
काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका वडा नं २ मा सिसीटिभी क्यामरा जडानका क्रममा आर्थिक अनियमितता भएको भेटिएको छ । आर्थिक वर्ष २०७९\०८० मा विद्यालयमा सीसीटीभी क्यामराका लागि ५ लाख रुपैया बजेट विनियोजना भएकोमा केही विद्यालयमा मात्रै जडान गरी बजेट अपचलन भएको हो ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं २मा सिसिटिभी क्यामरा जडान कार्यक्रमको बजेटमा अनियमिता भएको भेटिएको छ । तीन आर्थिक वर्षअघि २०७९\०८० मा उक्त वडामा सिसिटिभी क्यामरा जडान कार्यक्रमको लागि ५ लाख रूपैयाँ बजेट विनियोजन गरिएको थियो । जसअन्तर्गत वडाको जेसिज प्राथमिक विद्यालय पौवाँ, वुद्धेश्वरी आधारभूत विद्यालय हरिरवा र आदर्श सरस्वती प्रावि लौवापार क्यामरा जडान गरियो ।
तीन वटा विद्यालयमा हाल ४ वटा मात्रै क्यामरा छ । जेसिज प्राथमिक विद्यालय पौवाँमा एक थान र वुद्धेश्वरी आधारभूत विद्यालय हरिरवामा तीन थान क्यामरा देखिन्छ ।
स्थानीयका अनुसार, वुद्धेश्वरी आधारभूत विद्यालय हरिरवामा त्यतिबेला चार वटा क्यामरा जडान गरिएको थियो । तर विद्यालयमा प्राधानाध्यापकको विषयमा विवाद भइरहेको बेला ती क्यामरा पनि चोरी भएको स्थानीयको भनाई छ ।
पालिकाले २५ थान क्यामरा खरिद गरेको भन्दै ४ लाख ८३ हजार ४ सय ३९ रुपैयाँ भुक्तानी गरे पनि कुल ९ थान मात्रै क्यामरा रहेको स्थानीयको दाबी छ ।
आर्थिक वर्ष २०७९\०८० मै काम भएको उक्त योजनाको भुक्तानी पालिकाले गत आर्थिक वर्ष २०८०\०८१को असार १४ गते गरेको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ ।
उक्त प्रति क्यामरा १९ हजार ३ सय ३४ रुपैयाँमा खरिद भएको उक्त क्यामराको प्राविधिक र गुणस्तर परीक्षण समेत नभएको भन्दै महालेखाको प्रश्न उठाएको थियो । उक्त कामको पालिकाले भुक्तानी नदिएको स्थानीय जनप्रतिनिधिले बताए पनि प्रमुख प्रशासकीय अधिकृतले भने गत वर्ष नै भुक्तानी भइसकेको बताएका छन् ।
सुचना लुकाउन तथा वडाबासीको ध्यान वास्तविकताबाट हटाउन अघिल्लो आर्थिक वर्षको भुक्तानी गत वर्षको अन्तमा लिएको हुन सक्ने आशंका स्थानीयको छ ।