
काठमाडौं । नेपालमा हरेक वर्ष हजारौं विद्यार्थी उच्च शिक्षा र उज्ज्वल भविष्यको खोजीमा विदेशिइरहेका छन् । शिक्षा मन्त्रालयको तथ्याङ्कले नै यो क्रम कति भयावह छ भन्ने देखाउँछ ।
गत आर्थिक वर्षमा मात्रै १ लाख बढी विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अव्जेक्सन सर्टिफिकेट’ लिएका छन् । यो प्रवृत्तिले देशको बौद्धिक पलायनको गम्भीर चित्र प्रस्तुत गर्छ । तर, के साँच्चै सबै युवा विदेश जान चाहन्छन् ? वा नेपालमै बसेर केही गर्न चाहनेहरू पनि छन् ? छन् भने उनीहरूलाई यहीँ बस्नका लागि कस्तो वातावरण चाहिएको छ ?
हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौं बिदाइका हात हल्लिन्छन् । शिक्षा, रोजगारी र उज्ज्वल भविष्यको नाममा लाखौं नेपाली युवा परदेशिन बाध्य छन् ।
शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षमा मात्रै १ लाख १० हजारभन्दा बढी नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ लिएका छन् ।
यो संख्या केवल कागजी प्रक्रिया मात्र होइन देशको बौद्धिक सम्पत्तिको तीव्र पलायनको संकेत हो । कक्षाहरू रित्तिँदै छन्, गाउँका चोकहरू सुनसान हुँदैछन् र युवा पुस्ताको अभाव शिक्षा प्रणालीमा मात्रै होइन सम्पूर्ण सामाजिक संरचनामा झल्किन थालेको छ । तर, यस्तै निराशा र पलायनको बाढीबीच पनि केही सपना यस्ता छन् जसले देश छोड्ने भन्दा देश बनाउने सपना देखेका छन् ।
यस्ता प्रतिनिधि युवाहरूले राज्यले गुणस्तरीय शिक्षा, दक्षताअनुसारको रोजगारी र उद्यमशीलताको लागि अनुकूल वातावरण निर्माण ग¥यो भने युवाले देश रहरले छाड्दैनन् भन्ने स्पष्ट देखाउँछ । हालको प्रवृत्ति हेर्दा बौद्धिक पलायन एउटा नीतिगत विफलताको परिणाम हो ।
अवसरको अभाव, रोजगारीको असुरक्षा, र प्रणालीगत कमजोरीले गर्दा युवाहरू देशप्रति भन्दा विदेशप्रति आकर्षित भइरहेका छन् । तर, यिनै कमजोरीबीच पनि देशमै टिकेर केही गर्न चाहने युवाहरूको उत्साहलाई राज्यले मलजल नगर्ने हो भने आज देशमा अडिएका यिनै सपना भोलिको बाध्यता बनिएर उडान भर्न सक्नेछन् ।
‘ब्रेन ड्रेन’ को यो युगमा ‘ब्रेन गेन’ का बीउहरू पनि उम्रिरहेका छन् । उनीहरू नेपालमै सम्भावना खोजिरहेका छन् । शून्यबाट सिर्जना गर्न चाहिरहेका छन् र देशप्रति जिम्मेवारीको भाव बोकेका छन् । युवाको भरोसा जित्ने, अवसर सिर्जना गर्ने र देशभित्रै भविष्य देख्ने आँखा पैदा गराउने जिम्मा अब राज्यको हो ।