News 24 Television
वालेन्द्रको अडानपछि रवि सक्रियः कमजोर महशुस गरिरहेको भारत नेपालमाथि के गर्नसक्छ ?

काठमाडौं । नेपाल भारतको सम्बन्ध पछिल्लो समय सुमधुर बन्न सकेको देखिन्न । दक्षिण एसियामा आफ्नो प्रभुत्व देखाउने होडबाजीबाट भारत विस्तारै पछि धकेलिन थालेको देखिन्छ। यस्तोमा भारतले नेपालमा आफ्नो सम्बन्धको विस्तारमा चासो देखाएपनि प्रगति उल्लेख्य हुन नसक्दा चर्चाहरु अनेक ढंगले अघि बढ्न थालेका छन्। 

डिप्लोमेसी, सार्वभौमसत्ता र सम्बन्धका आयामहरु परिपुरक हुन्छन्। तर, कहिलेकाँही यस्ता जटिलताहरु देखिन थाल्छन्, दरार सिर्जना हुन जान्छ। पछिल्लो समय नेपाल र भारतबीचको शक्ति संघर्ष र भारतको उपस्थितिलाई लिएर शंका, प्रश्न र प्रभावकारितामाथिका सवालहरु बढ्न थाल्छन्। 

नेपालको राजनीतिक परिवर्तनपछि शुभकामना सन्देशमा अघि सरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको महत्वलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्पत्तिको रुपमा ग्रहण गर्नै सकेन्। जसकारण नेपाल भारत सम्बन्ध तनावपूर्ण अवस्थामा पुगेको छ।

रविको भारत भ्रमण

प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणको औपचारिक निमन्त्रणमा प्राप्त गरे। मौरिससमा भएको नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका परराष्ट्रमनत्री शिशिर खनालले भारतीय समकक्षी एस. जयशंकरसंग भेटे। सैद्धान्तिक सहमति जुटेको भन्दै खनालले नै बालेन्द्रको भारत भ्रमणबारे चर्चा चलाए । तर, परिस्थिति फेरियो। बालेन्द्रको भ्रमण अनिश्चिततातर्फ धकेलिन पुग्यो। भारती विदेश सचिव मोदीको निमन्त्रणा लिएर नेपाल आउने कार्यक्रम तय भएपनि प्रधानमन्त्री वालेन्द्र शाहले प्रोटोकल नै बनाएर परराष्ट्रमन्त्रीभन्दा तलका कसैसंग पनि नभेट्ने अडान लिएपछि विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण नै स्थगित हुन पुग्यो। 

वालेन्द्रको यस्तो हठकाबीच रास्वपा सभापति रवि लामिछाने आफै भारत भ्रमणमा जान लागेका छन्। प्रधानमन्त्रीको भ्रमण चाँजो मिलाउन भारत जान लागेका रवि जुन १ मा जाने गरि तयारी तीब्र पारिएको छ। रविले मोदीको समय व्यवस्थापनका लागि समेत अग्रसरता बढाएका छन्। तर, यो भ्रमणले कस्तो प्रभाव पार्छ भन्ने विषय बने चासोमा नै देखिन्छ।

वालेन्द्र हठ कि वास्तविकता ?

वालेन्द्र शाहले प्रधानमन्त्री बनेपछि निर्माण गरेको प्रोटोकलबारे अनेक चर्चा भइरहेका छन्। विदेश सम्बन्धमा वालेन्द्रले नेपालको अन्तराष्ट्रिय हैसियत, देशहरुसंगको सम्बन्ध, नेपालको उपस्थिति र वास्तविकताका आधारमा व्यवहार गर्नुपर्ने आवाज बलियो देखिन्छ। तर, यसअघि नेताहरुलोे आफ्नो बेडरुमसम्म सामान्य कर्मचारीलाई पनि पहुँच दिदा चल्ने गरेको आलोचनाकै कारण वालेन्द्रले अडान लिन थालेका छन्। जसले नेपालको अन्तराष्ट्रिय छवी कसरी निर्माण गर्छ भन्ने चासो देखिन्छ। उसोतः वालेन्द्रको यस्तो हठलाई सार्वभौमिकता, स्वाधिनता र नेपालको पारस्परिक हितका दृष्टीले भने गलत भन्न सकिने स्थिति देखिन्न।

