
काठमाडौं । सरकारको कार्यशैलीमाथि सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले प्रश्न उठाइरहेकाबेला कांग्रेसबाट ऊर्जाराज्यमन्त्री बनाइएका पूर्णबहादुर तामाङ कान्छारामलाई बर्खास्त गरिएपछि गठबन्धनमा दरार उत्पन्न भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा देश बाहिर भएका बेला बुधबार प्रधानमन्त्री ओलीले कान्छारामलाई मन्त्रीबाटै बर्खास्त गरेपछि सत्तासंकट उत्पन्न भएको हो ।
गत वर्ष असार १७ मा कांग्रेस सभापति शेरबहादुर देउवासँग ७ बुँदे सहमतिपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीको पछिल्लो कार्यशैलीप्रति कांग्रेस पंक्ति रुष्ट छ ।
कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त तथा गभर्नर नियुक्तिमा ढिलाई लगायतका कारणबाट चिढिएका कांग्रेस नेताहरु कांग्रेसबाट ऊर्जाराज्यमन्त्री बनेका पूर्णबहादुर तामाङ कान्छारामलाई बर्खास्त गरेपछि थप असन्तुष्ट बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा यतिबेला थाइल्याण्डको बैंककमा छन् ।
उपचारका लागि भन्दै देउवा बैंकक पुगेकाबेला कान्छारामलाई मन्त्रीबाटै बर्खास्त गरेपछि सत्ता गठबन्धनमै संकट उत्पन्न भएको छ । रामेछापबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित कान्छाराम सभापति देउवा निकट मानिन्छन् । तर देउवा नै नभएको बेलामा एक्कासी मन्त्रीबाटै बर्खास्त गरिएपछि कांग्रेस नेता कान्छाराम मात्रै होइन, कांग्रेस पंक्ति नै चिढिएको छ ।
कांग्रेस असन्तुष्टिका बाछिटाहरु
सरकारको काम कारबाहीलाई परिणाममुखी बनाउनकै लागि भन्दै गठन भएको दुई दलीय संयन्त्रमा कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा सदस्य छन् ।
सरकारलाई सहयोग गर्नकै लागि संयन्त्र निर्माण गरिए पनि संयन्त्रको कुरा सुन्न प्रधानमन्त्री ओली तयार छैनन् । त्यसैले संयन्त्रका सदस्य रहेका कांग्रेस महामन्त्री थापाले सरकारको कार्यशैलीको सार्वजनिक रुपमा नै आलोचना गरिरहेका छन् ।
थापाले प्रधानमन्त्रीको बेडसम्म नै विचौलियाहरु पुग्ने गरेको भनी सार्वजनिक टिप्पणी नै गरेपछि ओली झस्किएका थिए । लगत्तै संयन्त्रको बैठक बोलाए पनि थापा मात्र होइन, उपसभापति खड्का उपस्थित भएनन् ।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले त आफूहरु संयन्त्रमै नरहने सम्मको अभिब्यक्ति दिएका थिए । संयन्त्र सदस्य तथा कांग्रेसका जिम्मेवार नेताहरुबाट आकस्मिक रुपमा यस्ता अभिब्यक्ति आएका होइनन् । सरकारको कार्यशैलीको कांग्रेस संस्थापन इतर पक्षका नेताहरुले शुरुदेखि नै आलोचना गर्दै आएका थिए ।
नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बर्खास्तीपछि गभर्नर नियुक्तिमा पनि ओलीले एमालेप्रति खोँचे थापिरहँदा बुधबार कांग्रेसका मन्त्री नै बर्खास्त गरेपछि कांग्रेसलाई अर्को झड्का लागेको हो ।
प्राधिकरण र गभर्नरमा लेनदेन
कुलमानको बर्खास्तीपछि कांग्रेसका अधिकांश नेताहरु रुष्ट बने पनि कांग्रेस सभापति देउवाले राष्ट्रबैंकको गभर्नरमा ओलीसँग सहमति गरेका थिए । कुलमानलाई हटाउन नमानेका देउवाले गभर्नर आफूले चाहेको ब्यक्ति बनाउने शर्तमा राजी भएका थिए । तर विभिन्न बाहनाबाजीमा ओलीले त्यसलाई नकार्दै आएका छन् ।
नयाँ गभर्नरका लागि देउवाले सिफारिस गरेका ब्यक्तिविरुद्ध सर्वोच्च अदालतमै रिट परेपछि अर्को तनाव सिर्जना भएको छ । गभर्नरमा प्रमुख दुई दलबीच सहमति हुन नसक्दा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको नयाँ गभर्नर सिफारिस समितिको बैठक नै बस्न सकेन ।
जसका कारण समितिका एक सदस्य विजयनाथ भट्टराईले समिति सदस्यबाट अलग भएको घोषणा गरिसकेका छन् । सिफारिस समितिका सदस्यले राजीनामा दिएपछि गभर्नर नियुक्ति प्रक्रिया झनै विकराल बनेको छ ।
यहि अवस्थामा विभिन्न पक्षको आन्दोलन चर्किँदै गएको छ । शिक्षक आन्दोलनकै कारण विद्या भट्टराईले शिक्षमन्त्रीबाटै राजीनामा दिनुपर्ने अवस्था आयो भने कर्मचारी, चिकित्सक लगायतका विभिन्न समूह आन्दोलनमै छन् ।
त्यसैले कांग्रेस सभापति देउवालाई १५ महिनापछि प्रधानमन्त्री सुम्पिने लालसा देखाउँदै एकपछि अर्को चिढाउने कार्यले ओली आफै संकटतर्फ धकेलिएको अड्कलबाजी हुन थालेका छन् ।