
काठमाडौं । मानव तस्करीका ठूला–ठूला सेटिङमा उच्च तहका राजनीतिक संलग्नता हुने गरेका आरोप छ्यापछ्याप लागिरहेका छन् । तर, यसको पुष्टी हुनै सक्दैन् । अध्यागमनमा हुने सेटिङबारेका खबरहरु यत्रतत्र हुँदा समेत आरोप लागेकाहरुको मनोबल नै उच्च हुनुले अनुसन्धान प्रक्रिया निष्पक्ष होला त ? शंका र चासो बढेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश जान दलालहरुले विभिन्न नामका कोड स्थापना गरि निश्चित रकम लिएपछि बोर्डिङ पास गराउने कुरा पहिलेदेखि नै चल्दै आएका थिए । दलाल, अध्यागमन कर्मचारी, प्रहरीदेखि मन्त्रालयसमेत यसमा संलग्न हुने गरेका आरोपको फेरि पटाक्षेप भएको छ ।
अख्तियारले छोटो समय नियन्त्रणमा लिएका तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराईबाट धेरै कुरा खुल्ने सम्भावना छ । तर, के अनुसन्धान गर्ने निकायले यसमा निष्पक्षता र दबाबरहित ढंगले कार्यसम्पादन गर्ला ? शंका उत्तिकै देखिन्छ ।
गृहमन्त्रीमाथि ठूलो दबाब र नैतिक संकट
गृहमन्त्री रमेश लेखक कांग्रेस–एमाले सत्ताका सुत्रधार नै हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्रका रुपमा रहेका लेखक गम्भीर आरोपमा मुछिने गरेपनि उन्मुक्ति पाउनेमा पर्छन् । कार्यदक्षतामा कमजोर देखिएका मन्त्री लेखक सार्वजनिक अभिव्यक्तिदेखि व्यवहारमा समेत फस्दै आएका छन् ।
काठमाडौंमै आएको बाढीबाट उद्दारको विषयमा बोल्दा होस वा मधेसमा भएको घटनामा नै किन नहोस, उनले शक्तिको दुरुपयोग गरेको आरोप छ्यापछ्याप लागिरहेको थियो । तर, पछिल्लो समय मानव तस्करीलाई सघाएको र त्यसबाट आर्थिक लाभ लिएको आरोप व्यापक बनिरहेको छ । यसरी गम्भीर आरोप लागिसकेपछि गृहमन्त्रीमाथि ठूलो दबाब भने सिर्जना भएको छ ।
गृहमन्त्रीले नैतिकताको आधारमा यस्तो आरोप लागिसकेपछि मार्गप्रशस्त गर्नुपर्नेमा के उनले राजीनामा देलान् ? अनुसन्धानका लागि बाटो खुला गरिदेलान् ? प्रश्न र शंका भने चलिरहेका छन् ।
सचिवालयमै विवादमा फसेकाहरुको जमात
गृहमन्त्री लेखकले पहिले नै अनेक विवाद र आरोपमा डामिएकाहरुलाई सचिवालयमा राखेर अध्यागमन धन्धा चलाएको आरोप लागिरहेको छ । लेखकको निजी सचिवालयमा रहेका शाखा अधिकृतद्वय विमल पौडेल र गणेशदत्त ओझाले गृहबाट शीर्ष तहका कर्मचारीको सरुवा बढुवामै चलखेल गर्ने गरेको बताइन्छ ।
पौडेलविरुद्ध यसअघि पनि मानव वेचविखनको आरोप लागिसकेको थियो भने ओझा कैलालीको मोहन्याल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहँदा ५४ लाख राजस्व छुट दिएको मुद्दामा मुछिएका थिए ।
उनीहरु अहिले गृहमन्त्री लेखकको तर्फका हर्ताकर्ता रहेको बताइन्छ । अख्तियारको नियन्त्रणपछि छुटेका भट्टराई र गृहमन्त्री लेखकका स्वकीय सचिव जनक भट्टको अस्वभाविक कनेक्सन देखिएको दाबी गरिएको छ ।
योसंगै, लेखककै स्वकीय सचिव रहेका उपसचिव बद्रि तिवारीको समेत हालीमुहाली चल्ने गरेको आरोप लागिरहेको छ । तिवारी समेत अख्तियारको फन्दामा परिसकेका कर्मचारी हुन् ।
अध्यागमन प्रकरणपछि कर्मचारीको सरुवा
भिजिट भिसा प्रकरणपछि गृहमन्त्रालयले अध्यागमन कार्यालयका ९ कर्मचारीलाई तत्काल सरुवा गरेको छ। अख्तियारले भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएपछि गृहले सक्रियता देखाएको बताइन्छ ।
त्यसपछि अध्यागमनमा रहेका कर्मचारीहरुको सरुवा रातारात भएको बताइन्छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालस्तरीय निर्णयबाट तीन नायब सुब्बा, ४ कम्प्युटर अपरेटर र एक सहायक कम्प्युटर अपरेटरको सरुवा भएको हो ।
जसमा तीन नायब सुब्बामध्य प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।
यस्तै, कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत सरुवा गरिएको छ । भने सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको पनि कारागार व्यवस्थापन विभाग वा अन्तर्गत नै सरुवा गरिएको देखिन्छ ।
पूर्वगृहमन्त्री नारायणकाजी पनि डामिए
पुर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि अध्यागमनको सेटिङ जालो भत्काउन खोज्दा प्रहरी अधिकारीको सरुवा गरिदिएको आरोप लागेको छ । श्रेष्ठ गृहमन्त्री हुँदा स्वच्छ छवि बनाएको र निष्पक्ष अनुसन्धान गरेको दाबीसहित बाहिरिएका थिए ।
उनले नक्कली भुटानी शरणार्थीदेखि विभिन्न प्रकरणमा ठूला अपरेशन समेत चलाएका थिए । तर, अध्यागमनको सेटिङ जालो भने भत्काउन खोज्ने प्रहरी अधिकारीलाई नै सरुवा गरिदिएको आरोप लागेको हो । पूर्वप्रहरी डीएसपी गोविन्द पन्थीले सेटङिको जालो भत्काउन खोज्दा सरुवा गरिएको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा लामो सन्देश पोस्ट गरेका पन्थीले भनेका छन्, ’धेरै दलाल र ठुला तस्करीमा संलग्न दुबई र भारत गएर बस्नु प¥यो ।
त्यस्तो स्थिति सिर्जना गरिदिए पछि मेरो सरुवा गराउन ठूलो थैली को जोहो गरेर बुझाएको हल्ला चल्यो । नभन्दै मेरो सरुवा भयो । सरुवा कसरी भयो र किन कार्यालय प्रमुखले भन्दा पनि रोकिएन भनी गोप्य तरिकाले बुझ्दा २,३ दिन अगाडि हटेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले टिपाएको र तत्कालीन आइजीपी वसन्त कुवरको जोडबल मै भएको बुझिए पछि एसएसपी सोमेन्द्र सर (सोमेन्द्र सिंह राठौर) ले रोक्न हालका आइजीपी तत्कालीन मेट्रो प्रमुख दिपक थापा सरलाई भन्दा समेत माथिको आदेश भनियो जस्का कारण सरुवा रोकिएन ।’
यस्तो आरोप लागेपनि यसको खण्डन वा सार्वजनिक रुपमापुष्टी हुने आधार भने देखिएका छैनन् । तर, अख्तियारले अनुसन्धान गरिरहेकाले यसबारे थप प्रष्ट हुने अपेक्षा भने गरिएको छ ।