भारतलाई तनाव

भारत नेपालमा बन्ने नयाँ सरकारको पहिलो विदेश भ्रमण आफ्नो देशमा होस भन्ने चाहन्छ। यसको अपवाद बनेका पूर्वप्रधानमन्त्री केपी ओलीले प्रयास गर्दा समेत मौका प्राप्त गर्न सकेनन्। नेपालको नयाँ नक्सा जारीदेखि नेपालमा सरकार निर्माणदेखि भत्काउने काम दक्षिणले गर्ने गरेको भन्दै भारतप्रति चर्को आक्रोश पोखेकै कारण ओलीले भारत भ्रमण गर्नै नपाई सरकारबाट च्यूत हुन पुगे। यस्तो अवस्थामा भारतले नेपालको प्रधानमन्त्री जो बनेपनि पहिलो भ्रमण आफ्नो देशमा हुनुपर्छ भन्ने मान्यता राख्दा राख्दै पनि वालेन्द्रको भ्रमण पनि रोकिन पुगेको छ। यस्तो विषयले भारतलाई आघात पु¥याइरहेको विश्लेषण हुन थालेको छ। 

कतिपयले भारतले नेपालमा निर्यात हुने विभिन्न वस्तुमा अघोषित परिणाम घटाउने तयारी गरेको आरोप समेत लगाइरहेका छन्। पर्याप्त आपूर्ति हुन नसक्दा जनतामा सरकारप्रति हुने आक्रोश र त्यसको प्रतिक्रियाबाट समेत लाभ लिन सकिने ठानेको भारतीय संस्थापन पक्षले नयाँ चाल समेत चल्न सक्ने खतरा बढ्दो देखिन्छ।

दक्षिण एसियामा कमजोर बनेको हो भारत ?

भारत आफूलाई दक्षिण एसियाको जायन्ट राष्ट्र ठान्छ। तर, पछिल्लो समय भारत एक्लिदै गएको राष्ट्रको रुपमा देखिन थालेको छ। पाकिस्तानले आफ्नो शक्ति प्रदर्शन गर्दै इरान युद्धमा मध्यस्थता गरिरहेको छ। अमेरिका–रुस र चीनसंगको सम्बन्धमा विशेष आकार ग्रहण गर्दै गरेको देखिन्छ। यतिमात्रै नभई भारतले पाकिस्तानमा गरेको आक्रमणमा चिनियाँ इन्जिनियरहरुको सहयोगमा अत्याधुनिक लडाकु विमान राफेल समेत झार्न सफल भएको खवरले थप सनसनी फैलाइरहेको छ। 

यस्तो अवस्थामा बंगलादेशसंगको सम्बन्ध पनि भारतसंग राम्रो देखिन्न। तर, भारतले काउन्टर दिन अफगानस्थानको तालिवान सरकारलाई औपचारिक निमन्त्रणा दिएर पाकिस्तानलाई दिन खोजेको धक्काले नै भारत दक्षिण एसियाबाट कमजोर बन्दै गएको चर्चा बढ्न थालेको छ। यस्तो अवस्थामा  नेपाल पनि भारतीय छाताबाहिर पुग्ने खतराकाबीच सतर्कता र प्रधानमन्त्रीको भ्रमण गराउन भारतले मेहनत गर्ने बुझिएको छ। 

जुन कुरा नेपालले बुझेर विवादास्पद भूमिबारेको छलफल र भारतलाई विश्वासमा लिएर आफ्नो स्वार्थमा काम गर्न सक्ला ? रवि लामिछानेसहितको भारत भ्रमणले आकार ग्रहण गर्न सक्ला? भारतको शक्तिशाली बन्ने चाहनालाई नेपालले आफ्नो स्वार्थमा केन्द्रिकृत गर्दै लाभ लिन सक्ला? यस्ता प्रश्नहरुको जवाफ रास्वपा नेतृत्वको सरकारले खोज्नेबेला भने आएको छ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update