बीनारायण शाहले नेपालको एकीकर गरे । देशलाई एकीकृत बनाउन युद्ध लडे र विजय प्राप्त गर्दै जाँदा आजको नेपाल बन्न पुग्यो तर, त्यसपछि राजसंस्था अनेक झमेलामा जहिल्यै फसिरह्यो । दरबार हत्या प्रकरणपछि राजसंस्थाप्रति मानिसहरुको समवेदना नै हराउन थाल्यो ।

राजपरिवारका सदस्यको निर्ममतापूर्वक कडा सुरक्षाकाबीच भएको हत्याले राजाप्रतिको विश्वास कसरी जागृत गर्ने ? राजदरबार हत्या प्रकरणको प्रभावकारी अनुसन्धानमा समेत खास चासो नदेखाएका ज्ञानेन्द्रप्रति जनताले कसरी विश्वास गर्ने ? 

यस्ता पेचिला प्रश्न र शंकाहरुकाबीच ज्ञानेन्द्रको सत्ता फिर्ति कठिन मोडमा सहजै पुग्यो । राजालाई विष्णुको अवतार मान्ने नेपाली समूदाय यस्ता घटनापछि नै राजाविरुद्ध सडकमा उत्रियो । तर, राजनीतिक प्रणालीमा देखिएको तरलताको फाइदा उठाउने ज्ञानेन्द्रको प्रयास र वीरेन्द्र शाहको शालिक अनावरणलाई नै कतिपयले अनौठो टिप्पणी गर्ने गरेका पाइन्छन् । 

राष्ट्रिय गानको प्रसंग

पूर्वराजा ज्ञानेन्द्र सहभागी कार्यक्रममा प्राय श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापी भूपति भन्दै पुरानो राष्ट्रिय गान बजाइन्छ । 

यो गितले राजाको भक्ति र स्तुतिबाहेक केहि गरेको देखिन्न । यस्तोमा पूर्वराजा ज्ञानेन्द्रको सत्ता धङ्धङ्गी अहिले पनि उही पुरातनवादमै रुमल्लिएको देखिन्छ । 

राजा फर्काउने भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नै राष्ट्रपतिको स्थानमा राजा र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको वकालत गरिरहेको बेला ज्ञानेन्द्रको कार्यक्रममा बजेको पुरानो राष्ट्रिय गानको संगति कति मिल्छ ? यसको लेखाजोखा समेत आवश्यक देखिन्छ । 

जनतामा सार्वभौमसत्ता निर्भर रहने हो भने राजाको भक्तिगान अब राप्रपाले नै गाउने स्थिति छैन् । तर, राजावादी दलको प्रस्ताव र ज्ञानेन्द्रको चाहनामै नदेखिएको तालमेलले पनि ज्ञानेन्द्रको सत्तारोहणको चाहनामा जटिलता थपिएको देखिन्छ ।

राप्रपाले दलीय राजा बनाउने प्रयास गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी र राजावादी दलहरुले ज्ञानेन्द्रलाई दलीय राजा बनाउने प्रयास थालेका छन् । ज्ञानेन्द्रलाई सत्तामा फर्काउने कामको नेतृत्व राप्रपाले गर्न सक्ला ? प्रश्न र शंका स्वभाविक देखिन्छन् । यस्तो शंका किन पनि स्वभाविक देखिन्छ भने उनीहरुले प्राप्त गर्ने जनमत र उनीहरुको आचरण व्यवहार पनि प्रमुख देखिन्छ । 

अहिले पोखरामा रहेका ज्ञानेन्द्रलाई राप्रपाले २५ गते विमानस्थलमा स्वागत गर्न भन्दै पार्टीको कार्यक्रम नै स्थगित गरेको बेला के यो प्रयास र अभ्यासले ज्ञानेन्द्रलाई राप्रपाकरण गर्न थालिएको हो ? शंका   छ । 

यस्तो स्थितिमा पूर्वराजा ज्ञानेन्द्रले राजगद्दीको चाहनामा समग्र जनतालाई समेट्ने वा राप्रपा ? राष्ट्रिय गानमा आफ्नो भक्ति सुन्ने वा सबै जनताको आवाजलाई समेट्ने ? यस्ता प्रश्नको निवारण नगरेसम्म ज्ञानेन्द्रको रहर पुरा हुनेमा गम्भीर शंका र चासो स्वभाविक नै देखिन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update