News 24 Television
पोखरामा सर्प र लाटोकोसेरो वडा घोषणा, अनुसन्धान प्रर्वद्धन गरिँदै

कास्की । पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजाले जैविक विविधता संरक्षण गर्न गोठे लाटोकोसेरोलाई ‘वडा पन्छी’ र राजगोमनलाई ‘वडा सर्प’को रूपमा घोषणा गरेको छ । पोखरा २५ का वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक कार्यक्रममा घोषणा गरेका हुन् । 

पोखरा महानगरपालिका वडा नम्बर–२५ हेमजाले जैविक विविधता संरक्षण गर्न गोठे लाटोकोसेरोलाई ’वडा पन्छी’ र राजगोमनलाई ’वडा सर्प’को रूपमा घोषणा गरेको छ । वडा अध्यक्ष मोतिलाल तिमिल्सिनाले हेमजामा आयोजित लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतनामूलक वडा पन्छी र वडा सर्पको घोषणा गरे । 

वडा कार्यलयको बैठकबाट निर्णय गरेर घोषणा गरेको हो । सर्प संरक्षण समाज नेपालको आयोजना, प्रकृतिका साथीहरू संस्थाको सहकार्य र वडा नम्बर २५ को सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो । जैविक विविधताको संरक्षणप्रति प्रतिबद्धता र यो सुन्दर तथा उपयोगी पन्छीप्रति सम्मान भएको अध्यक्ष तिमिल्सिनाको भनाई छ । 

नेपालमा लाटोकोसेरोलाई वडा पन्छीको रूपमा घोषणा गरिएको यो दोस्रोपल्ट हो । यसअघि खोटाङको जालपामा हाप्सिलोलाई घोषणा गरी विभिन्न संरक्षणका कामहरू गरिँदै आएको  छ । विश्वभर हालसम्म २५० भन्दा बढी प्रजातिका लाटोकोसेरा अभिलेख गरिएका छन् । जसमध्ये २३ प्रजाति नेपालमा पाइन्छन् । 

तीमध्ये १३ प्रजाति पोखरा उपत्यकामा र ७ प्रजाति हेमजा क्षेत्रमा अभिलेख भएका छन् । थप अनुसन्धान गरिएमा यो संख्या अझ बढ्न सक्ने प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बताए । गोठे लाटोकोसेरो मानव बस्ती नजिकै बस्न रुचाउने पन्छी हो । 

यस पन्छीले कृषि क्षेत्रमा मुसा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । लाटोकोसेरोको एउटा परिवारले एक सिजनमा २ हजारदेखि ३ हजारसम्म मुसाहरू खाने हुदाँ कृषि उत्पादनमा वृद्धि गर्न सहयोग गर्न आचार्यको भनाई छ । 

संरक्षणका लागि हेमजामा लाटोकोसेरोका लागि २० वटा कृत्रिम गुँडहरू जडान गरिएको छ भने १९ वटा पुराना रुखको संरक्षण तथा नियमित सुपरिवेक्षण गरिएको छ । 

त्यसैगरी नेपालमा राजगोमनलाई वडा सर्पको रूपमा घोषणा गर्ने पोखरा–२५ हेमजा पहिलो स्थानीय तह भएको छ । संसारभरि लगभग ४ हजार प्रजातिका सर्प पाइन्छन् । त्यसमध्ये नेपालमा करिब ८२ प्रजातिका सर्प पाइन्छन् भने कास्कीमा करिब ४० र हेमजामा करिब २२ प्रजातिका सर्प अभिलेख गरिएको छ । 

राजगोमनले सर्प खाने भएकोले अन्य सर्पहरूको संख्या नियन्त्रण गर्न ठूलो भूमिका खेल्ने गर्दछ । लजालु प्रजातिको यो सर्प हेमजाका खोला, नदी तथा वनजंगलहरूमा गुँड बनाएर बच्चा  हुर्काउने गरेको छ । 

अन्तर्राष्ट्रियस्तरमा लोपोन्मुख राजगोमनको संरक्षणले यो क्षेत्रलाई अध्ययन अनुसन्धानको थलो बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिने विश्वास गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update