-1756131741.jpg)
काठमाडौँ । नेकपा माओवादी केन्द्रले विचार मिल्ने दलहरुसँगको ध्रुविकरणको प्रयासलाई जारी राखेको छ । तत्कालीन नेकपा विघटनपछि नै माओवादी केन्द्रले एमाले बाहेकको कम्युनिष्ट पार्टीहरुसँगको एकताका लागि पहल गरिरहेको छ । तर माओवादी नेसपाको गंगानारायण श्रेष्ठ समूहबाहेक अन्य कुनै दलसँग एकता गर्न सफल भएको छैन । यद्यपि माओवादीले नेकपा एस तथा विप्लव नेतृत्वको नेकपासँग एकताका लागि भने प्रयास जारी नै राखेको छ । माओवादीले गत साउन १९ गते सम्पन्न स्थायी कमिटि बैठकबाटै आधिकारिक रुपमा नेकपा र नेकपा एससँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
तर माओवादीको यो निर्णय लगत्तै नेकपा एस तथा विप्लव नेतृत्वकै नेकपाले पनि तत्काल माओवादीसँग एकता सम्भव नरहेको प्रतिकृया दिएका थिए । माओवादीको निर्णयपछि नेकपाले बाहिर चर्चा भएजस्तो एकता प्रक्रिया नटुङ्गिएको भन्दै हल्लाका भरमा एकता सम्भव नभएको सन्देश पठायो । बरु नेकपा आँफैले माओवादी धारलाई समेटेर नेतृत्वका लागि पहलकदमी लिने अडान लिँदै आएको छ । माओवादीले एकताको कारण र आधार स्पष्ट पार्न नसक्नु नै हालको समस्य भएको नेकपाको आरोप छ । नेकपा लगायतका दलहरुको यस्तै आरोपले पनि कम्युनिष्ट धारहरुसँगको एकता गर्ने माओवादीको प्रयास निरर्थक भइरहेको व्याख्या भइरहेको छ ।
प्रचण्डको त्यो विफल प्रयास !
नेकपाले गतवर्ष नै माओवादीसँग एकता गर्ने मनशाय बनाएको थियो । एकताका लागि माओवादी अध्यक्ष प्रचण्ड नै विप्लवसँग बारम्बार छलफलमा जुटेका थिए । प्रचण्ड प्रधानमन्त्री रहेका बेलासमेत विप्लवले एकताका लागि बारम्बार छलफल गरे । उक्त समय अध्यक्ष प्रचण्ड जनार्दन शर्मा र वर्षमान पुन खेमालाई साइजमा राख्न पनि विप्लवलाई भित्र्याउन चाहन्थे । तर अन्तिममा विप्लवको आगमनलाई जनार्दन–वर्षमान समूहले नै नरुचाएपछि प्रचण्ड नेकपा एकताबाट आँफै व्याक भएका थिए । यही विन्दूबाट विप्लव प्रचण्डसँगको एकताबाट टाढिँदै आएका छन् । हुनतः प्रचण्ड प्रधानमन्त्री हुँदा नै समाजवादी मोर्चा खडा गरिएको थियो । जहाँ विप्लव समूहको नेकपा पनि अटेको छ । तर यो मोर्चालाई सत्तामा रहँदा प्रचण्डले आफ्नो शक्ति प्रदर्शन गर्नकै लागि मात्रै खडा गरिएको भनेर टिप्पणी पनि भइरहेका छन् । यस्तैमा विप्लवले पनि आफू प्रचण्डबाट प्रयोग मात्रै भइरहेको भान गरिरहेका छन् । यसकारण पनि प्रचण्डसँग विप्लव टाढिरहेको व्याख्या भइरहेको छ ।
किन बाध्य भए प्रचण्ड ?
माओवादी–नेकपा एकताको चर्चाबीच एकता असफल भइरहेका बेला प्रचण्ड भने विप्लव निवासमै पुगेका छन् । सोमबार प्रचण्ड आँफै विप्लव भेट्नलाई उनकै निवास ललितपुरस्थित हरिसिद्धि पुगेका छन् । हाल समाजावादी मोर्चाको नेतृत्व विप्लवले नै सम्हालिरहेका कारण पनि प्रचण्ड विप्लव भेट्न हरिसिद्धि पुगेको माओवादी नेताहरुले दावी गरिरहेका छन् । तर पनि माओवादीको एकताका लागि आधिकारिक निर्णय, पार्टीमा आन्तरिक संघर्ष र विप्लवको एकतामा अरुचीकाबीच भएको प्रचण्ड–विप्लव भेटवार्तालाई विभिन्न कोणबाट व्याख्या गरिन थालेको छ ।
माओवादीमा अध्यक्ष प्रचण्ड र जनार्दनबीचको टसल पनि उत्कर्षमा छ । दुई नेताबीच लामो समयदेखि सार्वजनिक मञ्चबाटै दोहोरी चलिरहेको छ । यस्तैमा पछिल्लो पटक जनार्दनदले प्रचण्डमाथि नेतृत्व छाडेमा पृथ्वी नै ध्वस्त नहुने भन्दै कडा व्याङ्ग्य गरिरहेका छन् । अर्कोतर्फ प्रचण्डले पनि जनार्दनलाई पार्टी छाडेर जानसम्म भनेको बताइन्छ । यहीबीच भएको प्रचण्ड–विप्लव भेटलाई जनार्दनमाथि प्रचण्डको ‘विप्लव अस्त्र’ भनेर पनि व्याख्या भइरहेका छन् । प्रचण्ड विप्लव भेटपछि पार्टी एकता र माओवादीको अन्तरिक संघर्ष अब कतातिर मोडिएला ? भन्ने प्रश्न पनि उब्जिएको छ ।