News 24 Television
न्यायपालिका र न्यायाधीशको खस्किँदो साख : अबको बाटो के ?

न्यायपालिका न्यायको त्यो मन्दिर हो, जहाँ न्यायले जीवन पाउछ, पुनःजीवन पाउछ । अर्थात, न्याय मरे त्यो मरेको न्यायलाई न्यायालयबाहेक संसारको कुनैपनि संजीवनीले पुनःजिवित गर्न सक्दैन । समग्रमा सरल रुपमा भन्दा न्यायको मृत्यु जोगाउने अन्तिममा न्यायपालिकाले नै हो । आमभाषामा भन्दा यही न्याय जोगाउने पदलाई नै न्यायाधीश भनिन्छ । यहि कारण पनि कानूनी सर्वोच्चतामा न्यायाधीशभन्दा माथिल्लो दर्जाको सम्मानित,आदर्श र उच्च मर्यादाको अर्को कुनै पद नै छैन र हुँदैन ।

न्यायाधीशप्रतिको दृष्टिकोण आ–अफ्नो हुनसक्छ, तर मेरो निजी भावनात्मक दृष्टिकोणमा न्यायाधीश पद माथिको आस्था र विश्वास हाम्रा आरध्य देव पशुपतिनाथको भन्दा माथिल्लो दर्जामा राखेर हेर्छु । किनकि हामि पशुपतिनाथको आरध्यता पत्थरको मूर्तिभित्र खोजी रहेका हुन्छौं, तर न्यायाधीशको आरध्यता एउटा जिवित आत्माको पीडा,चोट, अन्यायमाथि मलम लगाउने आधारको रुपमा चिन्छौं ।

त्यसो हुँदा सत्य र न्याय पत्थरमा होइन, जिवित आत्माको पीडाको सम्बोधन गर्ने शक्तिमा भगवान खोज्नु नै तथ्यपरक र विवेकपूर्ण अनि तार्किक  हुन्छ । तर त्यो उच्च आदर्श र गरिमाको पदमाथि नै आमनागरिकको बढ्दो अविश्वासको संकटले हृदयमा पीडा हुन्छ । किन यो उच्चसाख र गरिमाको पदमा पनि अविश्वासको संकट बढ्दैछ मनन् गर्नु हाम्रो जिम्मेवारी र कर्तव्य होईन र ?

किन घट्दैछ न्याय प्रणालीप्रतिको विश्वास ?

यसको पहिलो तत्व भनेको हाम्रो त्यो सोच र मानसिकता हो, जुन सोच भित्र हामि न्यायाधीश बनाइदिएर वा कसैले नियुक्ति गरिदिएर न्यायाधीश हुन्छौं भन्ने । यो भ्रमले नै दिनप्रतिदिन सिंगो न्यायपालिका र न्यायाधीश पदको साख घट्दो आस्थाको मुख्य कारण हो ।

न्यायाधीश बनाइदिएर वा बन्न खोजेर हुने पद होईन । हाम्रो कानूनी प्रावधानमा कसैले कसैलाई  न्यायाधीश बनाइएर बनिने व्यवस्था छ, तर त्यसको न्यायिक मर्म बनाइदिएर वा बनाइदिएपछि स्वत न्यायाधीशको गुणयुक्त हुने होइन । न्यायाधीश बनाइएपश्चात न्यायाधीशले आफुभित्र केहि थप न्यायिक गुणसहितको न्यायिक मन विस्तार गर्नु पर्ने हुन्छ । 

यदि न्यायाधीश नियुक्त गरिदिए पछि ति न्यायिक गुणसहितको न्यायिक मन भएन भने सोही कारणले सिंगो न्यायपालिकाको साख, गरिमासँगै न्यायाधीश पदको उच्च मर्यादा, आस्था, सम्मानमा समेत नकारात्मक ठेस पुग्न जान्छ । परिणामस्वरूप साख र गरिमाको संरक्षण गर्नुपर्ने ठाँउमा दिनप्रतिदिन साख र गरिमा घट्ने क्रममा हुन्छ ।

न्यायाधीशको पद एकमात्र त्यो पद हो, जुन पदबाट बसेर आफ्ना नजिकका र स्वार्थ जोडिएका व्यक्तिहरुको हकमा मुद्दा हेर्न मिल्दैन । अर्थात, यो पदमा बसेर सम्पादन गरिने कार्यसँग कुनै निजी स्वार्थ भावना, अपेक्षाले ठाउँ पाउदैन, तर जब यो पदमा बसेर पनि स्वार्थकेन्द्रित भावना जोडिएको कार्य गरेको अनुभुति हुन्छ त्यतिबेला न्याय मात्र मर्दैन, सिंगो न्यायपालिका र न्यायाधीश पदको गरिमा माथि नै विश्वासको संकट पैदा गर्छ । 

