
काठमाडौं । परीक्षाको अन्तिम घण्टी बजिसकेको छ । किताबका पानाहरु सकिइसकेका छन्, तर यात्रा भने बल्ल सुरु भएको छ । एसईई परीक्षा सकिएसँगै नतिजाको पर्खाइमा बसिरहेका लाखौं विद्यार्थीहरू अर्कोतहको शैक्षिक फड्को मार्न तम्तयार भएर बसेका छन् । उच्च माध्यमिक शिक्षामा पाइला राख्न विद्यार्थीहरुसँग अनेक प्रश्नसँगै कैयौँ विकल्पहरु तयारी अवस्थामा छन् । अब मात्रै खाँचो छ त विद्यार्थी र अभिभावकको सुझबुझपूर्ण निर्णय र चिन्तनको ।
शिक्षा, परीक्षा र परिणामको दौडधूपले महिनौं थकित बनाएका हजारौं एसईई परीक्षार्थीहरू नतिजा नआउँदासम्म अहिले फुर्सदिलो बनेका छन् । उनीहरुलाई न बिहानको स्कूलको हतार, न किताबको चाप, तर मनमा गुन्जिरहेको एउटै प्रश्न ‘अब के गर्ने ?’ एसईई अर्थात् विद्यालय जीवनको एउटा अध्यायको समापन गरेका उनीहरुको अर्को अध्याय यहीबाट सुरु हुँदैछ । आफूलाई चिन्ने, बुझ्ने र जीवनलाई सहि दिशा दिन आफ्नो रुची र अनुकुल शिक्षा लिने ।
विज्ञान हो कि वाणिज्य ? समाजशास्त्र कि प्राविधिक शिक्षा ?
आजको युगमा विकल्पहरूको कुनै कमी छैन । विज्ञान, वाणिज्य, मानविकीदेखि कृषि, पर्यटन, सूचना प्रविधि र प्राविधिक शिक्षासम्म सबै क्षेत्र विद्यार्थीका लािग खुल्ला छन् । तर चुनौती भनेकै आफ्नो रुचि र क्षमता अनुसार सही निर्णय लिनु हो । सामाजिक दबाब वा ‘धेरैले त्यो विषय पढेका छन्, म पनि’ भन्ने मानसिकता त्यागेर विद्यार्थीले आफ्नो रुचीको उच्च शिक्षा छनोट गर्नु खास आफैलाई चिन्नु हो ।
पढ्दै काम गर्ने अभ्यासः डिजिटल युगको माग
अबको युगमा केवल कागजी डिग्री पर्याप्त छैन । सीप र अनुभव अनिवार्य छ । कतिपय विद्यार्थीहरू स्कुलपछिको समयमा अनलाइन कोर्स, इन्टर्नशिप वा प्रोजेक्टमार्फत् आफूलाई अपडेट गरिरहेका छन् । काम गर्दै पढ्ने, पढ्दै काम गर्ने अभ्यास नै अबको प्रतिस्पर्धात्मक संसारमा सफलताको सूत्र हो ।
सिकेर मात्रै होइन, अरुलाई सिकाउने संस्कार
सिकाइ केवल एकतर्फी प्रक्रिया होइन । जब विद्यार्थीले अरूलाई सिकाउँछ तब आफैंमा पनि ज्ञानको गहिराइ थपिन्छ । यसले नेतृत्व क्षमताको विकास गर्छ । अहिलेका युवाहरूमा ‘नलेज शेयरिङ’ को बानी विकास गर्नुपर्ने छ ।
शिक्षाः परिवार, समाज र देशप्रतिको उत्तरदायित्व
शिक्षाको उद्देश्य केवल अंकमा नभई आचरणमा देखिनुपर्छ । एक शिक्षित विद्यार्थीले परिवारको माया बुझ्छ, समाजको समस्या महसुस गर्छ र समाधानमा भूमिका खेल्छ । शिक्षाले सिर्जना गर्ने नागरिक आत्मनिर्भर मात्र होइन जिम्मेवार पनि हुनुपर्छ ।
शिक्षा अब किताबी ज्ञानको घेरा तोडेर जीवनमूल्य, सीप र व्यवहारमा रूपान्तरित हुनुपर्छ । एसईई परीक्षा सकिएपछि सिकाईको यात्रा झन झन गहिरिदै जान्छ । अबको समय सीप विकास गर्ने र समाजप्रति उत्तरदायी बन्ने यात्राको आरम्भ मात्र हो ।
गलत निर्णयले वर्षहरु पछाडि धकेल्न सक्छ भने सही सोचले भविष्य उज्यालो बनाउन सक्छ । त्यसैले यो दोबाटोमा हिड्ने बाटो रुचि, क्षमता र लक्ष्यको त्रिकोणमा आधारित हुनुपर्छ, न कि सामाजिक दबाब वा भीडको पछाडि लागेर ।