
काठमाडौँ । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस’ का कारण आमसञ्चारकर्मीहरुले भोग्नु परेको शारीरिक, मानसिक र पेशागत असुरक्षा सामना गर्न नेपाल पत्रकार मञ्चले क्षमता विकास तालिम सञ्चालन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौँमा बसेको केन्द्रीय समितिको पुनर्ताजगी वैठकले प्रविधिले फेरिँदै गएका आमसञ्चार माध्यम, आम सञ्चार र सामाजिक सञ्जालका समानता र भिन्नता, दर्शक, पाठक तथा स्रोताहरुको रुचिलगायत विषयको विश्लेषण गर्दै सम्भावित दृष्टिकोण र परिस्थितिजन्य द्वन्द्वबाट पेशागत धर्मबाट आमसञ्चारकर्मीलाई विचलित हुनबाट बचाउन क्षमता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको मञ्चका अध्यक्ष युवराज विद्रोहीले जानकारी दिए ।
आर्थिक, सामाजिक र राजनीतिककारण व्यक्ति र समाजमा वढ्दो द्वन्द्वबाट पत्रकारहरु जोखिममा छन् । यो जोखिमबाट पत्रकारलाई बचाउन सके मात्र पत्रकारिता बचाउन सकिन्छ । विद्रोहीले भने, ‘पृथक परिस्थितिलाई सन्तुलित रुपमा जनचासोका रुपमा ल्याउन सरोकारवाला र साझेदारसँगको सहकार्यमा काम गर्नेछौँ ।’
मञ्चले २ लाख रुपैयाँबाट स्वास्थ्य कोष स्थापना गर्ने र सदस्यहरुको स्वास्थ्योपचारमा मद्दत गर्ने मञ्चले निर्णय गरेको छ । यो कोषलाई विस्तार गर्दै लगिनेछ ।
मञ्चले सञ्चालन गरेका कामहरु सिर्जनशील र नियमितभन्दा पृथक हुन्छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मनुका कुँवरले, कन्फ्लिक्ट अफ इन्ट्रेस र यसको सामना गर्ने विधि पत्रकारहरुका लागि अनिवार्य आवश्यकता भएको आफूलाई पनि महसुस भएको बताइन् ।
त्यस क्रममा मञ्चका महासचिव राजु भण्डारीले, पेशागत संघसंगठनहरुले नतिजाका लागि भन्दा पनि समाजका अगाडि आफूले काम गरिरहेको देखाउन प्रयत्न गरेको वर्तमान सन्दर्भमा मञ्चले मापन योग्य नतिजाका लागि काम गर्ने योजना सुनाए ।
बैठकमा आमन्त्रित सदस्य, स्वतन्त्र पत्रकार अस्मिता भण्डारीले, पत्रकार सुरक्षाभित्र दर्जनौँ क्षेत्र भएकोले नियमित कार्यक्रमबाट धेरै पत्रकारहरुलाई लाभ दिन प्रयत्न हुनु पर्नेमा जोड दिइन् । सामाजिक, राजनीतिक तथा अन्य षेत्रगत रुपमा नेतृत्व गर्ने अगुवाहरुबाट प्रतिवद्धता गराउनुपर्छ । पत्रकारिताको मेरुदण्ड मानिने स्वतन्त्रता बचाउन पनि यो जरुरी रहेकाे भन्दै उनले प्रणालीमा आधारित समाचार सम्भावित द्वन्द्वबाट पत्रकारलाई बचाउन सकिने धारणा राखिन् ।
पीडित र पीडकको कथा बनाउँदा बनाउँदै, आवाज विहिनहरुका आवाज खोज्दा खोज्दै पत्रकार आफैँ दर्जनौँ समस्याभित्र परिरहेको हुन्छ । उसको समस्याले उसका जहान परिवारलाई भुङ्ग्रोमा तानिरहेको हुन्छ ।
बैठकका आमन्त्रित सदस्य एवं मञ्चका निवर्तमान उपाध्यक्ष चन्द्रमणि भट्टराईले, यसप्रकारको तालिममा पत्रकारहरुलाई अनावश्यक दबाबको सामना गर्ने कानुनी उपाय, व्यक्तिगत सिप, विधि र प्रक्रियाका विषय समावेश गर्नु पर्ने र राजनीतिक, आर्थिक, सामाजिक, उद्योग वाणिज्य तथा निजी क्षेत्रका अभिभावकीय संघसंगठनहरुसँग इन्ट्रेस अफ कन्फ्लिक्टका जोखिम न्युनीकरणमा दायित्व जगाउने कार्यक्रम आवश्यक रहेको बताए । निष्पक्षता, तटस्थता, सन्तुलनको कसीमा पत्रकारिताको जग मजबुत बनाउन पुनर्ताजगी कार्यक्रमबाट पनि एक तहको नतिजा आउन सक्ने धारणा भट्टराईले राखे ।
वैठकमा कुशलव के. सी., टंककला तिमल्सेना, लक्ष्मण पन्थीसहित सदस्यहरुले पेशागत र व्यवसायिक धर्मको कसीमा पत्रकारहरुको अवस्था, नेपाल पत्रकार महासंघका एशोसियट संस्थाहरुको भूमिका र अपेक्षित अवस्थाको विश्लेषण गरेका थिए ।
मञ्चले आफ्ना सदस्य, एशोशियट संघसंस्थाका सदस्यलाई प्राथमिकतामा राखेर क्षमता विकाको पहुँच बढाउँदै जाने योजना बनाएको छ ।