News 24 Television
माटोमा बाँधिएको मन, कागजमा नभएको पहिचान

राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने दस्तावेज हो– नागरिकता। यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ। नेपाली नागरिकसँग विवाह गरेर जीवनको उत्तरार्धमा पुगी एक्लो हुँदा राज्यको सहारा लिन पुगेकी एक वृद्वा महिला बिहान १० बजेर ३० मिनेट हुँदा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को  कार्यकक्षमा प्रवेश गर्छिन्। हेर्दा कुप्रो परेको जिउडाल, काँसझैँ फुलेका कपाल, चाहुरिएको अनुहार, हातमा लौरी टेक्दै स्वाँ-स्वाँ गर्दै लामो स्वास फेर्दै सिडिओलाई नमस्कार गर्दै आफ्नो समस्याको बेली विस्तार यसरी सुरु गर्छिन् ।

०००

उनी भन्छिन् : 
मेरो  उमेर ७१ वर्ष भयो ।म आजभन्दा झन्डै ५५ वर्ष पहिले भारतको कोइलाखानीमा काम गर्न गएका यस जिल्ला निवासी नरबहादुर (परिवर्तित नाम) सँग मेरो भेटभएको थियो।मलाई त्यही कोइला खानीमा काम गर्न थालेको लामो समय भैसकेको थियो। हामी सँगै कोइलाखानीमा काम गर्न थाल्यौँ । काम गर्दा गर्दै हाम्रो चिनजान भयो। दिनानुदिन सँग-सँगै काम गर्दा हामी एकअर्काका झन-झन नजिक हुन थाल्यौँ । भित्र भित्रै हामी एक-अर्कालाई मन पाराउन थालेका थिएछौँ। उनले एक दिन विवाह गर्ने प्रस्ताव राखे– मैले पनि सहजै स्विकार गरेँ । अनि हामीले त्यही कोइलाखानीमै विवाह गर्यौं।

काम गर्दागर्दै छोरा जन्मियो। छोरालाइ हेर्दै काम गर्न कोइलाखानीमा हामीलाई अप्ठ्यारो भयो। हामी त्यहाबाट हाम्रो गृह जिल्ला फर्कियौँ । त्यसको ३ वर्षपछि छोरी जन्मिई । गाउँमा खेतबारी थोरै थियो । खेतबारीबाट उब्जाएको अन्नले खान पुग्ने अवस्था थिएन । त्यसैले गाउँ-घरमा अर्काको घरमा ज्याला मजदुरी गर्दै छोरा छोरी हुर्कायौँ बढायौँ । जबसम्म घरमा उहाँ (श्रीमान्) हुनुहुनथ्यो, सम्पुर्ण घर-व्यवहार उहाँले नै सम्हाल्नुभएको थियो । त्यतिबेलासम्म मलाई कहिले पनि नागरिकता के हो, यो किन चाहिन्छ भन्नेबारे थाहा भएन । जब छोरा विदेश गयो, छोरीको बिहे भएर आफ्नो घर गई र श्रीमानको पनि एकाएक मृत्यु भयो । अनि म घरमा एक्ली भएँ । काम गरेर खान नसक्ने भएँ । विदेश गएको छोराले मलाई वास्ता नगरेपछि म साहाराविहीन भएँ । सुनेकी थिएँ- वृद्धवृद्वा र एकल महिलाहरुलाई राज्यले सामाजिक सुरक्षा भत्ता दिन्छ। त्यसका लागि नेपाली नागरिकता चाहिँदो रहेछ। म सँग नागरिकता छैन । नागरिकता लिन वडा कार्यालयबाट सिफारिस लिनुपर्दो रहेछ।

नागरिकताको सिफारिस लिन एक दिन लौरो टेक्दै सकी-नसकी वडा कार्यालयमा गएँ नागरिकता बनाउन विवाहदर्ता, आमाबुवाको नागरिकता अनि श्रीमानको नागरिकता र जन्मदर्ता खोजे।मसँग यी कुनै कागजात थिएनन् । म सानो हुँदादेखि नै कस्ले हुर्कायो, थाहा छैन । अलि ठूली हुँदा कोईलाखानीमा बालमजदुरको रुपमा रहेको आफुले थाहा पाएँ। अरु मलाई केही थाहा छैन । अहिले न मसँग श्रीमानको नागरिकता छ, न मसँग श्रीमान् नै हुनुहुन्छ। भएको छोरा पनि वैदेशिक रोजगारीको सिलसिलामा कतार गएको छ। मेरो भन्नु कोही पनि छैन। भएका आफन्त पनि मलाई सहयोग गर्दैनन् । 

नागरिकतामा सनाखत गर्न मेरा श्रीमानका तीन पुस्ताभित्रका आफन्त पर्ने व्यक्ति चाहिने रहेछ। मैले सनाखत गर्न वडामा गईदिनु न भन्दा किन चाहियो नागरिकता यो मर्ने वेलामा भनेर आलटाल गर्छन्। उल्टो वडा कार्यालयका जनप्रतिनिधिहरुलाई यसको नागरिकताको सिफारिस नदिनु भनी भनेका रहेछन्। त्यही भएर वडाअध्यक्षले मलाई सिफारिस दिन चाहेन क्यार । वडाध्यक्षले किन सिफारिस दिन चाहेन भनी बुझ्दा मेरो नागरिकता भयो भने श्रीमानको सगोलको सम्पत्तिमा मेरो पनि अंश दाबी लाग्ने रहेछ, त्यही भएर नदिनु भनेका रहेछन्। 

