सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारास्थित गौराति डाँडामा हरेक वर्ष कात्तिकशुक्ल पूर्णिमाका दिन मनाइने तीनदिने गौराति भीमेश्वर मेला शुुरु भएको छ । भीमसेन दाजुभाइको दिव्यमिलन सहित धार्मिक उत्सवका रूपमा यो जात्रा करिब ४ सय वर्षदेखि मनाइँदै आएको देखिन्छ । सरकारी पूजा सहित तीनदिनसम्म चल्ने गौराति जात्रामा भक्तजनको भीड लागेको छ ।
कात्तिकशुक्ल पूर्णिमाको उज्यालो रातसँगै सिन्धुपाल्चोक चौताराको पुरानो बजार र गौराती डाँडा दिव्य प्रकाशमा सजिएका छन् । ढोल, दमाहा र शंखध्वनिले सिन्धुपाल्चोकलाई गुन्जायमान बनाएको छ । यो माहोल गौराति डाँडामा लाग्ने गौराति भीमेश्वर मेलाको हो ।
यो मेला बुधबारदेखि शुरु भएको छ । परापूर्वकालदेखि चलिआएको यो ऐतिहासिक मेलाका समय चौताराको भीमसेन मन्दिरबाट मूर्तिलाई रथमा राखी करिब पाँचकिलोमिटर टाढा गौरातीसम्म पु¥याइन्छ । पूर्णिमाको रातमा गौराती भीमेश्वरसँग मिलन गराएपछि त्यसको भोलिपल्ट पुनःमन्दिरमा फर्काइन्छ ।
फर्काउँदा रथलाई विभिन्न टोल–चोकमा राखीपूजा र बली दिने परम्परा रहिआएको छ । स्थानीयका अनुसार चौताराको भीमसेन र गौरातीको भीमेश्वर दाजुभाइ हुन् । परम्परा अनुसार चौतारास्थित विभिन्न सरकारी कार्यालय, प्रशासन र सुरक्षा निकायका प्रतिनिधिहरू सामूहिक रूपमा उपस्थित भई भीमसेनको दर्शन तथा सरकारी पूजा गर्ने गर्छन् ।
सिन्धुपाल्चोकको सबैभन्दा ठूलो तीर्थस्थल मानिने गौरातीमा रहेको भीमेश्वर मन्दिर अत्यन्त शक्तिशाली देवता मानिन्छ । दोलखाको भीमसेन दर्शनपछि गौराती भीमेश्वरको दर्शन गरे मात्र पूर्ण फलप्राप्त हुने स्थानीय विश्वास छ ।
पौराणिक कथा अनुसार, एक समयमा गौराती डाँडो जंगलले ढाकिएको थियो । यहाँ गोठालाहरूले गाई चराउँथे । राति–राति एक गाईले ढिस्कोमा दूध चढाउँने पाएपछि त्यस ठाउँ खन्दा रगतको थोपा र दिव्यमूर्ति देखा परेपछि यहाँ भीमेश्वरको आराधना सुरु भएको जनविश्वास छ ।
“गौ” ९ गाई र “राति” ९ रातो रंग शब्द मिलेर “गौराती”नाम बनेको भनाइ छ । ऐतिहासिक शिलालेख र विसं १६४२ मा चढाइएको ढलौटको घण्टाका आधारमा गौराती मन्दिर करिब ४ सय वर्ष पुरानो ठहरिन्छ ।
विसं २०५३ मा राजा वीरेन्द्र र रानी ऐश्वर्यले मन्दिर पुनर्निर्माण पछि उद्घाटन गरेका थिए। त्यतिबेला रोपिएका दुई रुद्राक्षका रूख अहिले बाक्लिँदै फल दिन थालेका छन् ।तीनदिन सम्म चल्ने मेलामा भक्तजनले पशुबलि, लाखबत्ती, पूजा र आराधना गर्छन्। पुरानो पुस्ताका अनुसार भीमसेन बल, बुद्धि र धनसम्पत्तिका देवता हुन् ।
चौतारा पुरानो बजारस्थित भीमसेन मन्दिरका भगवान् भीमसेनलाई रथमा राखी ५ मिलोमिटर पर गौरातीस्थित भीमेश्वरसँग दिव्यमिलन गराई पुनःआफ्नै मन्दिरमा विराजमान गराउने परम्परा माहाभारत युद्दपश्चात सुरु भएर ईतिहास रहेको जानकार बताउछन् ।
यस धार्मिक यात्राले गौराती र चौताराबीच दुई गाँउको सम्बन्ध अझ सुदृढ बनाएको छ। बल, बुद्धि, धनसम्पत्ति र इच्छापूर्ति दिने शक्तिका रूपमा पूजिने भगवान् भीमसेनको यो जात्रा स्थानीयवासीका लागि चाडपर्वसरहको उत्सव बनेको छ । जसलाई मनाउन टाढाटाढा पुगेका स्थानिय समेत उत्साहका साथ घर आउने गर्दछन्।
मेला व्यवस्थापनका लागि सुरक्षाकर्मी, ट्राफिक प्रहरी र स्वास्थ्यकर्मी परिचालन छन् । मेलाको समयमा स्थानीय होटल, पसल र यातायात सेवा व्यस्त हुने गरेका छन्। गौराती मेला अवलोकन र दर्शनका लागि सिन्धुपाल्चोकसहित काभ्रे, दोलखा, भक्तपुर, काठमाडौं र ललितपुरबाट समेत करिब एक लाख दर्शनार्थी आउने अनुमान गरिएको छ ।
१ हजार ८ सय २८ मिटर उचाइमा रहेको गौराती डाँडा धार्मिक स्थल संगै पछिल्ला वर्षमा यहाँबाट देखिने हिमशृङ्रखला र प्राकृतिक दृश्यका कारण पर्यटकीय दृष्टिले पनि आकर्षक गन्तव्य बन्दै गएको छ ।
