News 24 Television
कुलमानलाई बालेनको साथ, रवि–कुलमान मिल्दै, विवेकशील रास्वपामा

काठमाडौं । राष्ट्रिय राजनीतिमा जेनजी समर्थित काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन), रवि लामिछाने नेतृत्वको रास्वपा, अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ, धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपी हमाल र विवेकशील साझा सहितको बलियो शक्ति निर्माणको पहल भए पनि सार्थकता पाउन सकेन । 

विभिन्न चरणमा वार्ता र संवाद भएपनि टुंगोमा पुग्न यी शक्तिहरु सकेका छैनन् । यसले पुराना राजनीतिक दल विशेषगरी कांग्रेस, एमाले र नेकपा सहित दललाई राहत मिल्ने विश्लेषण भइरहेको छ । यस्तो अवस्था बैकल्पिक शक्ति किन नमिल्ने भन्ने प्रश्न गम्भिर बनेको छ । 

नेपाली राजनीतिमा रास्वपालाई बैकल्पिक शक्तिका रुपमा स्थापित गर्न सफल सभापति रवि लामिछाने र नेपाललाई अन्धकारबाट उज्यालो बनाउन नायकी भुमिका खेल्ने अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङ मिल्नुपर्ने बहस सतहमा छन् । 

२०७९ मंसिर ४ मा भएको आमचुनावमा प्रतिनिधिसभामा २० सिट प्राप्त गर्दै चौथो ठुलो शक्ति बनेको रास्वपा बलियो छ । उतिबेला रास्वपाले ११ लाख बढि समानुपातिक मत पनि पाएको थियो, अहिले त्यो आँकडाको दोब्बर हुने अनुमान नेताहरुले गरिरहेका छन् । तर अघिल्लो निर्वाचन र उपनिर्वाचनबाट उभार ल्याएको रास्वपा सभापति लामिछाने आफै सहकारी ठगी मुद्दामा थुनामै छन् । 

उनी आगामी निर्वाचनमा लड्नसमेत अयोग्य छन् । तत्कालिन अवस्थामा शिक्षामन्त्री हुँदा वाहवाही कमाएकी सुमना श्रेष्ठदेखि विघटित प्रतिनिधिसभाको प्रमुख सचेतक सन्तोष परियारले समेत यतिबेला रास्वपा छाडेका छन् । तर रास्वपा छाडेकी सुमना रास्वपासहित जेनजीहरुलाई समेटेर बैकल्पिक शक्ति बनाउन निकै प्रयत्न गरिन् । यद्यपी सफलता प्राप्त हुन सकेन । रास्वपाका नेताहरु पार्टी छाड्ने क्रमलाई रास्वपाले सामान्य ठानेको छ । 

तत्कालिन अवस्थामा लोडसेडिङ अन्त्य गर्ने प्रमुख भूमिकामा रहेको भनी चर्चामा रहेका कुलमानलाई मात्रै आफ्नो पार्टीमा ल्याउन सकेमा पार्टीमा उभार आउने अपेक्षा रास्वपाको हो । 

रवि र कुलमान मिलाउन रास्वपाले वार्ता समिति नै बनाएर संवाद गरेको थियो तर तत्काल कुलमानलाई रास्वपा सभापति बनाएर अघि बढ्ने प्रस्ताव रास्वपाले स्वीकारेन । जसले गर्दा वार्ताले सार्थकता पाउन सकेन । 

अड्को के हो ? 

