काठमाडौँ । दक्षिण एसियाकै प्रतिष्ठित अन्तर्राष्ट्रिय साहित्यिक जमघटमध्येको एक ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ को आगामी संस्करण औपचारिक रूपमा घोषणा गरिएको छ। एनसेल फाउन्डेसनको मुख्य सहकार्यमा आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौँमा संचालन हुने यस आठदिने अन्तर्राष्ट्रिय महोत्सव नेपाली साहित्यका नक्षत्र गुरुप्रसाद मैनालीको दीर्घकालीन योगदानप्रति समर्पित रहने आयोजकले जेठ १० गते प्रेस विज्ञप्ति र पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।
तीव्र परिवर्तनशील विश्वमा 'हिलिङ, चेतना, सिर्जनशीलता, स्मृति र सांस्कृतिक संवाद' को मूल विषयमा केन्द्रित रहने यस वर्षको महोत्सवमा पुलित्जर पुरस्कार विजेता कविहरू ट्रेसी के. स्मिथ र पल मल्डुन, प्रसिद्ध उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज, र विश्वप्रसिद्ध हिमाली कवि युयुत्सु शर्मासहित नेपाल, भारत, आयरल्यान्ड, पोल्यान्ड र अमेरिकाका प्रतिष्ठित कवि, अनुवादक, चलचित्रकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहनेछ। नेपाली साहित्यका तर्फबाट शैलेन्द्र साकार, नारायण ढकाल, उषा शेरचन र लक्ष्मी मालीलगायतका स्रष्टाहरूले अन्तर्राष्ट्रिय अतिथिहरूसँगै मञ्च साझा गर्नेछन्। पत्रकार सम्मेलनमा बोल्दै आयोजक युयुत्सु शर्माले साहित्यलाई मानव सभ्यतासँगै रहेको हिलिङको सबैभन्दा पुरानो माध्यमका रूपमा ब्याख्या गर्दै यसले नेपालको समृद्ध सांस्कृतिक सम्पदालाई विश्वमञ्चमा उजागर गर्ने बताउनुभयो।
महोत्सव अवधिभर मास्टर क्लास, कार्यशाला, कविता वाचन, र डिजिटल युगमा साहित्यको भविष्य तथा कृत्रिम बुद्धिमत्ता (एआई) र सिर्जनात्मक लेखनजस्ता समसामयिक विषयमा विविध सत्रहरू सञ्चालन गरिनेछन्। यसका साथै कवितामा आधारित अस्ट्रियन र आइरिस चलचित्रहरूको प्रदर्शनका साथै काठमाडौँ, पाटन, बौद्ध र नगरकोट जस्ता पुरातात्त्विक स्थलहरूको सांस्कृतिक भ्रमण समेत गराइनेछ। एनसेल फाउन्डेसनकी कर्पोरेट कम्युनिकेसन्स तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले साहित्य र स्टोरिटेलिङले सांस्कृतिक सम्पदाको संरक्षण र अर्थपूर्ण संवाद प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ स्थानीय र विश्वव्यापी सिर्जनशील आवाजहरूलाई जोड्ने यस मञ्चलाई सहयोग गर्न पाउँदा गर्व लागेको बताउनुभयो।
