News 24 Television
कम्युनिस्ट एकताको चर्चा : ठूलो दल नेकपा बन्ने सम्भावना कति ?

काठमाडौँ । नेपालमा एमाले र माओवादी जस्ता प्रमुख कम्युनिस्ट पार्टीहरूबीच एकताको सम्भावना सधैँ चर्चामा रहने विषय हो, किनकि नेपाली कम्युनिस्ट आन्दोलनमा टुटफुट र जुटको लामो इतिहास छ । २०७५ सालमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनको थियो । जसकारण दुई तिहाइ बहुमतको शक्तिशाली सरकार बन्न सफल भएको थियो । त्यसले काँग्रेसजस्ता पुराना लोकतान्त्रिक पार्टीलाई धक्का दिएको मात्र नभई उत्तरी र दक्षिणी छिमेकी मुलुकसमेत तरंगित बनेका थिए । तर, यो एकता लामो समय टिक्न सकेन, भित्रभित्रै शक्ति र भागबण्डाको किचलो सुरु भयो भने सर्वोच्च अदालतको फैसलापछि दुई पार्टीहरू पुरानै अवस्थामा फर्किए ।

हालको अवस्थामा, एमाले र माओवादी केन्द्रबीच तत्काल पूर्ण एकताको सम्भावना कम देखिन्छ । यद्यपि एमालेमा पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय भएर फर्किनु, आगामी पार्टी नेतृत्वको रुपमा चर्चा हुनु र हालका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले चुनौती महसुस गर्नुलगायत घटनाक्रमले निकट भविष्यमा कम्युनिस्ट एकता सम्भव देखिने जानकारहरु बताउँछन् । विद्या भण्डारी हालसालै चीन भ्रमणमा जाँदा चिनियाँ पक्षले दिएको उच्च महत्व र परोक्ष रुपमा दर्शाएको कम्युनिस्ट एकताको अपेक्षासँगै नेपालमा पनि यसको चर्चा हुन थालेको छ । 

एमाले अध्यक्ष ओलीबाहेक प्रायः कम्युनिस्ट घटक नेताहरु बेलाबेला कम्युनिस्ट एकताको कुरा उप्काइरहन्छन् । पूर्वराष्ट्रपति भण्डारी, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतले कम्युनिस्ट एकता मजबुत बनाउँदै समाजवादतर्फ जानुपर्ने बताउँदै आए पनि एकताका लागि एकजुट भने हुन सकेको देखिन्न । गत फागुनमा भण्डारीले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिइन् । विगतमा पनि एकता गराउन ओलीले खेलेको भूमिका सराहनीय रहेको उनको भनाइ थियो । यद्यपि गत जेठमा भने भण्डारीले मुलुकमा तत्काल वाम एकता हुने कुरामा विश्वास नरहेको अभिव्यक्ति दिइन् । नेपालमा वाम एकता गरे पनि अहिलेसम्म टिक्न नसकेको तीतो यथार्थ सम्झँदै पार्टी–पार्टीहरूबीच विश्वासको सङ्कट कायमै रहेको बताइन् । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि बेलाबेला एकताको कुरा गरिरहन्छन् । विभिन्न उत्तारचढावका बीच गंगानारायण श्रेष्ठको नेपाल समाजवादी पार्टी समूहलाई माओवादीमा समायोजन गरेसँगै कम्युनिस्ट एकता प्रक्रिया पुनः अघि बढेको प्रचण्डको भनाइ छ । २०६४ को निर्वाचनमा प्राप्त गरेको अभिमत जोगाउन नसक्दा पार्टी विभाजित हुँदै जाँदा जनतामाथि ठूलो क्षति भएको उनको स्वीकारोक्ति छ । 

एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीका अध्यक्ष नेपाल पनि कम्युनिस्ट एकता जरुरी रहेको बताउँछन् । तर उनी एमालेमा केपी ओली रहेसम्म एकता हुन नसक्ने समेत बताउँछन् । गत जेठमा मदन—आश्रित स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने काममा आफूहरु लागिरहेको बताए । सम्भव भए पार्टी एकता गरेरै जानुपर्ने, नभए विचार, दृष्टिकोण मिल्नेहरुसँग हातेमालो मोर्चा बनाएर जानुपर्ने उनको भनाइ थियो । 

गत आम निर्वाचनपछि संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्ताको नेतृत्वबाट वञ्चित रहँदै आएको छ । तेस्रो दल माओवादीले कहिले एमालेसँग हात मिलाएर, कहिले काँग्रेससँग हात मिलाएर सत्ता चलायो भने त्यसपछि काँग्रेसकै बुइ चढी दोस्रो दल एमालेले सत्ता चलाइरहेछ । यद्यपि पछिल्लो समय काँग्रेसभित्रै एमालेप्रति अविश्वास र असन्तुष्टि बढिरहेको छ । यसै सन्दर्भमा रास्वपाका कार्यवाहक सभापति स्वर्णिम वाग्लेले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटी कम्युनिस्टबाहकेको लोकतान्त्रिक गठबन्धन बनाउन सकिने प्रस्ताव राखे । 

हालै काँग्रेस केन्द्रीय समिति बैठकमा डा. गोविन्द पोखरेलले नेपालमा फेरि कम्युनिस्ट एकता हुनसक्ने भन्दै पार्टी नेतृत्वलाई सचेत गराए । काँग्रेसले जनतासामु आफ्ना एजेन्डा बिर्सिएको, सत्ताधारी एमालेलगायत अन्य दलहरु मिसन ०८४ बोकेर भित्रभित्रै तयारीमा रहेको र एमालेसँगको सत्ता गठबन्धनले काँग्रेस जनतामाझ झन अलोकप्रिय भइरहेको उनको विश्लेषण थियो । नेपालमा अचम्म तरिकाले कम्युनिस्ट पार्टीहरू बलिया हुँदै गएको भन्दै अहिले पनि एमालेमा देखिएको राजनीतिक चलखेलले फेरि एकता हुन सक्ने उनले बताए । 

काँग्रेसले ०८२ भित्रै महाधिवेशन गरेर देशमा सुशासन कायम गर्दै लोकतान्त्रिक शक्तिलाई बलियो बनाउन असल राजनीतिक गतिशीलतामा जोड दिनुपर्ने उनको धारणा थियो । एमालेसँगको ७ बुँदे सहमति पालना नभएको, संविधान संशोधनको एजेन्डा बिर्सिएको लगायत असन्तुष्टि अन्य नेताहरूले पनि पोखेका छन् ।

सत्ता साझेदार एमालेसँग काँग्रेस नेताहरु यसरी असन्तुष्ट हुँदै जानु र पुनः कम्युनिस्ट एकताको विश्लेषण हुनुले काँग्रेस–एमाले लामो समय सँगै बस्न नसक्ने संकेत गर्छ । नेपालको राजनीतिमा कुनै दलको पनि बहुमत नहुनुले सत्ता समीकरण वा राजनीतिक लाभका लागि जुनसुकै बेला पनि दलहरु जुट्न वा फुट्न सक्ने प्रवृत्ति छ । त्यसैले आगामी निर्वाचनसम्म वा त्यसलगत्तै कुनै राजनीतिक आवश्यकता वा दबाब सिर्जना भएमा एमाले र माओवादीजस्ता कम्युनिस्ट शक्तिबीच चुनावी तालमेल वा कार्यगत एकता हुन सक्छ । 
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update