News 24 Television
वेगनासमा डुंगा डुब्दा सशस्त्र प्रहरीले कसरी गर्छ उद्दार ? 

कास्की । पोखराको बेगनासतालमा बेला बेलामा डुंगा दुर्घटना हुँदा कैयौंले अकालमा ज्यान गुमाउनु परेको छ । मंगलबार पनि बिहानै रमाइलो गरेर हिडेका युवाहरु चढेको डुंगाको भयानक दुर्घटना भयो । तुरुन्तै उद्दार पनि भयो । सबै सकुशल रहे । तर यो दुर्घटना भने सशस्त्र प्रहरी बलको कृत्रिम अभ्यासको दृष्य थियो । 

यो दृष्य मंगलबार बिहान साढे ९ बजे बेगनासतालको हो । बेगनासतालको दक्षिणी भागमा डुंगाघाट नजिकै दुइवटा डुंगामा रमाइलो गर्दै युवाहरु आइरहेका हुन्छन् । यस्तैमा अकस्मात डुंगा पल्टिन पुग्छ । डुंगामा सवार यात्रुहरु तालमा डुब्छन् । घटना भएको केही मिनेटमै सशस्त्र प्रहरी बलको उद्दार टोली मोटरबोट लिएर घटनास्थल पुग्छ । तालमा डुबेका युवाहरुको उद्दार हुन्छ । यता आफ्ना साथीहरु अझै तालमा डुबेको भन्दै केही युवा रोइकराई गर्छन् । 

घटनाको केही मिनेटमै सबैको उद्दार हुन्छ । उद्दार गरेर ताल पारी राखेका घाइतेलाई डोरीको सहायताले ताल वारी ल्याइन्छ । उद्दार कार्य चल्दा चल्दै एम्बुलेन्स पनि घटनास्थलमा आइपुग्छ । सबै घाइतेलाई अस्पताल लगिन्छ । 

घटनास्थलमा रमितेहरुको उत्तिकै बाक्लो उपस्थिति छ । प्रत्यक्षदर्शीहरु डराएका देखिन्छन् तर नझुक्किनुहोस् । यो घटना बास्तविक भएपनि भवितब्य भने होइन् । यो त सशस्त्र प्रहरी बलको नेपाल नं. ४ मुक्तिनाथ बाहिनीले पोखराको बेगनासतालमा दुर्घटना हुँदा कसरी तत्काल नै उद्दार गर्न सकिन्छ भनेर गरिएको कृत्रिम घटना अभ्यासको दृष्य हो । 

खासगरि चैत बैशाख तथा जेठको समयमा अत्यधिक हावाहुरी चल्ने, जसका कारण बेगनासतालमा डुंगा दुर्घटनाका घटना बढ्ने गरेका छन् । त्यसैलाई मध्यनजर गर्दै त्यस्ता भवितव्यका बेला घाइतेहरुको कसरी तत्काल उद्दार गर्न सकिन्छ भनेर यो कृतिम घटना अभ्यास गरिएको हो ।

केही वर्ष अघिसम्म पोखराका तालमा आइपर्ने भवितब्यमा कोही परिहाल्यो भने भगवानको भरोसामा पर्नु पथ्र्यो । त्यो बेलामा पुराना शैलिका डुंगाबाट डुंगा व्यवसायीहरुले नै उद्दार गर्ने गर्थे तर त्यस्ता काठका डुंगाको सहायताले घटनास्थलसम्म पुग्दा घाइतेको निधन वा वेपत्ता भइसकेको हुन्थे । 

तालमा डुबेकाको मात्र नभई सशस्त्र प्रहरी बल विपद्का विभिन्न घटनामा समेत निरन्तर उद्दार कार्यमा खटिरहेको छ । आर्थिक वर्ष २०८१\८२ मा विपद्का विभिन्न घटनामा सशस्त्र प्रहरी बलको उद्दार टोलीले १२ सय ३० जनालाई जिवितै उद्दार गरिसकेको र २ सय ८३ जनाको सव निकालेको कालिका गणका गणपति प्रहरी उपरिक्षक सुर्यप्रसाद तिमिल्सिना बताउँछन् । 

सशस्त्र प्रहरी बलले बेगनासतालमा गरेको मानविय कार्यको सबैले खुलेर प्रशंसा गरेका छन् । उनीहरुकै कारण डुंगा दुर्घटनामा परि ज्यान गुमाउनेको संख्यामा निकै कमि आएको छ । तरपनि उद्दार टोलीलाई बेगनासतालमाा २४ सै घण्टा तैनाथ रहन चाहिने संरचना भने निर्माण भएको छैन । यता कुनैपनि विपदका बेला स्थानीयको सहयोग नै ठुलो रहने हुँदा स्थानीयहरु नै विपदका विषयमा जानकार हुनुपर्नेमा जोड दिइएको छ । 

स्थानीय व्यक्तिहरु नै विपद् उद्दार प्रक्रियासँग केही मात्रामा मात्रै जानकार हुन सके दुर्घटना न्यूनीकरण हुने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउँछन् ।

बेगनासतालमा दुर्घटना न्यूनीकरणका लागि सशस्त्र प्रहरी बलले रेस्क्यु टावर राख्ने बताइसकेको छ । बेगनासतालमा आधिबेरी, हावाहुरी, चट्याङ तथा मनोरञ्जनका क्रममा हुने मानविय त्रुटीले डुंगा दुर्घटना हुने गरेको छ । ३ दशमलव ७३ वर्ग कलोमिटर फैलिएको यो तालको अधिकतम गहिराई १० दशमलव ६ मिटर रहेको छ । त्यसैले वेगनासमा डुंगाको शयर जति रोमाञ्चक छ, उत्तिकै जोखिम पनि रहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update