
स्याङजा । स्याङजाको कालीगण्डकी गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन निर्धारित समय भन्दा छिटो गर्ने भएको छ । स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८ ले आगामी २०८७ सम्ममा देशका सम्पूर्ण स्थानीय तहलाई पोषणमैत्री स्थानीय तह घोषणा गर्ने लक्ष्य निर्धारण गरेता पनि स्याङजाको कालीगण्डकी गाँउपालिकाले यही असोज मसान्त भित्र पोषण मैत्री गाँउपालिका घोषण गर्ने तयारीमा जुटेको हो ।
आगामी पाँच वर्षभित्र ७ सय ५३ वटै स्थानीय तहलाइ पोषणमैत्री स्थानीय तह घोषणा गर्ने सरकारको योजना छ । स्थानीय तह कार्यान्वयन निर्देशिका २०७८ ले १० वर्षभित्र सबै स्थानीय तहलाई पोषणमैत्री घोषणा गर्ने लक्ष्य निर्धारण गरेको हो ।
सोही अनुसार सबै स्थानीय तह निर्देशिका कार्यान्वयनका लागि अघि बढिरहँदा स्याङजाको कालीगण्डकी गाँउपालिका भने लक्ष्य भन्दा अघि चालु आर्थिक वर्षभित्रै पोषणमैत्री पालिका घोषणा गर्ने तयारीमा छ । बालमैत्रीसँगै पोषणमैत्री पालिका पोषणमैत्री पालिका स्थापित गर्ने अभियानमा लागेको कालीगण्डकी गाउँपालिकाले पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई पोषण मैत्री स्वास्थ्य संस्थाको रुपमा विकास गर्ने अभियानको सुरुवात गरेको छ ।
पालिकाका पोषण विशेष सेवा प्रदान गर्ने स्वास्थ्य संस्थालाई पोषणमैत्री बनाउँदै पालिकालाई नै पोषणमैत्री बनाउने योजना गाउँपालिकाको छ । यसको निम्ति विभिन्न ४९ वटा सुचकहरु पुरा गर्नु पर्ने हुन्छ । २०८३ असोज मसान्तभित्र सबै पालिकालाई पोषणमैत्री घोषणा गर्ने तयारी गरिएको छ ।
यो अभियान अन्तर्गत पालिकाले स्वास्थ्य सम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई तीब्र पारेको छ । स्वास्थ्य सेवाको पहुँच र उपभोग स्वास्थ्य बानीको विकास गराउनका विभिन्न जनचेतना सम्बन्धी कार्यक्रम गर्न सक्रियता बढाएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बताउँछन् ।
गाँउपालिका भित्रका प्रत्यक घरका सुत्केरी आमा तथा नवजात शिशुलाई भेटघाट गर्ने र विद्यालयस्तरबाटै पोषणको चेतना बृद्धी गर्ने उद्देश्यले विद्यालय तथा टोल समाजमा स्वास्थ्यकर्मीहरुको उपस्थिति बाक्लिएको छ । शुद्ध पानीको अभावबाट हुने रोगलाई जरैदेखि निराकण गर्ने र शुद्ध पानी पिउन सिकाउने उद्देश्यले पालिकाले प्रत्येक विद्यालयमा युरो गार्डको व्यवस्था गरेको छ ।
६ महिनासम्म नवजात शिशुलाई आमाको दुध खुवाउनुको महत्व, घरमै बच्चा जन्माउँदा देखिने समस्या सम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
स्वास्थ्य संस्था, विद्यालय र समुदाय गरि तीन चरणमा पोषण सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको यो गाउँपालिकाले समुदायमा आधारित कार्यक्रम अन्तर्गत गर्भवती तथा कुपोषित बालबालिकाको पोषण सुधारका लागि अण्डा वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ ।
पालिकाले स्थानीय उत्पादनको खपत तथा बजारीकरणलाई सहयोग पु¥याउने उदेश्यले पालिकाबाट अनुदान उपलब्ध गराईएका चौध वटा कृषि फर्मबाट उत्पादित अण्डालाई ३० प्रतिशत छुटमा विक्री गर्ने सम्झौता अनुसार सुत्केरी आमाले छुट प्राप्त गरेका छन् ।
६ महिनादेखि २ वर्षसम्मका बालबालिकालाई मसिक १ केजीका दरले स्थानीय स्तरमा उत्पादित सर्वोत्तम पिठो निःशुल्क प्राप्त गरेका छन् । पोषण सुधारका निम्ति सुत्केरी आमा लक्षित बालपोषण भत्ता सम्बन्धी अभिमुखिकरण, एक हजार दिनका आमाहरुलाई सरसफाई सामाग्री सहितको झोला, पोषिलो झोला लगायतका सामग्री वितरण कार्यक्रमले स्थानीय खुसी छन् ।
दलित तथा उत्पीडित समुदायका बालबालिकाको लागि, सरसफाई सम्बन्धी जनचेतना कार्यक्रम, तथा सवै स्वास्थ्य संस्थाहरुमा ‘पोषण कर्नर स्थापना तथा स्तनपान कक्ष’ र ‘सासु बुहारी कार्यक्रम’, ‘उपाध्यक्षसँग गर्भवती घर भेट’ जस्ता कार्यक्रम निकै लोकप्रिय बनेको छ ।