न्यायालयमै हतासा, निराशा र ग्लानि

म आफै एउटा कानून व्यवसायी भएको हुँदा मैले धेरै मुद्दामा इजलासमा उभिएर बहस पैरवी गर्दा आफैँमा आत्मग्लानि बोध गरिसकेको छु । कहिलेकाहीँ इजलासबाट न्याय खोज्न न्यायपालिकामा प्रवेश गर्ने पक्षलाई मात्र होइन, ती पक्षहरूको प्रतिनिधित्व गर्ने वकिललाई समेत बोल्न नदिने, बोल्नुपहिले नै हतास बनाइदिने, मुद्दाका निर्णायक प्रमाण, तथ्य, नजिर र सिद्धान्तहरुको प्रस्तुतिकरणमा रोक लागाउने, हप्काउनेसम्मको कार्य हुन्छ । त्यसबेला ती वकिल र ती मुद्दाका पक्षहरूलाई न्याय, न्यायपालिका र न्यायाधीशमाथि कस्तो मानसिकता र सोच विकसित गराउँछ होला, सोच्नु पर्ला पर्ने होइन र ? के यी तत्वहरु पनि सिंगो न्यायाधीश पदमाथि आस्था, विश्वास, मर्यादा, आदर, सम्मानलाई घटाउने तत्व होइनन् ? 

न्यायपालिकाबाट हुने मुद्दाको स्वच्छ र निष्पक्ष सुनुवाईको आधारभुत मापदण्ड  मुद्दामा बहस गर्ने वकिल र न्यायाधीशको अनुहार र व्यवहारले हुने त होईन नि । त्यो त मुद्दासँग सम्बन्धि तथ्य, प्रमाण, प्रतिपादित सिद्धान्त, नजिर विधायीकाले निर्माण गरेका कानूनी प्रावधान भित्र हेरेर न्यायपालिकाबाट माननीय न्यायधीशबाट आउने निर्णय हो होइन र ?

तर, आज न्यायिक प्रतिरक्षा गर्न न्यायपालिकामा प्रवेश गर्दा प्रत्येक दिन विहान जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्म हामीले बहस पैरवी गर्ने मुद्दामा मुद्दाको तथ्य, प्रमाण, प्रतिपादित सिद्धान्त, नजिर, कानूनी दफाभन्दा पनि त्यो दिनको मुद्दाको पेशी कुन इजलासमा पर्यो ? भन्ने विषयमा बढी कौतुहल भएर प्रतिक्षा गर्ने मात्र होइन, लगभग न्याय कति पर्छ भन्नेमा एउटा पेशी सूचिबाटै एउटा धारणामा पुगिसकेका हुन्छौं किन ? यो स्वच्छ र निष्पक्ष न्यायको पूर्वाधार हो ? यो पनि न्यायिक आस्था, न्यायपालिकाको साख र न्यायाधीश पदको गरिमा माथिको घट्दो साख र आस्थाको कारक तत्त्व होईन र ?

कहिलेसम्म मौनता साध्ने ?

यदि हामीमा चलखेल गरेर मुद्दाको निर्णयमा चलखेल र विचलन ल्याउने कुनै उद्देश्य र मनसाय छैन र हामी सिंगो न्यायपालिकाको साख, गरिमासँगै न्यायाधीश पदको उच्च मर्यादा, गरिमा, साख सदैव उच्च कायम राख्ने उद्देश्यले न्यायिक प्रतिरक्षा गर्न न्यायालय धाउने वकिल हौं भने कहिलेसम्म सत्य र वास्तविकताको घाँटी रेटेर मौनता साँधेर न्यायको वास्तविक मर्म माथिको प्रहार र न्यायाधीश पदसँगै न्यायपालिकाको साख र गरिमा माथि आमनागरिकको घट्दो मनोबललाई मौनता साधेर हेर्ने ?

सत्य बोल्दा असत्य रिसाउँछ कि, मप्रति पूर्वाग्रह हुन्छन् कि ? मेरो मुद्दा विगार्ने हुन् कि ? मेरो पेशा धरापमा पर्ने हो कि ? भनेर कहिलेसम्म सिंगो न्यायपालिका र न्यायाधीश पदको साख र गरिमा झरेको मूकदर्शक भएर बस्ने ? कानूनले सुनिश्चितता गरेको दायराभित्र रहेर कसैको आँसु पुछ्ने प्रतिबद्धतामा सजित वकालत पेशा अँगालेर त्यो आँसु पुछ्न, पेशाको मर्यादा अघि बढाउन यदि हामी प्रतिबद्ध छौँ भने हाम्रो प्रतिबद्धताको असफलताले हाम्रो हृदयमा कतै पनि घात गर्दैन र ? के नागरिक सर्वोच्चता भएको यस मुलुकमा नागरिक न्यायको पूर्ण प्रत्याभूति न्यायालय र न्यायिक अंगले गराउनु पर्दैन र ? 

(लेखक सुशिल शर्मा सापकोटा अधिवक्ता एवम् न्यायिक शुद्धीकरण अभियन्ता हुन् ।)

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  २०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update