News 24 Television
सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो 

सोलुखुम्वु । पछिल्लो समय फलफुलको व्यवसायिक खेतीले देशका विभिन्न क्षेत्रहरूमा सम्भावनाका नयाँ ढोका खोलिरहेका छन । तर मौसम अनुसार उत्पादन हुने फलफुल समयमै बिक्री हुन नसक्दा भने किसानहरू ठूलो नोक्सानीमा पर्दै आएका छन । तर, अब सोलुखुम्बुका केही स्थानमा भने यस्ता समस्याको दीर्घकालीन समाधान खोजिएको छ । 

सोलुखुम्बुको विभिन्न फलफुल बगैचा क्षेत्रमा कोल्ड चेम्बर निर्माण गरिएसँगै फलफुलको व्यवसायिक उत्पादनलाई लामो समयसम्म सुरक्षित राख्न सकिने भएको छ । 

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का कृषक जाङबु शेर्पा विगत ८ वर्षदेखि व्यवसायिक किबी खेती गर्दै आएका छन । ३५ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको उनको फार्मबाट हरेक वर्ष १२ देखी १४ टनसम्म किबी उत्पादन हुँदै आएको छ । तर समयमा बिक्री नहुँदा बाँकी रहेको किवी नष्ट हुँदा उनको मन कम्ति कुँडिदैन थियो ।

स्टोर गर्न सुरक्षित संरचना नहुँदा, उनलाई प्रतिकिलो ५० रुपैयाँमै किवि बेच्नुपर्ने बाध्यता पनि थियो । तर अब यो अवस्था बदलिएको छ । सरकारी अनुदान र लागत साझेदारीमा निर्माण गरिएको १० टन क्षमताको कोल्ड चेम्बरले उनलाई निकै राहत दिएको छ । 

यता सोलु दुधकुण्ड नगरपालिका–८, पत्तालेको स्याउ बगानमा पनि गत वर्ष मात्रै १८ टन स्याउ उत्पादन भएको थियो । तर बजार व्यवस्थापन र सुरक्षित भण्डारण अभावमा स्याउ चाउरिने, रस सुक्ने, तौल घट्ने र स्वाद बिग्रिनेजस्ता समस्या देखा परे । उत्पादन राम्रो भएपनि मुल्य नपाउँदा  फार्म संचालकहरुले लगानी अनुसारको लाभ लिन सकेनन् । तर अब कोल्ड चेम्बर निर्माणसँगै उनीहरू पनि उत्साहित छन । 

आप्mनो बगानमा उत्पादन भएको स्याउ समयमै बजार पठाउन नसके पनि, सुरक्षित राखेर उचित मुल्य पाउे बेलामा बिक्री गर्न सकिने भएकाले ब्यवसायमा उनको भरोसा बढेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत, यसै आर्थिक वर्षमा सोलुखुम्बुको विभिन्न स्थानहरूमा ४ देखि १० टन क्षमताका ५ वटा कोल्ड चेम्बर निर्माण गरिएका छन । 

फलफूलको व्यवसायिक उत्पादनलाई सुरक्षित राख्न तथा मौसम अनुसारको बजार अभावका कारण हुने नोक्सानी न्यूनीकरण गर्न यस्ता संरचनाहरूले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

सुरक्षित भण्डारणको अभावमा हरेक वर्ष घाटा व्यहोर्दै आएका किसानहरुलाई कोल्ड चेम्बरजस्ता पूर्वाधार विस्तारसँगै अब उनीहरूको उत्पादन लामो समयसम्म सुरक्षित राख्दै, उचित समय र मुल्यमा बिक्री गर्न सक्ने वातावरण बनेको छ । दीर्घकालीन समाधानका रूपमा अगाडि बढाइएका यस्ता संरचनाहरू देशभर नै विस्तार गर्न सके फलफूलको व्यवसायिक उत्पादनलाई थप प्रवद्र्धन र भरोसा दिनसक्छ । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update