
झापा । झापाको दमक नगरपालिका– ३ मा ठडिएको दमक विजनेश टावरको विवाद र चर्चा जति रह्यो, त्यो भन्दा बढी चर्चा यतिबेला टावरका लागि दानमा दिइएको जग्गा हाउजिङ कम्पनीले फिर्ता मागेपछि भएको छ । दान दिँदा प्रतिकट्ठा तीनलाख रहेको जग्गाको भाउ अहिले ५० लाखभन्दा धेरै भएपछि नौ वर्षपछि पञ्चकन्या हाउजिङ कम्पनीले जग्गा फिर्ता माग्न थालेपछि यसमा ठुलो चलखेल भएको आशंका गर्न थालिएको हो ।
देशकै गौरवको परियोजना अन्तर्गत रहेको दमक विजनेश टावर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्दछ । प्रधानमन्त्री ओलीकै पहलमा विजनेश टावर ठडिएको हो । ०७२ अघि नै माँ पञ्चकन्याले स्थानीयसँग सस्तो १२ बिघा जग्गा खरिद गरेको थियो ।
जग्गाको भाउ ह्वात्तै बढाउने योजना अनुसार १८ तले टावर निर्माणका लागि पञ्चकन्याले ०७३ मा चार बिघा १८ कट्ठा सात धुर सरकारलाई दान दियो । नौ वर्षअघि प्रति कट्ठा तीनलाख दररेट छँदा व्यावसायिक कम्पनी माँ पञ्चकन्या हाउजिङले टावरका लागि दान दिएको जग्गा अहिले प्रतिकट्ठा ५० लाखभन्दा माथि कारोबार चल्दै गर्दा फिर्ता मागिरहेको छ ।
कम्पनीले जग्गा दान दिएको सातवर्षअघि जनप्रतिनिधिसँग गरेको सम्झौतालाई आधार बनाएर अहिले जग्गा वा जग्गाको मूल्य मागेको हो । तर, दान दिइसकेको जग्गामध्ये दुई विघा ‘सापटी दिएको’भन्ने कागज दुई वर्षपछि गरियो । उक्त जग्गा नगरपालिकाले ६ महिनाभित्र पञ्चकन्यालाई फिर्ता गर्ने र फिर्ता गर्न नसके चलनचल्तीको दररेट अनुसार मूल्यांकन गरी पैसा बुझाउने भनी ३१ जेठ ०७५ मा जनप्रतिनिधीले नै कागजी प्रतिबद्धता जनाएको हाउजिङ कम्पनीको दावी छ ।
दमक नगरपालिकाले दुई बिघा फिर्ता गर्ने लिखित सहमति गरेको र त्यसमध्ये एक बिघा ५ कट्ठा फिर्ता नभएकाले माग गरिएको हाउजिङका सञ्चालक कृष्णराज खतिवडा बताउँछन् ।
सम्झौता पत्रमा दमक नगरपालिकाका तत्कालीन मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी र दमक– ३ का वडाध्यक्ष नविन बरालको हस्ताक्षर छ । बराल अहिले पनि वडाध्यक्ष छन् । दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाको रोहबरमा सम्झौता भएको थियो ।
सम्झौता अनुसार तत्कालीन समयमै स्थानीयसँग लिएर नगरपालिकाले १५ कट्ठा जग्गा फिर्ता गरेको थियो । तर, २५ कट्ठा फिर्ता गरेको थिएन । सात वर्षसम्म फिर्ता नहुँदा पनि पञ्चकन्या हाउजिङ चुपचाप बसिरहेको थियो ।
जब टावर निर्माण भयो, तब उक्त कम्पनीले ३१ जेठ ०७५ को सम्झौताअनुसार २५ कट्ठा जग्गा वा सोबराबरको मूल्य माग्दै पञ्चकन्या हाउजिङका सञ्चालकहरू केवलीप्रसाद खरेल, टंकप्रसाद सिटौला, कृष्णराज खतिवडा, रुद्रप्रसाद दाहाल र दीपक प्रसाईं नगरपालिका धाइरहेका छन् । दमक भ्यूटावरको नामले परिचित (दमक विजनेश टावर)को परिकल्पना गर्दैगर्दाको बखत स्थानीयको अगुवाइमा दमक विजनेश टावर जग्गा व्यवस्थापन समिति गठन नै गठन गरि स्थानीयबासीबाट जग्गा उपलब्ध गराउने कार्य गरिएको थियो ।
उक्त कार्यमा समर्थन समेत गरेर जग्गा उपलब्ध गराउने स्थानीयको प्रतिबद्धतासँगै हाउजिङ कम्पनीले पनि दमक नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत युवराज दाहालको पहलमा स्थानीयबाट सस्तो मुल्यमा खरिद गरेको जग्गा दान दिएको थियो । १८ तले टावर निर्माणका लागि पञ्चकन्याले ०७३ मा चार बिघा १८ कट्ठा सात धुर सरकारलाई दान दिएको हो ।
यता दमक नगरपालिकाका जनप्रतिनिधीले भने हाउजिङलाई नगरपालिकाले जग्गा फिर्ता गर्नुपर्ने अवस्था नरहेको बताउँछन् ।
‘माँ पञ्चकन्या हाउजिङ प्रालिका सञ्चालकहरुले जग्गा वा त्यस वापतको मुल्य माग्दै आएका छन् । तर, नगरपालिकाले उनीहरुलाई जग्गा वा त्यस वापतको मुल्य दिनुपर्ने नभएको दमक नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बताउँछन् ।
माँ पञ्चकन्या हाउजिङले स्थानीयबाट सस्तोमा जग्गा किनेर केही भ्यु टावरलाई दिएर बाँकी जग्गामा प्लटिङ गरेको छ । यो कम्पनीले त्यसवेला स्थानीयसँग प्रतिकट्ठा दुई लाखदेखिको दररेटमा जग्गा खरिद गरेको थियो ।
अहिले त्यस क्षेत्रमा प्रतिकट्ठा करिब ५० लाखमा किनबेच हुने गरेको छ । यसरी स्थानीबाट सस्तोमा खरिद गरिएको जग्गा विजनेश टावर निर्माण सम्पन्न हुनेबित्तिकै अहिले राज्यबाट जग्गा फिर्ता माग्नुले ठुलै चलखेल भएको आशंका प्रष्ट देखिन्छ ।