News 24 Television
स्वतन्त्र मैदानमा उत्रिदा दलहरु उपयुक्त पात्रको खोजीमा 

रुपन्देही । रुपन्देहीमा उपनिर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आयोगले कार्तिक १७ गतेका लागि उपनिर्वाचन मिति घोषणा गरेसँगै चुनावी माहोल तात्न थालेको हो । 

२०७९ सालको निर्वाचनमा रूपन्देही– ३ बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक बोहराको गत चैत्र १९ मा निधन भएसँगै यो क्षेत्र खाली छ । उपनिर्वाचनको मिति घोषणासँगै दलहरुले समेत आफ्ना गतिविधि बढाएका छन् भने मतदाताका समेत चासो बढेको छ । 

रुपन्देही क्षेत्र नम्बर ३ मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा एमाले, राप्रपा र जसपाको गठबन्धनबाट राप्रपाका नेता दीपक बोहराले चुनाव जितेका थिए । काँग्रेस, माओवादी र लोसपाको संयुक्त गठबन्धनबाट बहालवाला तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार थिए । 

स्वास्थ्य समस्याले बोल्न नसक्ने अवस्थाकैबीच पनि खाँणलाई सहजै चुनाव हराएका बोहराको गत चैत्र १९ मा निधन भयो । बोहराको निधनपछि निर्वाचन आयोगले आगामी कार्तिक १७ मा उपनिर्वाचन घोषणा गरेको छ । उपनिर्वाचनको घोषणासँगै यो क्षेत्रमा अहिले चुनावी सरगर्मी बढेको छ । 

सानाठूला सबै पार्टीबाट उम्मेदवारका आकांक्षीले टिकट हात पार्न सक्रियता बढाएका छन् । मतदाताले औपचारिक र अनौपचारिक कार्यक्रम, चोकचौराहा तथा पारिवारिक छलफलमा समेत उपचुनावको चर्चा गर्न थालेका छन् । यो क्षेत्रमा चुनावी माहोल बढ्दै जाँदा र आकांक्षीहरु टिकट हात पार्न दौडधुप गरिरहँदा सधैं राजनीतिक चपेटामा परेको भन्दै मतदाताहरु यसपटक उपयुक्त पात्रको खोजिमा देखिन्छन् ।

सानाठूला सबै दलले आगामी २०८४ को निर्वाचनलाई समेत ध्यानमा राखेर रुपन्देही–३ को उपनिर्वाचनलाई प्राथमिकता दिएको पाइन्छ । यसैले होला सबैजसो राजनीतिक दलको चासो यसपटकको उपनिर्वाचन परेको छ । काँग्रेस, एमाले, माओवादी, रास्वपा र मधेश केन्द्रित दलहरु स्थानीय तथा राष्ट्रियस्तरमा लोकप्रिय, मतदाताको मनोभावना बुझ्ने उम्मेदवारको खोजीमा छन् । निर्वाचनको माहोला तात्दै जाँदा स्वतन्त्र उम्मेदवारीको समेत घोषणा सुरु भएको छ । 

परिवारभित्रैबाट राप्रपाको उम्मेदवार खोजी 

राप्रपाले स्वर्गीय बोहरा परिवारभित्रबाटै उम्मेदवार उठाउन खोजिरहेको छ । राप्रपाका जिल्लास्तरका नेताहरुका अनुसार बोहराका छोराहरु पाइलट गौरव र इन्जिनियर प्रज्वल बोहरा मुख्य दावेदार हुन् । यस्तै, बोहराकी नातिनी स्वाती थापा पनि टिकटको आंकाक्षी छन् । 

२०७९ को निर्वाचनमा बोहरालाई जिताउन तीनै जनाले भूमिका खेलेकाले यीमध्ये एकजना उम्मेदवार बन्ने सम्भावना छ । 

