काठमाडौँ । व्यवसायी तथा राजसंस्था पुनः स्थापनाको अभियानमा लागेका ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाईँ यतिबेला भारतको राजधानी दिल्ली पुगेका छन् । क्यान्सर उपचारसम्बन्धी फलोअपका लागि भन्दै उनी पछिल्ला केही साताभित्र दोस्रो पटक भारत पुगेका हुन् ।
प्रसाईंले आफ्ना भारत भ्रमणहरूलाई भारतीय नेतासँग संवाद गरी नेपालमा राजसंस्था र हिन्दूराज्य पुनःस्थापनाका लागि ‘नैतिक समर्थन प्राप्त गर्ने प्रयास’का रूपमा चित्रण गर्दै आएका छन् । तर, भारतीय सरकारी अधिकारीहरूले प्रसाईँको राजनीतिक अभियानसँग कुनै सरोकार नरहेको स्पष्ट पारेको भारतीय सञ्चारमाध्यमको दाबी छ । भारत हाल नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्ने र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीतिमा भारत सरकार रहेको एनडीटीभीले उल्लेख गरेको छ । समाचारमा भनिएको छ– ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईँलाई भारतमा रहँदा कुनै पनि राजनीतिक गतिविधि नगर्न र भारतको समर्थन भएको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’
प्रसाईं आँफैले पनि भारतीय सरकारी वा दलका प्रतिनिधिसँग भेटघाट गरेको बताएका छन् । सामाजिक सञ्जालमा फेसबुकमा उनले भनेका छन्– ‘‘म स्पष्ट रूपमा भन्छु, अहिले म कसैसँग भेटघाटमा छैन । यदि कोही कसै संग भेट भए फोटोसहित प्रमाण सार्वजनिक गर्ने छु ।’’
प्रसाईँको राजनीतिसँग प्रत्यक्ष वा अप्रत्यक्ष भारतको कुनै सम्बन्ध नभएको र उनका गतिविधिहरूलाई भारतको कुनै अनुमोदन नगरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भारतीय अधिकारीहरूले प्रसाईँको राजनीतिक सक्रियतालाई एक अनावश्यक झन्झटका रूपमा लिएको बताइएको छ । उक्त समाचारलक्षित गर्दै प्रसाईँले लेखेका छन्– ‘अबको आन्दोलन कसैको इसारामा होइन, यो आन्दोलन नितान्त नेपालीको, नेपाली माटोको र नेपाली आत्मसम्मान र स्वाभिमानको आन्दोलन हुनेछ ।’’
यद्यपि, भारतले आधिकारिक रुपमा भने अहिलेसम्म प्रसाईँबारे केही खुलाएको छैन । प्रसाईँले मंसिरमा देशव्यापी सडक अवरोध र विरोध प्रदर्शन गर्ने योजना सार्वजनिक गरेका छन् । उनका भाषणहरूमा देखिने राष्ट्रवादी र गणतन्त्रविरोधी स्वरले राजसंस्थाप्रेमीहरूमा उत्साह जगाएको भए पनि मुख्यधारका राजनीतिक दलहरूले ती वक्तव्यलाई निन्दा गर्दै आएका छन् । स्मरणीय छ, प्रसाईंको अगुवाइमा भएका प्रदर्शनहरू पटक–पटक हिंसात्मक भएका छन् । गत चैत्र १५ गते भएको आन्दोलनमा सार्वजनिक र निजी सम्पत्तिमा आगजनीसमेत भएको थियो । त्यसपछि उनी भारततर्फ भागेका थिए र भारतीय प्रहरीले पक्राउ गरी नेपाल पठाएको थियो । सो घटनासम्बन्धी मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ ।
प्रसाईँले फेरि मंसिर ७ गते काठमाडौंमा एक ठूलो राजतन्त्र पक्षधर ¥यालीको आह्वान गरेका छन् । प्रसाईंले मंसिर ७ गतेदेखी आन्दोलन गर्न घोषणा गरेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालय, गृह मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगले समेत आन्दोलनबारे चासो राखेको छ ।
देशव्यापी सडक अवरोध र जनप्रदर्शनसहितको अभियान चलाउने प्रसाईँको योजना छ । उनले लेखेका छन्– ‘आगामी मंसिर ७ गतेदेखि सुरु हुने अनिश्चितकालीन देशव्यापी आम हड्ताल सहितको आन्दोलन हाम्रो राष्ट्रिय स्वाभिमान, आत्मनिर्भरता र स्वतन्त्रताको प्रतीक हुनेछ ।’
भारतभित्रका हिन्दू राष्ट्रवादी प्रभाव
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सत्तामा पु¥याउन निर्णायक भूमिका खेलेको राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथजस्ता हिन्दू राष्ट्रवादी नेताहरू नेपालमा पनि हिन्दू राज्य र राजसंस्था पुनःस्थापनाका पक्षमा देखिँदै आएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दु नरेश भन्दै आदित्यनाथसहितले विशेष सम्मानसमेत गरेका थिए । पछिल्लो पटक काठमाडौंमा पूर्वराजा शाहको समर्थनमा निस्किएका र्याली, प्रदर्शनहरुमा योगीका फोटोसहित आरएसएसको पोस्टर पनि देखिएको थियो । यद्यपि भारतीय पक्षले यसको खण्डन पनि गरेको थियो ।
भारतका हिन्दू राष्ट्रवादी समूहहरूले नेपालमा हिन्दू राज्य पुनःस्थापनाको चाहना राखेको र त्यसका लागि प्रयासरत रहेको धेरै उदाहरणहरू छन्। यही सन्दर्भमा प्रसाईंको भारत भ्रमणले फेरि चर्चा पाएको हो । तर, भारतले उनको आन्दोलनलाई कुनै प्रकारको समर्थन नदेखाएको र यसको जिम्मेवारी तथा परिणाम नेपालकै आन्तरिक राजनीतिक परिवेशभित्र सीमित रहने देखिन्छ ।
