News 24 Television
गलकोट दरबारमा बढ्यो आकर्षण, पर्यटकीय हब बन्दै

बाग्लुङ । नेपालको शासन इतिहासमा बाइसे–चौबिसे राज्य मध्यको एउटा सानो राज्य थियो बाग्लुङको गलकोट राज्य । राष्ट्र एकीकरणका समयमा एकीकरण नभएको यो राज्यमा २०१६ सालसम्म राजाको नै राज थियो । राजाकै सन्ततिको नाममा रहेपनि गलकोट दरबार अहिले पर्यटकिय गन्तव्य बनेको छ । 

बागलुङको पुरानो सदरमुकाम गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार अहिले पर्यटकीय हब बनेको छ । हरिचौरको मुख्य आकर्षक नै गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार हो । 

अहिले गलकोट दरबारमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । दरबार अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै दरबार परिसरमै लज र रेष्टुरेन्ट संचालन गरिएको छ । दरबारको संरक्षण पनि हुने र पर्यटकका लागि सहज हुने भएकाले पर्यटन लक्षित व्यवसाय संचालन गरेको तथा आगामी दिनमा दरबारको मुख्य भवनलाई संग्रालय बनाउने लक्ष्य रहेको व्यवसायी दिनेश खत्री बताँउछन् । 

दरबारको वरपर बगैँचामा छ । दरबार एक सय बर्ष भन्दा बढी पुरानो हो । यहाँ सिमेन्टको प्रयोग गरिएको छैन, नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ । गलकोट राज्यको पहिलो राजा जितारीबम मल्ल हुन् भने यहाँका अन्तीम राजा भरतबम मल्ल हुन् जसले २०१७ सालसम्म राज्य संचालन गरेका थिए । 

राष्ट्र एकिकरणका समयमा गोर्खाली सेनाले विजय प्राप्त नगरेका कारण गलकोट राज्यमा २०१७ सम्म राजाले शासन गरेका थिए । गलकोटको राजा भएपनी भरतबम मल्ल २०१६ सालको संसदमा सांसद थिए र राजा महेन्द्रको कु को बिरोध गरेर प्रजातन्त्रका पक्षमा लागेका थिए । बिक्रम सम्वत २०३९ मा राजा भरतबमको निधन भएको थियो । राजा मल्लको निधनपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा  आएको थियो । 

परिवारसहित दरबारमा बस्दै आएका मल्लको सशस्त्र द्वन्द्वका समयमा २०५९ वैशाखमा माओवादीहरुले दरबारकै आँगनमा बन्चरोले हानेर हत्या गरे । त्यसपछि मल्ल परिवार त्यहाँबाट विस्थापित भए । 

त्यसपछि लामो समय संरक्षण बिहिन बनेको दरबार अहिले भने पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । राजाका सन्ततिको जग्गा भएपनि स्थानिय देखी सरोकार सबैसंग मिलेर दरबार संग्रालय संचालन गर्न सबै सकारात्मक भएको र त्यसका लागि गलकोट नगरपालिकाले पहल गर्नु पर्ने गलकोट उद्योग वाणिंज्य संघका निवर्तमान अध्यक्ष बिरेन्द्र श्रेष्ठको भनाई छ । 

गलकोट दरबार पूर्वराज परिवारको निजी सम्पत्ति भएपनि यसलाई गलकोट क्षेत्रको पर्यटन विकासमा प्रयोग गर्न राजाका सन्तति मन्जुर भएको र शिकार आरक्ष ढोरपाटन क्षेत्र भएकाले पछिल्लो समय पर्यटकको आवागमन बढ्दै गएको छ । 

विसं २०१७ सम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालन समेत भएको स्थान बागलुङको जिल्ला सदरमुकाम पनि थियो  । पछि राजा महेन्द्रले यहाँका राजासंग खटपट भएपछि सदरमुकाम बाग्लुङ बजार सारेका थिए । 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update