News 24 Television
ओलीको पार्टी सत्ताविरुद्ध ईश्वरको चुनौती ! महेशको काउन्टर ?

काठमाडौँ । जेन–जी विद्रोहसँगै सत्ताबाट सडकमा ओर्लिन बाध्य एमाले अध्यक्ष केपी ओलीको लागि अब पार्टी सत्ता पनि चुनौतीविहीन रहेन । विद्रोह पछि बदलिएको महोल कै बीच एमालेले मंसिर २७, २८ र २९ गते महाधिवेशन गर्ने निधो गर्यो । विधान महाधिवेशनबाटै नीति टुंग्याएको उसले मंसिरमा हुने महाधिवेशनबाट नेतृत्वबारे निर्णय गर्ने छ । र, नेतृत्वको लागि वर्तमान अध्यक्ष केपी शर्मा ओलीको चुनौतीको रुपमा उभिने छन्– ईश्वर पोखरेल । 

पोखरेलको चुनौती ! 

ईश्वर पोखरेल अहिले नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष छन् । नेकपाकालीन विवादको बेला ओलीको पक्षमा उभिएका उनी ओली–विद्याबीचको टकरावको बेला भने विद्याको पक्षमा उभिएका थिए । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेबाटै राजनीतिक सक्रियता बढाउने प्रयास गर्दा इश्वर पोखरेलको भूमिका सहयोगात्मक रह्यो । तर, ओली विद्यालाई रोक्न लागिपरे । अन्ततः उनले पार्टी कमिटीबाटै निर्णय गराइ विद्यालाई एमाले भित्र सक्रिय हुने बाटो नै बन्द गरिदिए । ओलीले बाटो रोक्ने प्रयास गरे पनि विद्याप्रति सहानुभूति राख्ने पंक्ति एमालेमा अझै छ । त्यही पंक्तिसमेतको सहयोगमा इश्वर पोखरेल ओलीलाई पार्टी  अध्यक्षमा चुनौती दिने प्रयासमा छन् । 

उनले समाजिक सञ्जाल फेसबुक मार्फत् एक विज्ञप्ति नै जारी गर्दै आफू ११ औँ महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवार हुने घोषणा गरेका छन् । उनी लेख्छन्ः 

पार्टी निर्माण सम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारको रुपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रुपान्तरणका लागि देशभरीका साथीहरुले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ । पार्टीका कमरेडहरुको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहल मार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा विकास गर्न म प्रतिबद्ध छु । पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकरात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने  अपेक्षा लिएको छु । अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु । 

एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले ओलीलाई अभिभावकीय भूमिका निर्वाहको लागि अनुरोध गरे पनि ओलीका कट्टर समर्थक भने अहिले ईश्वर पोखरेलप्रति आक्रामक बन्न थालेका छन् । 

महेशको काउन्टर  !

एमाले अध्यक्षका आकांक्षी इश्वर पोखरेलले ओलीलाई नेतृत्व हस्तान्तरणको लागि सहयोग गर्न आग्रह गरे पनि ओलीका समर्थक महेश भने इश्वरलाई नै सहयोगको लागि आग्रह गरिरहेका छन् । महेश लेख्छन्ः 

एमाले अहिले आन्तरिक र बाह्य दुवै मोर्चाबाट कठोर दबाब झेलिरहेको संवेदनशील घडीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टी भित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको छ। पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो?  अनेक प्रपोगाण्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस् ?

उनी थप लेख्छन्ः 
एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढता बाट मात्र संभब हुन्छ। पोखरेलजस्ता नेता  एमालेका सम्पत्ति हुन्, तर संवेदनशील घडीमा नेतृत्व बदल्ने होइन, नेतृत्वलाई कसिलो बनाउने समय हो। पार्टी, देश र कार्यकर्ताको चाहना स्पष्ट छ— स्थिर एमाले, एकजुट एमाले, ओली नेतृत्वमा संगठित एमाले। यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता। यदि सकिँदैन भने सहर्ष विदाई। नै इश्वर पोख्रेलको निमित्त सही बिकल्प हो। किनकि व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो हुन सक्दैन, र पार्टी कहिल्यै देशभन्दा ठूलो हुन सक्दैन।

राष्ट्रिय शक्ति निर्माणको आधार ओली नेतृत्वमा एकजुट एमाले हो।

महाधिवेशनको मिति नजिकिएसँगै नेतृत्व लिन रस्साकस्सी पनि बढेको छ । ओलीसँग पोखरेलको आग्रह र पोखरेलसँग बस्नेतको आग्रहले त्यही संकेत गर्छ । तर, एमाले कार्यकर्ताले कस्तो निर्णय गर्छ, त्यो भने महाधिवेशनको मत नै देखाउने छ ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update