
काठमाडौं । ललितपुर महानगरपालिकाले विद्यालय शिक्षालाई स्थानीय सम्पदा संरक्षण, हरित जीवनशैली र सामुदायिक सहभागितासँग जोड्दै ‘शैक्षिक उन्नयन वर्ष–२०८२’ घोषणा गरेको छ ।
आगामी वर्षदेखि लागू हुने ‘एक विद्यालय, एक सम्पदा संरक्षण’ कार्यक्रमसहितका नवीन योजनाले शिक्षालाई केवल किताव केन्द्रित ज्ञानमा सीमित नराखी व्यवहारिक, मूल्यपरक र सहभागी बनाउने अठोट गरेको बताएको छ ।
शिक्षा क्षेत्रमा नवीन प्रयोग गर्दै ललितपुर महानगरपालिकाले आगामी शैक्षिक सत्रलाई ‘शैक्षिक उन्नयन वर्ष’को रूपमा घोषणा गरेको छ । सातौँ नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले नेपालको विद्यालय शिक्षामा नवीन सोच र दीर्घकालीन दृष्टिकोणसहित अघि बढ्ने बताएको छ । जसमा सम्पदा संरक्षण, हरित विद्यालय र अभिभावक सहभागिता जस्ता बहुआयामिक योजनाहरू समावेश छन् ।
– महानगरले पाँच वटा शिशु स्याहार केन्द्रहरूलाई नमुनाका रूपमा सञ्चालन गर्ने
– बालविकास केन्द्र तथा शिशु स्याहार केन्द्रहरूलाई आवश्यक सामग्री व्यवस्थापनका लागि अनुदान दिने
– सम्पदा संरक्षणमा सक्रिय भूमिका खेलेका विद्यालयलाई विशेष पुरस्कार प्रदान गरिने
– विद्यालयहरूमा सञ्चालन भइरहेको ‘हरित विद्यालय तथा विद्यालय बगैंचा’ कार्यक्रमलाई निरन्तरता दिइने
– उक्त कार्यक्रमलाई प्रतिस्पर्धात्मक बनाइ उत्कृष्ट तीन विद्यालयलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने
– प्रत्येक शुक्रबार विद्यालयहरूमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप तथा सहक्रियाकलाप हरूलाई योजनाबद्ध रुपमा अगाडि बढाइने
‘अभिभावक शिक्षा कार्यक्रम’लाई अब अभियानका रूपमा सञ्चालन गरिने निर्णय ललितपुर महानगरको शिक्षाप्रतिको समग्र दृष्टिकोणको परिचायक हो । बालबालिकाको सिकाइमा परिवारको भूमिकालाई नीति तहबाट सम्बोधन गर्नु दुर्लभ उदाहरण समेत हो ।
नेपालको शिक्षा क्षेत्रमा प्रायः अनुदान–निर्भर, शहरी–केन्द्रित वा परीक्षा–केन्द्रित प्रवृत्ति हावी हुँदै आएको आरोप लाग्ने गरेको छ । तर ललितपुर महानगरको नीति संयोजनले मूल्य, संरचना र अभ्यासबीचको समन्वय गरेर शिक्षालाई जीवनमूल्य, संस्कार र वातावरणीय चेतनासँग जोड्ने पहल थालेको छ ।