News 24 Television
नेपालमा कम्युनिस्टका यस्तासम्म कथा ! भोट छरपष्ट !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७६ औं वर्ष पुगेको छ । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ मा स्थापना भएको नेकपाले नेपाली राजनीतिमा विभिन्न उतारचढावदेखि सशस्त्र युद्धसम्मको स्थिति सिर्जना ग¥यो । पटक–पटक सरकार पनि गठन भए । तर, नेपालको वामपन्थी आन्दोलन सधैं विवाद, तानातान र आरोप–प्रत्यारोसहित टुटफुटमै रुमल्लिन   पुग्यो । समग्रमा कस्तो देखिन्छ त नेपालमा कम्युनिस्ट पार्टीको इतिहास र वर्तमान   अवस्था ? 

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७६ औं वर्ष पुरा भइसकेको छ । यस अवधिमा कम्युनिष्ट आन्दोलनले नयाँ मानक स्थापना गरेको समेत देखिन्छ । ७६ वर्षसम्म आइपुग्दा कम्युनिस्टहरु छिन्नभिन्न अवस्थामा रहेपनि उनीहरुले सरकारदेखि राज्यविरुद्ध सशस्त्र युद्ध नै गरे । 

वामपन्थी रुझानमा जनताले समेत ठूलो अपेक्षा राखे । तर, कहिल्यै उनीहरु एकीकृत भने हुन सकेनन् । नेपालको वामपन्थी राजनीतिमा एमाले–माओवादीबीचको एकताले ठूलो सन्देश दिएपनि सत्ता तानातानका कारण विभाजन हुन पुग्यो । तर, पनि कमयुनिष्ट बोलवाला यो वा त्यो ढंगले कमजोर भने बन्न सकेको देखिन्न । 

प्रमुख प्रतिष्पर्धी दल नेपाली कांग्रेस पनि कम्युनिष्ट पार्टीसँगको सहकार्यबाट बाहिर जानै सकेको देखिन्न । कम्युनिष्ट दल र नेताहरुले कांग्रेसलाई सत्ता सुम्पिने र कांग्रेसले कम्युनिष्टलाई सत्ता सुम्पिने काम गर्ने गरेका छन् । जुन स्थितिले नेपालको राजनीतिक इतिहासमा वामपन्थी एकता समस्याको रुपमा देखिन थालेको छ । एकताभन्दा धेरै टुटफुट र आरोप–प्रत्यारोपमै समय वित्ने गरेको छ । 

नेकपा स्थापनाको ७६ वर्ष वित्दै गर्दा कम्युनिष्ट आन्दोलनले अनेक उतारचढाव व्यहोरिसकेको छ । साथै नेपालमा वामपन्थी जनमतमा बृद्धिदेखि सरकार निर्माणका चरणमा समेत विभिन्न आयामहरु देखिने गरेका छन् । यस परिवेशमै पनि राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनापछि समेत अधिकांश वामपन्थी सरकार बनेका देखिन्छन् । तर, यी सरकार निर्माणका प्रक्रिया भने रोचक छन् । 

गणतन्त्रपछि बनेका सरकार के कस्ता थिए त ?

१. केपी शर्मा ओली

कम्युनिस्ट नेता केपी शर्मा ओली तीन पटक प्रधानमन्त्री बने । पहिलो पटक २०७२ असोज २५ गते, दोस्रो पटक २०७४ साउन ११ गते र अहिले कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा बहाल रहेका छन् ।

२. पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रचण्ड पहिलो पटक २०६५ साउन ३१ मा प्रधानमन्त्री बने । हालसम्म उनी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् ।

३. माधव नेपाल

गणतन्त्रपछि माधव नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री बने । तर, प्रधानमन्त्री बन्दा उनले निर्वाचन जितेका भने थिएनन् । माधव त्यो बेला निर्वाचनमा पराजित भएर पनि प्रधानमन्त्री बनेपछि यसबारे रोचक चर्चा समेत चलेको थियो ।

४. झलनाथ खनाल

झलनाथ खनाल २०६७ माघ २३ गते प्रधानमन्त्री बने ।

५. डा. बाबुराम भट्टराई

२०६८ भदौ १२ गते डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेका थिए ।

यसरी हेर्दा २०६५ साउनदेखि अहिलेसम्म गणतन्त्र स्थापनाको १७ वर्षमा गठन भएका १३ सरकारमध्ये ९ वटा सरकारको नेतृत्व वामपन्थी दलका नेताहरुले नै गरेको देखिन्छ । भने व्यक्तिका हिसाबले ५ जनाले सत्ता नेतृत्व गरेको देखिन्छ । उसोतः संसद विघटनको श्रृङ्खलालाई समेत हेर्दा ओलीको कार्यकाल ४ हुने देखिन्छ र सरकार पनि १४ वटा गठन भएको भन्न सकिन्छ । 

यि सरकार गठनका आफ्नै कथाव्यथाहरु छन् । कांग्रेससँग मिलिजुलीदेखि वामपन्थीहरुबीचको सहकार्य समेत देखिन्छ । तर, उनीहरुले अहिले पनि कम्युष्ट एकता वा आफ्नो पार्टीले एकताको पहल थाल्ने विषयमा भने गलफत्ति गरिरहेका देखिन्छन् । एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्ने गरेको देखिन्छ भने नेताहरुले चर्को मतभेद देखिने गरि लान्छना लगाइरहेको स्थिति छ । 

कम्युनिष्ट आन्दोलनबाट उनीहरुले सत्ता नेतृत्व गरिरहेका छन भने पार्टी राजनीतिमा समेत सक्रिय देखिन्छन् । यद्यपी बाबुराम भट्टराईले आफूलाई अहिले कम्युनिष्ट भन्न रुचाउने गरेका छैनन् । समाजवादी धारमा आफू पुगिसकेको भन्दै नयाँ राजनीतिक यात्रा गर्ने भनेपनि उनको राजनीतिक छलाङ देखिन्न । 

यस्तोमा अन्य नेताहरु भने पार्टी राजनीतिमा सक्रिय छन भने एकले अर्कोलाई गलाउने, थकाउने रणनीतिमै सक्रिय देखिन्छन् । यसरी नेकपा स्थापना दिवस मनाउदै गर्दा उनीहरुले दिन खोजेको सन्देश अहिले पनि अलमल र आफू केन्द्रित नै देखिन्छ । 

यसले नेकपाको वामपन्थी आन्दोलन र कम्युनिष्ट एकता सम्भव होला ? यो आम प्रश्न बनेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update