०००

यति भन्दा नभन्दै ती वृद्वा आमाको आँखाबाट आँसु बग्न थालेको थियो। उनको वोली रोकियो। गला अवरुद्व भयो। उनको भनाई थियो- मैले कसरी नागरिकता पाउछु, यसबारे भनिदिनु पर्यो। 

यो समस्या सुनेपछि सिडिओले नागरिकताको लागि आवश्यक पर्ने कागजातको बारेमा बताउनुभयो । उनीसँगै आएका एकजना व्यक्तिलाइ भनेका कागजातसहित आएमा नागरिकता पाइन्छ भनेर आश्वासन दिनुभयो । यति सुनेपछि पछी ती व्यक्ति पनि अपसोस् मान्दै सोचमग्न थिए । कारण थियो- फेरि त्यही वडा कार्यालयबाट सिफारिस कसरी बनाउने ? दुवै जना त्यहाँबाट  बाहिरिए । 

लगत्तै एकजना युवतीको आगमन हुन्छ। हेर्दा निकै सुन्दर अनुहार आकर्षक पहिरनमा सजिएकी युवतीले मैले हिजो फोन गरेको थिएँ भन्दै आफ्नो परिचय दिन्छिन् । निज युवती गैर आवासीय नेपाली नागरिक संघको उच्च पदाधिकारी रहेको बताउँदै परिचय दिइन्। निकै हतार भएको, पर्सि नै विदेश फर्किनुपर्ने, जसरी पनि नेपाली नागरिकता त्यागेर गैर आवासीय नागरिकता लिनुपर्ने भनेर उनले भनिन् । 

प्रमुख जिल्ला अधिकारीले त्यसको लागि नेपाली नागरिकता ऐन २०६३ को अनुसूची- ९ र अनुसुची- ८ लगायत कागजात वार्ड अध्यक्षको सिफारिससहित ल्याउनु पर्ने भनी बताए । ती युवतीले सिफारिसका लागि वार्ड अध्यक्ष र वार्ड सचिव पनि साथमै जिल्ला प्रशासन कार्यालय आईसकेको बताइन्। 

'के-के गर्नु पर्ने हो, आज जसरी पनि मैले नागरिकता लिएर पर्सि विदेश जानुपर्नेछ' उनी भन्छिन् । 

०००

यति कुरा सुनिसके पछि मेरो मनमा एउटा प्रश्न उव्जियो– देश उही, कानून उही, सार्वभौम नागरिकको मतबाट निर्वाचित जनप्रतिनिधि उही । एकातिर नेपाली नागरिकसँग विवाह गरी यही माटोसँग पौठेजोरी गर्दागर्दै आफ्नो समग्र जीवन र उर्जावान् समय बितेको पत्तै नपाउने ती वृद्व महिलालाइ किन सिफारिस दिन आनाकानी गरेको होला ? अर्कोतिर नेपाली माटोमा हुर्केर बढेर शिक्षा लिएर विदेशिई विदेशी भूमिमा आफ्नो ज्ञान सीप र श्रम साटेर भौतिक सुख-सुविधाले समपन्न हुँदै नेपालको नागरिकता त्याग्ने युवतीका लागि नागरिकता त्यागी गैर आवासीय नागरिकता लिनको लागि सिफारिस गर्न जनप्रतिनिधि नै लामो यात्रा तय गरी किन जिल्ला प्रशासन कार्यालयमै किन पुगे होलान् ? 

साँच्चै त्यतिवेला नेपाली उखान- छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी भन्ने उखान सम्झिएँ मैले । जोसँग धन-सम्पत्ति, पद, शक्ति छ उसको लागि पो जनप्रतिनिधि र कर्मचारी सिफारिस दिन जिल्लामै पुग्छन्। ती बिचरी वृद्वा आमासँग के नै छ र ? एकछाक मिठो-मसिनो खान चाडबाँड कुर्नु पर्ने अवस्था छ। न धन छ, न पद छ, न कुनै चिनेजानेको मान्छे ठाउँमा छ। त्यही भएर होला आफ्नो जीवन डाँडापारिको जुनझैँ अस्ताउन लाग्दा पनि ती महिलाले एक थान नागरिकता पाउन नसकेको । 

यी त प्रतिनिधिमूलक उदाहरण मात्र हुन्। आजको दिनमा हामीले समृद्वि र सुशासनका ठुला ठूला गफ लगाइरहँदा नगारिकताको महत्त्व नै थाहा नपाउने ती भुइँमान्छेहरुले कहिले सहज रुपमा एक थान नागरिकता प्राप्त गर्छन् होला ? यही प्रश्न बारम्बार मेरो मनमा खेलिरह्यो।

(लेखक नेपाल सरकारका शाखा अधिकृत हुन्)

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update