
काठमाडौं । विद्या भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शिक्षामन्त्रीबाट राजीनामा बुझाएपछि एमाले भित्रै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली आलोचित बनिरहेका छन् । प्रधानमन्त्रीलाई भेट्न खोज्दा ओलीको सचिवालयले भेट्न समेत नदिएको र शिक्षक आन्दोलनप्रति गम्भिर बन्दा प्रधानमन्त्री कार्यालयबाटै असहयोग भएपछि विद्याले राजीनामा दिएकी हुन् ।
शिक्षामन्त्री विद्या भट्टराईले सोमबार प्रधानमन्त्री ओलीलाई मन्त्री पदबाट राजीनामा बुझाएपछि एमाले भित्र हलचलको स्थिती छ । स्वाथ्यको कारण भनिएपनि प्रधानमन्त्री ओलीले नै शिक्षा मन्त्रीलाई काम गर्न समस्यामा पारेपछि उनले राजीनामा दिएको एमालेकै नेता कार्यकताहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।
भट्टराई शिक्षक आन्दोलनलाई लिएर शुरु देखि नै गम्भिर थिइन् । त्यसै कारण उनले शिक्षकहरु आन्दोलनमा उत्रिनु भन्दा अगाडि नै पनि छलफल गरेकी थिइन् । शिक्षकहरुको सम्बोधन गर्न सकिने मागको बिषयलाई लिएर प्रधानमन्त्रीसँग उनले छलफल गर्न चाहेकी थिइन् ।
त्यसका लागि फोन समेत गरेकी थिइन् तर प्रधानमन्त्रीको सचिवालयमा रहेका व्यक्तिहरुले बहालवाला मन्त्रीलाई समेत प्रधानमन्त्री ओलीलाई भेट्न दिएनन् । यसपछि उनी असन्तुष्ट थिइन् ।
पटक–पटक शिक्षकका मागका बिषयमा छलफल गर्न खोज्दा समेत प्रधानमन्त्रीसँग छलफल हुन नसकेपछि मन्त्री भट्टराईले राजीनामा दिएकी हुन् ।
नयाँ शैक्षिक सत्र शुरु भएको २ हप्ता वित्न लाग्दा समेत शिक्षकहरु विद्यालय नफर्किएपछि भट्टराईले राजीनामा दिएको कुरा स्पष्टै छ । तर प्रधानमन्त्री ओलीले भने विद्यालाई आफैले मन्त्री बनाएको भन्दै स्वाथ्यको कारण मन्त्रीपदबाट राजीनामा दिएको भन्दै आफ्नो बचाउ गरेका छन् ।
ओलीले स्वास्थ्यको कारण शिक्षामन्त्रीले राजीनामा दिएको भनेपनि एमालेकै नेताहरुले प्रधानमन्त्री ओली र उनको सचिवालयको कारण मन्त्रीलाई राजीनामा दिन बाध्य बनेको बताउँछन् । एमाले उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्यले मन्त्री पदबाट सामान्य कारण कोही कसैले पनि राजिनामा नदिने भन्दै यो बिषयमा एमाले सचिवालय बैठकमा गम्भिर रुपमा छलफल हुने बताउँछिन् ।
एमालेका उपल्लो तहका नेताहरु समेत पछिल्लो समय प्रधानमन्त्री ओलीसँग सन्तुष्ट छैनन् । आफुहरु बारम्बार प्रधानमन्त्रीको सचिवालयबाट अपमानित हुनु परेको एमाले नेताहरु बताउँछन् ।
मन्त्रीको राजीनामाको बिषयलाई लिएर नेता तथा कार्यकर्ताले नेतृत्वमाथि प्रश्न गर्दा समेत विगतमा एमालेमा भित्र हुने गलत कार्यशैलिको खुलेर बिरोध गर्ने नेताहरु अहिले बोल्न डराउँछन् । त्यसैले पनि धेरै एमाले नेताहरु विद्या भट्टराईको राजीनामा अन्य कारणले नभई स्वास्थ्यकै कारण भएको भन्न बाध्य छन् ।
शिक्षा विधयेक जारी नभए राजीनामा दिने विद्या भट्टराईले विगतमा पनि पटक पटक भनेकी थिइन् । विधेयक जारी गर्ने विषयमा सरकार र पार्टीबाटै असहयोग भए पछि उनले राजिनामा दिएकी हुन् ।
विद्याको राजीनामाले प्रधानमन्त्री नै मन्त्रीमाथि असहयोग गर्ने काममा लागि परेको भन्दै अहिले चौतर्फि आलोचना भइरहेको छ ।