राप्रपाबाट टिकट नपाए प्रज्वल रास्वपा जाने चर्चा 

बोहोरो पुत्र गौरव राप्रपाबाट टिकट नपाएर रास्वपामा जाने चर्चा पनि चलिरहेको छ । उनी पछिल्लो समय रास्वपा नेताहरुको सम्पर्कमा रहेका छन् । बाबुलाई जिताउन यसअघि पनि कस्सिएर लागेका उनी बाबुको शेखपछि राजनीतिमा आउन चाहेका हुन् । 

कांग्रेसबाट को को छन् आकांक्षी

सत्ताघटक मुख्य दल काँग्रेसबाट केन्द्रीय सदस्य बालकृष्ण खाँण, नेता प्रमोदकुमार यादव, जिल्ला उपसभापति अनिता शाह, पूर्वसभापति रामचन्द्र ढकाल पनि आकांक्षी छन् । खाँण भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि केही संकटमा देखिन्छन् । यद्यपि पार्टी र केन्द्रीय राजनीतिमा प्रभाव पार्ने भएकाले सके खाँण आफै उम्मेदवार बन्ने नभए उनी निकटकालाई उम्मेदवार बनाउन सक्ने आँकलन गरिएको छ । 

मुद्दा विचाराधीन रहे पनि खाँण चुनाव लड्न पाउँछन् । तर, उम्मेदवारी दर्ता हुने मितिसम्म मुद्दा टुंग्याएर आफै चुनावी मैदानमा उत्रिने तयारीमा खाँण रहेका बताइन्छ । 

एमालेमा खिमलाल बलियो, माओवादी उपयुक्त पात्रको खोजीमा  

नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय निर्वाचन आयोगका सदस्य भरतकुमार पोखरेल र व्यवसायी शशी पौडेल आकांक्षी छन् । 

यीमध्ये भट्टराई र पोखरेल बलिया दावेदार मानिन्छन् । माओवादी केन्द्र पनि उपयुक्त पात्रको खोजीमा छ भने मधेश केन्द्रित दलहरुले साझा उम्मेदवार खोजिरहेका छन् । बुटवलका लेखनाथ गैरेले त स्वतन्त्र उम्मेदवारी नै घोषणा गरिसकेका छन् । नेकपा एकीकृत समाजवादीबाट महासचिव घनश्याम भुसालको नाम चर्चामा छ ।

बालेनका सल्लाहकारको चर्चा 

उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका खाद्य सल्लाहकार सन्तोष गिरी चुनाव लड्ने चर्चा छ । बालेन समर्थक र रास्वपाबीच सहमति कायम गरेर एकजना उम्मेदवार खडा गरे जीत निकाल्ने उनीहरूको विश्वास छ । यसका लागि एउटा समूहले गृहकार्य गरिरहेको बताइन्छ । निकै चासोका साथ हेरिएको रुपन्देही ३ को उपचुनावबारे राजनीतिक विश्लेषकहरुको आ–आफ्नै तर्क छ । 

बाइटः उमेशचन्द्र रिजाल, राजनीतिक विश्लेषक

२०७९ को निर्वाचनमा बोहराले बहालवाला गृहमन्त्री खाँणलाई कुनै चुनावी भाषणविनै २ हजार ६८१ मतान्तरले पराजित गरेका थिए । बोहराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाएका थिए । 

समानुपातिकमा कसको कति मत ? 

२०७९ सालको चुनावमा रुपन्देही–३ मा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याउँदा एमालेले १६ हजार ९८६ मत पाएको थियो । रास्वपाको १४ हजार १५४, राप्रपाले ९ हजार १८३, नागरिक उन्मुक्ति पार्टीले ६ हजार, जसपाले ५ हजार, लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७ सय, माओवादी केन्द्रले २ हजार ६ सय, जनमुक्ति पार्टीले १ हजार ९ सय, हाम्रो नेपाली पार्टी (लौरो) ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए । 

रूपन्देही–३ मा पछिल्लोपटक मतदाता नामावली अध्यावधिकसँगै मतदाता एक लाख ५० हजार पुग्ने अनुमान छ । मिश्रित समुदायको बसोबास रेहेको यो क्षेत्रमा बढी सहरी मतदाता छन् । 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update