News 24 Television
थेगिनसक्नु बन्यो मतदाता नामावली दर्ता

कास्की । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभर मतदाता नामावली दर्ता तिब्र बनेको छ । मतदानका लागि योग्य मतदाता कोही पनि नछुटुन् भनेर कार्तिक ३० सम्म तय गरिएको नामावली दर्ताको समय समेत मंसिर ५ सम्म थपिएको छ । 

राष्ट्रिय परिचयपत्र बाहकलाई बायोमेट्रिकसमेत गर्न नपर्ने निर्णय गरेपछि अनलाइनबाट नाम दर्ता गर्ने अत्याधिक बढेका छन् । जसका कारण आयोगले सर्वरलेसमेत थेग्न नसक्ने अवस्था छ । यो निर्णयले निर्वाचन कार्यालयको भीड घटेको छ । 

देशैभर मतदाता नामावली दर्ता तीब्र भइरहँदा कास्कीमा पनि अहिलेसम्म ९ हजारभन्दा बढीले नयाँ नाम दर्ता गराइसकेका छन् । आउँदो फागुन २१ का लागि निर्वाचन मिति घोषणा भएसँगै मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्नेको संख्या बढेको छ । 

केहीदिन अघिसम्म निर्वाचन कार्यालयमै गएर दर्ता गराउनुपर्ने व्यवस्थालाई सरकारले शुक्रबारदेखि राष्ट्रिय परिचयपत्र भएका व्यक्तिको दर्ता अनलाइनबाटै गर्न सकिने प्रक्रिया अगाडि बढाएसँगै अहिले निर्वाचन कार्यालयमा भने भिड कम भएको छ । 

प्रदेश निर्वाचन कार्यालय गण्डकीमा केही दिनअगाडिसम्म बाक्लो भिड रहेपनि आइतबारदेखि भने भिड कम भएको छ । यसले गर्दा सेवाग्राहीलाई पनि सहज भएको छ । निर्वाचन कार्यालयले मतदाता नामावली दर्ताको समय कार्तिक ३० सम्म राखेको थियो । तर दर्ता गर्नेको सङ्ख्या बढेको र सर्भरमा बढी लोड भएका कारण शुक्रबार एक विज्ञप्ति जारी गर्दै मङ्सिर ५ गतेसम्मलाई समय सीमा तोकेको थियो ।

मतदाता नामावलीमा नाम दर्ताका लागि सरकारले तोकेको समय अझै ५ दिन बाँकी छ ।  निर्वाचन मिति घोषणाले आफूले चुन्ने नेता तथा पार्टीलाई भोट हाल्नको लागि मतदाता नामावली दर्ता गर्ने नागरिकहरू निकै उत्साहित छन् । 

गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखराका अनुसार दैनिक १ हजार नागरिक मतदाता नामावलीमा नाम दर्ता गरिरहेका छन् । प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार, दर्ता गर्ने नागरिकमध्ये १५ प्रतिशत अन्य पुस्ताका छन् भने ८५ प्रतिशत जेनजी पुस्ताका रहेका छन् । 

प्रदेश निर्वाचन कार्यालय पोखराको तथ्यांकका आधारमा हेर्ने हो भने आगामी फागुन २१ मा हुने निर्वाचनमा मतदान गर्नका लागि जेन्जी पुस्ता आतुर भएको देखिन्छ । 

कास्की जिल्लामा हालसम्म १२ वटा दल दर्ता प्रक्रियामा आएका र असार मसान्तसम्म २ लाख ९४ हजार मतदाता रहेकोमा अहिले ९ हजार भन्दा बढीले नाम दर्ता गराएका छन् ।  

राष्ट्रिय परिचयपत्रको डाटालाई आधार मानेर अनलाइन सेवा सुरु भएपछि मतदाता नामावली दर्ता अझ सहज र छरितो बनेको छ । 

अनलाइन तथा कार्यालय दुवैतर्फ दर्ता हुँदै गरेको बढ्दो सहभागिताले विशेषगरी जेनजी पुस्ताको निर्वाचनप्रति आकर्षण झनै बढेको देखिन्छ ।  

मतदाताले निर्वाचन आयोगको इलेक्सन डट जिओभी डट एनपीको वेबसाइटमा गएर प्रारम्भिक जानकारी पेस गरेर नजिकैको निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक, फोटो र औंठाछाप दिनुपर्नेछ । राष्ट्रिय परिचयपत्र भएकाहरूले बायोमेट्रिक गर्नु नपर्ने भएकाले अनलाइनबाटै सबै काम गर्न सकिने ब्यवस्था मिलाइएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update