News 24 Television
ह्वीप नमान्ने भनेपछि शिक्षा समितिमा लफडा, सभापतिले मागे माफी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले संसदीय समितिमा राजनीतिक दलका प्रमुख सचेतकको ह्वीप नमान्ने बताएकी छन् ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा बोल्दै सांसद शर्माले दलगत ह्वीप स्वीकार्य नहुने बताइन् । उनले समितिको बैठक शुरु नहुँदै विधेयकमा थप गर्नुपर्ने कुरा प्रस्ताव गर्नुको सट्टा बैठक नै स्थगित गर्ने प्रस्ताव आएको भन्दै आपत्ति जनाइन् । 

सांसद शर्माले भनिन्, ‘कुनै राजनीतिक दलको प्रमुख सचेतकको ह्विप मान्न यो समिति बाध्य छैन, मानिदैन । त्यसकारण आ-आफ्ना ह्वीप कहाँ लाउने हो आफ्नो ठाउँमा लाउनु । समिति सभापतिज्युले टाढा टाढाबाट समितिका सदस्यहरुलाई बोलाएर बैठक राखेर बैठक सुरु नहुँदै बैठक स्थगितको प्रश्ताव आएपछि यसले राम्रो सन्देश दिन्छ ? यसले हामी राम्रो कानून बनाउँदैछौं भन्ने कुरामा कसरी सुनिश्चित हुन्छ ? अरु नयाँ कुरा आएको भएपनि हुन्थ्यो हामीले सहमति गरेका विषयहरुमा डोजर चलाइँदैछ । यस्तोमा हामी यो ठिक हो भनेर तालि बजाउन सक्छौं ?’

लगत्तै नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद शर्माको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै  उठेर नियमापत्ति जनाए । समिति सभापति अम्मरबहादुर थापाले माफी मागेपछि सचेतक घिमिरे बसे । सांसद शर्माले सरकारले विधेयकका सन्दर्भमा सहमति भइसकेका विषयहरु बल्झाउने प्रयास गरिरहेको पनि टिप्पणी गरिन् ।

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update