News 24 Television
छैटौँपटक प्रधानमन्त्री बन्ने देउवाको चाहनामा ब्रेक

काठमाडौँ । लामो रस्साकस्सीपछि नेपाली काँग्रेसको १५औँ महाधिवेशन मिति तय भएको छ । सोमबार बसेको नेपाली काँग्रेस केन्द्रीय कमिटि बैठकले गरेको निर्णय अनुसार काँग्रेस महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म चल्नेछ । यो बैठकले महाधिवेशनपूर्वको कार्यतालिकासमेत सार्वजनिक गरेको छ । कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सात वटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने निर्णय भएको छ । 

यो मिति तय भएसँगै फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा नेपाली काँग्रेस नयाँ नेतृत्वमार्फत प्रतिस्पर्धामा जाने संभावना देखिन्छ । यस्तै काँग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र रुपमा उठाउने पंति र नेतृत्व परिवर्तनको पक्षधरलाई पनि अब आफू अनुकुल नेतृत्व चयनका लागि बाटो खुलेको छ । तर अब नेतृत्वमा आउने पात्र को हुनेछन् ? र उनले  पार्टीलाई कसरी अघि बढाउँलान् ? भन्ने प्रष्टता अहिले नै देखिँदैन । 

देउवाको दुःखद बहिर्गमन ! 

नेपाली काँग्रेसको नेतृत्व दुई कार्यकाल सम्हालेका शेरबहादुर देउवा दोस्रो कार्यकाल अझै लम्ब्याउन चाहन्थे । उनी विधानले दिएको छुटलाई पनि सदुपयोग गर्दै निर्धारित मितिमा महाधिवेशन नगराउने मनशाय दर्शाउँदै गर्दा नै जेनजी आन्दोलन भयो । तत्कालीन सरकार निर्माण हुँदा सत्ता साझेदार दलकै रुपमा काँग्रेसलाई उभ्याएका देउवा एमालेसँगको सहकार्यसँगै ओलीपछि प्रधानमन्त्री बन्ने प्रतिक्षामै थिए । तर यही अवस्थामा भएको जेनजी आन्दोलनले उनलाई प्रधानमन्त्री बन्न मात्रै हैन, पार्टीको नेतृत्वमै नहरनेगरी अपदस्थ गर्यो । 

जेनजी आन्दोलनमा भौतिक आक्रमणसमेत खेपेका देउवा यो आन्दोलपछि नै पार्टीको नेतृत्व त्याग्नुपर्ने अवस्थामा पुगे । जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मा पूर्णबहादुर खड्कालाई दिएर उपचारका लागि सिंगापुर गएका देउवाले स्वदेश फर्किएर पुन सक्रिय राजनीतिको प्रयास गरेका थिए । तर यो गतिविधिलाई पार्टीमा नरुचाइएपछि  देउवा अन्ततः महाधिवेशन गराउने निश्कर्षमै पुगेका हुन् । उनकै निर्देशन अनुसार आगामी पुस २६ गतेदेखि २८ सम्म महाधिवेशन गराउने निर्णय भएको दावी गरिँदै आएको छ । 

यो महाधिवेशन सँगै अब काँग्रेसको नेतृत्वमा देउवाको नेतृत्व सँदाका लागि समाप्त भएको छ । किनकी देउवा २०७८ साल मंसिरमा सम्पन्न १४औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापति चुनिएका थिए । त्यसपघि १३औँ महाधिवेशनमा पनि सभापति चुनिएका देउवाका लागि अब नेतृत्वमा फर्किने संभावना छैन । 

काँग्रेसको विधानमै एक व्यक्ति दुई कार्यकालभन्दा बढी नेतृत्वमा रहन नमिल्ने व्यवस्था छ । यो कारणले पनि देउवा दोस्रो कार्यकाललाई संविधान र पार्टीको विधानले दिएको छुटलाई सदुपयोग गर्दै महाधिवेशन मिति केही पर धकेल्न चाहन्थे । उनको आकांक्षा ओलीसँगको सत्ता साझेदारी गर्दै प्रधानमन्त्री बन्दसमेत पार्टी समापतिमै रहनेसम्मको थियो । यद्यपि उनको यो सपना भने अब तुहिसकेको छ । 

०५७ सालदेखि लगातार नेतृत्वमा दाबेदारी 

२०२२ सालदेखि विद्यार्थी राजनीतिक आरम्भ गरेका देउवा विभिन्न राजनीतिक उत्तारचढाव खेप्दै आएका राजनीतिज्ञ हुन् । देउवा आफ्नो राजनीतिक कालमा ५ पटकसम्म प्रधानमन्त्री बने । लोकतान्त्रिक आन्दोलनमा विभिन्न अरोहअबरोह खेपेका देउवाले आफ्नो राजनीतिक यात्रा २०५७ सालसम्म ल्याउँदा काँग्रेसको नेतृत्वका लागि दाबेदारी पेश गर्न सक्षम देखिए । २०५७ साल अर्थात पार्टीको १०औँ महाधिवेशमा उनले गिरिजाप्रसाद कोइरालासँग सभापति पदमा पहिलो पटक प्रतिस्पर्धा गरे । सो बेला कुल एक हजार ४७७ मतमध्ये कोइरालाले ९३६ र देउवाले ५०७ प्राप्त गरेका थिए । 

११औँ महाधिवेशनमा प्रतिपर्धामा नरहेका देउवा १२औँ महाधिवेशनमा भने फेरी सभापतिको उम्मेदवार बने । सो बेला उनले सुशील इरालासँग प्रतिस्पर्धा गरेका थिए । यो प्रतिस्पर्धामा कोइरालाले एक हजार ६५२ मत प्राप्त गरेका थिए भने, देउवाले एक हजार ३१७ मत प्राप्त गरेका थिए । यो प्रतिस्पर्धामा उपविजेता भएका देउवा र कोइरालाको मतान्तर जम्मा ३३५ मत थियो । 

सुशील कोइरालाको निधनपछि २०७२ मा भएको १३औँ महाधिवेशनबाट भने देउवा पार्टी सभापतिमा निर्वाचित भए । यो प्रतिस्पर्धामा  देउवाले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गरेका थिए । पहिलो चरणको मतदानमा ५० प्रतिशतभन्दा बढी मत पुग्न देउवालाई केवल ११ मतको खाँचो पर्यो । यसपछि देउवा र पौडेलबीच दोस्रो चरणको मतदान भयोे । सो मतदानमा देउवाले पौडेललाई ५२६ मतान्तरले पराजित गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update