रास्वपा सभापति रवि लामिछाने सहकारी घोटाला प्रकरणका कारण नख्खु कारागारमा हुँदा कुलमानलाई रास्वपाको कार्यकारी सभापति बनाउने प्रस्ताव विभिन्न पक्षले गरेको थियो । कुलमान सहितकै संवाद पनि भएको थियो । 

कुलमानले विभिन्न ब्यक्तिलाई अघि सारेर जेनजी आन्दोलन अघि नै पार्टी दर्ता गराएका थिए । फागुनको निर्वाचन लक्षित गर्दै उज्यालो नेपाल पार्टीलाई पुनर्गठन गरेर निर्वाचन आयोगमा कुलमानको छुट्टै दल दर्ता भएको छ । फागुनको निर्वाचनका लागि दल दर्ताको समय पनि मंसिर १० गते बुधबार सकिएको छ । आगामी निर्वाचनको फाइदा उठाउन विभिन्न स्वार्थ समूह लागि नै रहेका छन् । 

रविको छवि धुमिल भएको कारण रास्वपाले कुलमानलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्न तयार भए पनि पार्टीको नेतृत्व दिन तयार देखिएको छैन । तारन्तारको वार्ता पश्चात् कुलमान भावि प्रधानमन्त्रीको क्यान्डिटेट बन्न राजी भए एकता गर्न ढिलाई नहुने उनको पक्षको आन्तरिक रणनीति रहेको समेत चर्चा गरिन्छ । सभापति रविको मुद्दा अहिले नै किनार लाग्ने स्थिति नहुँदा रास्वपा यसमा सहमत हुनसक्ने धेरैको विश्वास छ । 

वैकल्पिक अन्य समूहहरुसँग पनि संवाद जारी 

रास्वपाले वैकल्पिक शक्तिका रुपमा उदाएका विभिन्न समूहहरुसँग संवाद कायमै राखेको छ । विगतमा वैकल्पिक शक्तिमा उदाए पनि गति लिन नसकेका समूहहरु पनि अहिले ठूला दलसँगले अवसरको खोजीमा छन् । 

यही मौकामा तत्कालिन उज्वल थापाले नेतृत्व गरेको विवेकशील साझाले गरेको रास्वपासँगको सहमतिको प्रयास सार्थक बनेको छ । लामो समयको वार्ता र संवादपछि एकता अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् ।   

अलि बढि नजिक रहेर कुलमानसंग वार्ता गरिरहेको रास्वपाले जेनजी समर्थित काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन), धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङ, धनगढीका मेयर गोपी हमाल र विवेकशिल साझासंग पनि उत्तिकै छलफल गरिरहेको छ । 

कुलमानलाई बालेनको साथ पाउने चर्चा 

जेनजी समर्थित काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)संग ठुलो युवा शक्ति छ । कार्यकारी पदमा आफु स्वयम् नहोमिने संकेत गरेका बालेनको समर्थन कसलाई हुन्छ भन्ने विषयले पनि ठुलो अर्थ राख्नेछ । भदौ २३ र २४ को जेनजी आन्दोलनले बालेन अन्तिम विकल्पका रुपमा समेत अर्थाइएको थियो । 

उनै बालेनको साथ कुलमानलाई रहेको बताइन्छ । यसकारण पनि कुलमान अर्काे शक्ति केन्द्रका नायक बन्ने बाटोमा छन् । अर्काेतर्फ रास्वपाले बालेन पक्षको समेत साथ पाइने विश्वास गरेको छ ।  वर्तमान राजनीतिक संकटको व्यवस्थापनको विकल्प र निकास खोजिरहेका नेपाली जनता स्थायी सरकारको पक्षमा छन् । 

दशर्काैँदेखि सत्तासिन शिर्ष तीन दल कांग्रेस, एमाले र तत्कालिन माओवादीबाट आजित बनेका नेपाली जनता वैकल्पिक शक्तिको खोजीमा छन् । जेनजी आन्दोलनको मर्म अनुसार पनि बैकिल्पक शक्तिको उदय जरुरी छ । तर त्यसअघि नै पुराना दलहरु पनि पुनर्गठन र रुपान्तरणको अभियानमा लागेका छन् । यो अवस्थामा उदीयमान शक्तिको रुपमा को कसरी अघि बढ्छ, प्रतिक्षाको विषय बनेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  ०९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update