News 24 Television
काठमाडौंमा आँप खानेको यस्तो भीड ! धुमधाम छ आँपको उत्सव !

काठमाडौं । काठमाडौंको मुटुमा अहिले आँपकै मिठास घुलिएको छ । ‘फलहरूको राजा’ को रूपमा चिनिने आँपको स्वाद, स्वदेशी उत्पादनको सान र कृषकको सम्मानलाई एकै ठाउँमा मिसाउँदै ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ ले नेपाली आँपको पहिचानलाई नयाँ उचाइमा पु¥याउने प्रयास गरेको छ । फेस्टमा विश्वकै सबैभन्दा महँगो मानिने मियाजाकी प्रजातिका आँपसमेत देख्न पाइन्छ । 

‘फलहरूको राजा’ मानिने आँपप्रति चासो बढिरहेको समयमा काठमाडौंमा नेपाल म्याङ्गो फेस्ट २०२५ को दोस्रो संस्करण आयोजना गरिएको छ । सबै उमेर समूहका लागि प्रिय यो फलको स्वाद, विविधता, स्वास्थ्य लाभ र व्यवसायिक सम्भावनालाई उजागर गर्न फेस्टको आयोजना गरिएको हो । 

फेस्ट आयोजकका अनुसार नेपाली आँपको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु–याउने, स्थानीय कृषकहरूलाई उचित मूल्य दिने र स्वदेशी उत्पादनप्रति उपभोक्ताको विश्वास बढाउने उद्देश्यले फेस्टको आयोजना गरिएको हो । यसपटकको फेस्टमा करिब २० हजार ग्राहकको सहभागिता रहने र  ४० हजार केजीसम्म आँपको व्यापार हुने अपेक्षा गरिएको छ ।

फेस्टिभलमा आँप खाने प्रतियोगिता पनि आकर्षणको विषय बनेको छ । साथै, फेस्टमा स्वदेशमै उत्पादन भएका २० भन्दा बढी प्रजातिका आँप प्रदर्शनमा राखिएका छन् । तीमध्ये मल्लिका, फजली, अम्रपाली, निलम, कलकत्तिया, अल्फान्सो, बम्बै ग्रीन, जर्दा, डकमइ, चौसा, केन्ट, अमन–दसहरी, मालदह, हेडेन, जरमरै, दसहरी, किसानबोग र मियाकाजीजस्ता प्रजातिहरू समावेश छन् । 

तीमध्ये माल्दा, दशहरी, जरदा, किसानबोग र कलकत्तिया जातका आँपहरू कृषकहरूबाट प्रत्यक्ष किनमेल गर्न सकिन्छ । रोचक त के छ भने फेस्टमा विश्वकै सबैभन्दा महँगो मानिने प्रति किलो ३ देखि ४ लाख मूल्य पर्ने मियाजाकी प्रजातिका आँपसमेत देख्न पाइन्छ । 

विलासी स्वादको प्रतीकः मियाजाकी आँप

जुन आँप हेर्दा पनि रत्न जस्तो झलमलाउँछ त्यसलाई चाहिँ मियाजाकी आँप भनिन्छ । यो जापानको सबैभन्दा प्रतिष्ठित र महँगो फलमध्येको एक । यसलाई ‘ताईयो नो टोमागो’ अर्थात् ‘सूर्यको सन्तान’ पनि भन्ने गरिन्छ । चम्किलो रातो रंग, अद्भुत मिठास र मखमली बनावटले सजिएको यो आँप स्वाद र सौन्दर्यको अनुपम मेल हो । 

मियाजाकी आँप सामान्य बगैंचामा हुर्काइँदैन । अत्याधुनिक प्रविधि, हरितगृह खेती, वातावरणमैत्री विधि र कडाइका साथ पालना गरिने गुणस्तर मापदण्डका आधारमा यसलाई हुर्काइन्छ । सूर्यको सन्तान प्रमाणित गर्न कम्तीमा ३५० ग्राम तौल, सन्तुलित आकृति, गाढा रातो रंग र आकर्षक बनावट अनिवार्य रूपमा पूरा गर्नुपर्छ । 

यस्ता विशेष मापदण्ड पुरा गरेका मियाजाकी आँपहरू हरेक वर्ष अप्रिलमा भव्य लिलामीमा राखिन्छन् । यहाँ ती दुर्लभ फलका जोडीहरू कहिलेकाहीँ ४ हजार अमेरिकी डलरसम्ममा बिक्री हुन्छन् । 

आँपमा आत्मनिर्भरको सम्भावना

नेपालमा करिब ३६ प्रजातिका आँप उत्पादन हुने गरे पनि कृषकमैत्री प्रविधिको प्रयोग, सुधारिएको जातको छनोट र वैज्ञानिक व्यवस्थापनको अभावले आँप खेतीले अपेक्षित गति लिन सकेको छैन । त्यसमा पनि कृषिलाई उपेक्षा गर्दा यस क्षेत्रप्रति युवाहरूको आकर्षण पनि कम हुँदै गएको छ । 

नेपालका विभिन्न तराईका जिल्लामा व्यवसायिक आँप खेती हुँदै आएको भए पनि नेपाली बजारमा पाइने पाकेका आँपमध्ये धेरैजसो भारतबाट आयात हुने गरेका छन् । यसका साथै, नीति तथा कार्यक्रममा कृषिको प्राथमिकता उल्लेख भए पनि व्यवहारमा त्यस्तो प्रतिबद्धता नदेखिएको कृषकहरूको भनाइ छ । 

म्याङ्गो फेस्ट २०२५ ले नेपाली आँपको स्वाद र सम्भावनालाई नयाँ उचाइ दिन सक्छ । तर, यसको दीर्घकालीन प्रभावका लागि प्रविधिको पहुँच, वैज्ञानिक व्यवस्थापन, सरकारी नीतिमा स्पष्टता र युवापुस्ताको आकर्षण आवश्यक देखिन्छ । नत्र ‘फलहरूको राजा’ को ताज विदेशी आयातित उत्पादनले लिने खतरा कायमै रहनेछ । 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  ०८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update