
काठमाडौँ । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बद्नाम गराउन विरोधीहरुले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् ।
विद्यालय शिक्षक ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि काठमाडौंमा जारी आन्दोलनको २७ औँ दिनलाई सोमवार सम्बोधन गर्र्दै उहाँले यस्तो आरोप लगाएका हुन् । उनले आईतवार भएको शिक्षक आन्दोलनमा प्रहरी प्रशासनले गरेको अलोकतान्त्रिक कदमको महासंघले भत्र्सना गरेको बताए ।
आन्दोलनमा ‘भिजिलान्ते’ प्रयोग गरी विरोधीहरुले ढुङ्गामुडाको अवस्था सिर्जना गरेर प्रहरीले दमन गरेको आरोप लगाए । उनले सत्तामा बस्नेहरु थाकेर भाग्न सक्छन् तर आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारी माग पूरा नभइ आन्दोलनबाट नभाग्ने जिकिर गरे । शिक्षकहरुको २४ बुँदे मागमध्ये सरकारले तत्काल गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएको र त्यो नै आधिकारिक दस्ताबेज भएको बताए ।
सुवेदीले भने, ‘आज २७ औँ दिन पनि हजारौँ शिक्षक आन्दोलनको मोर्चामा डटिरहेका छन् । यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्,गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन् । हिजो प्रहरीले प्रशासनले बर्बरताको पराकाष्ठा देखायो । नाङगो नाँच देखायो । शान्तिपूर्ण आदोलनमा रहेका शिक्षक कर्मचारीमाथि केही हेलमेटधारी भिजिलान्तेहरु खटाएर ढुङ्गामुडाको वातावरण सिर्जना गरायो र त्यही निहुँमा लाठी बर्षायो । फोहोरा हान्यो । हामी त्यसको घोर निन्दा गर्दछौँ । सरकारको निर्सम्ससँग शिक्षक कर्मचारी विरोधी अलोकतान्त्रिक कदमको घोर भत्र्र्सना गर्न चाहन्छौैँ । हिजोको ६२ जना साथीहरु घाइते हुनुभएको छ । घाइतेहरु कोही आँखा चिम्लिएर कोही खुट्टो खोच्याउँदै कोही टाउकोमा पट्टी बाँधेर फेरि आन्दोलनको मोर्चामा आउनुभएको छ । केही अफबाहहरु सिर्जना भएका छन् । निश्चित मान्छेहरु संगठित भएर शिक्षक आन्दोलनलाई विभाजन गर्न अनेक थरि कुप्रचार गरिरहेका छन् । त्यो कुप्रचारप्रति सचेत रहन आग्रह गर्दछु । सुन्दै छु कहिले पाँच बुँदे कहिले सात बुँदेको त कहिले नौ बुँदाका के के आइरहेका छन् । हामीले तपाईहरुलाई डाँट्नु पर्ने केही छैन । नेपाल सरकारले ऐनमा के के गर्नु पर्छ भनेर २४ बुँदे कार्यसूची जारी गरेका छौँ । त्यही नै हाम्रो आधिकारिक डकुमेण्ट हो । सरकारले गर्नसक्ने १६ बुँदाको कार्यसूची बनाएका छौँ ।’
अध्यक्ष सुवेदीले आईतवारको आन्दोलनमा ६२ जना शिक्षक घाइते भएको भन्दै ६२ हजार शिक्षक घाइते हुन तयार रहेको तर शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोकिने बताए ।