काठमाडौं । सरकारी कागजमा चिटिक्क मिलाइएका राष्ट्रिय गौरवका आयोजना जनताका नजरमा अब राष्ट्रिय गुनासोमा रूपान्तरित हुँदै छन् । ठूला–ठूला उद्घोष गर्दै शुरु गरिएका परियोजनाहरू अब जनताका आँखामा विकासको होइन ढिलाइ, म्याद थप र बजेट सक्ने अभ्यासको पर्याय बनेका छन् । समृद्धिको सपना देखाउँदै थालिएका यस्ता आयोजनाहरू अहिले शासन प्रणालीको लाचारी, योजनाको आधा–अधुरा आकृति र विकासको कार्टुन पोस्टरजस्तै देखिन थालेका छन् ।
सरकारले आर्थिक वर्ष २०६८\६९ मा समृद्ध नेपालको आधार खडा गर्ने ठान्दै ठूला बहुउपयोगी १७ आयोजना ‘राष्ट्रिय गौरव’को सूचीमा राख्दा देश निर्माणले गति लिन्छ भन्ने आशा गरिएको थियो । नीति, स्रोत र समय सुनिश्चित गरेर यी आयोजना कुनै अवरोधविना सम्पन्न गरिन्छन् भन्ने सोच त्यतिबेला कति सुनौलो लाग्थ्यो ।
सडक, जलस्रोत, कृषि, खानेपानी, ऊर्जा र संस्कृतिसम्बन्धी परियोजनाको प्याकेजले पूर्वाधार विकासमा ‘फड्को मार्ने’ सपना देखाइएको थियो । तर अहिलेसम्म २७ मा विस्तारित सूचीबाट मात्र ३ आयोजना सम्पन्न भएका छन् भने अधिकांश आयोजनाको गति कछुवासरह छ । केही त अझै शिलान्यासमै अड्किएका छन् । नीतिगत अस्थिरता, समन्वयको अभाव, प्रशासनिक कमजोरी र जवाफदेहिताको संकटले गर्दा ती सपना अब जनताका आँखामा ‘गौरव’ हैन ‘गुनासो’ बनेका छन् ।
वर्षौंदेखि शुरु गरिएका अधिकांश राष्ट्रिय गौरवका आयोजनाहरू तोकिएको समयमै सम्पन्न हुन नसक्नु अब अपवाद होइन परम्परा जस्तै भइसक्यो । कतै स्रोतको टुटफुट, कतै जग्गा अधिग्रहणमा अलमल, त कतै राजनीतिक अस्थिरताका कारण यी आयोजनाहरूको गति अवरुद्ध भएको छ । विशेष भनेर घोषणा गरिएका यस्ता आयोजनाहरू सामान्य मापदण्डअनुसार नै सञ्चालन भइरहेपछि तिनको औचित्य र प्रभावकारितामै प्रश्न उठ्न थालेको छ । न सुविधामा विशेषता, न त निगरानीमा कडाइः नतिजा केवल अधुरा संरचना र दोहोरिएको म्याद ।
समृद्धिको नाममा शुरु गरिएका यी परियोजनाहरू अहिले सार्वजनिक आलोचना, वित्तीय अपारदर्शिता र कार्यान्वयनको लाचारीतर्फ संकेत गर्ने उदाहरण बन्दै गएका छन् ।
कुन कुन हुन् त सम्पन्न भएका आयोजना ?
– चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत्
– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
अब हेरौं काम शुरु नै नभएका परियोजनाः
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
– परियोजना शुरुः आव २०७१\७२
– सम्पन्न गर्नुपर्नेः अवधि यकिन नभएको
– बकैया खोलामा नदी नियन्त्रण कार्य भएको ।
बुढीगण्डकी जलविद्युत आयोजना
– परियोजना शुरुः आव २०६९\७०
– सम्पन्न गर्नुपर्नेः अवधि यकिन नभएको
– जग्गाको मुआब्जा वितरण भइरहेको
पश्चिम सेती जलविद्युत् परियोजना
गिरिजाप्रसाद कोइरला क्रिकेट रंगशाला
गौतम बुद्ध रंगशालाको निर्माणदेखि धेरै परियोजनाहरू सुरु भएको दशकौं बितिसक्दा पनि अधुरा छन् र निर्धारित समयभन्दा दोब्बर समय खपत भए तापनि भौतिक प्रगति निकै न्यून देखिन्छ । धेरै आयोजनाहरू ५० प्रतिशत पनि पूरा गर्न नसकेका छन् भने कतिपय त सुरुआती चरणबाटै अगाडि बढ्न सकेका छैनन् ।
बारम्बार म्याद थप्दा लागत बढ्ने जोखिम बढिरहेको छ भने सार्वजनिक विश्वासलाई कमजोर तुल्याएको छ । ढिलाइ र व्यवस्थापनमा कमजोरीले गर्दा राष्ट्रिय गौरवका आयोजनाहरू विकासको ढोका बन्द गर्ने भन्दा पनि चुनौती थप्ने बाधक बनेका छन् ।
सिँचाइ, सडक, खानेपानी, ऊर्जा र पूर्वाधारमा आधारित यी आयोजनाहरू राष्ट्रिय विकासको मेरुदण्ड हुनुपर्ने भए पनि, राजनीतिक अस्थिरता, प्राविधिक कमजोरी, जग्गा प्राप्तिमा देखिएको अवरोध र समन्वयको अभावले तीव्र प्रगतिको बाटोमा प्रमुख चुनौतीहरू बनेका छन् । मेलम्ची खानेपानी आयोजना र कालीगण्डकी करिडोरजस्ता केही परियोजनाहरू समापनको क्रममा पुगेका छन् भने, अधिकांश आयोजना अझै सुरुवातकै चरणमै अड्किएका छन् ।
अब हेरौं राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति विवरणः
मेलम्ची खानेपानी आयोजना
– परियोजना शुरुः आव ०५५\५६
– पहिलो चरणको काम करिब अन्तिम चरणमा
– भौतिक प्रगति ९९.५ प्रतिशत
– दोस्रो चरणको काम १० प्रतिशत
– ०८५\८६ मा सक्ने लक्ष्य
हुलाकी राजमार्गको
– परियोजना शुरुः २०६५÷०६६
– सम्पन्न गर्नुपर्नेः निर्माण अवधि संशोधन गरेर आव २०८३÷०८४
– १५ वर्षमा १३ पटक सम्म म्याद थप
– भौतिक प्रगति ७१.९ प्रतिशत
मध्य पहाडी लोकमार्ग
– परियोजना शुरुः ०६६÷६७
– सम्पन्न गर्नुपर्नेः आव ०८४÷८५
– भौतिक प्रगति ८०.८ प्रतिशत
सिक्टा सिँचाइ आयोजना
– परियोजना शुरुः आव ०६१÷६२
– सम्पन्न गर्नुपर्नेः पटक–पटक निर्माण अवधि थप गरेर पछिल्लोपटक आव ०८९÷९०
– भौतिक प्रगति ४५ प्रतिशत
सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना
– परियोजना शुरुः आव ०७३÷७४
– सम्पन्न गर्नुपर्नेः निर्माण अवधि दुईपटक संशोधन गरेर आव ०८५÷८६
– भौतिक प्रगति ३६.०२ प्रतिशत
काठमाडौं–तराई मधेश द्रुतमार्ग
– परियोजना शुरुः आव ०७३÷७४
– सम्पन्न गर्नुपर्नेः निर्माण अवधि संशोधन गरेर आव ०८२÷८३
– भौतिक प्रगति ४१.३७ प्रतिशत
– तर, हालसम्म प्रस्थान विन्दु नै अनिश्चित
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
– २० वर्षीय गुरुयोजना
– आव ०७१\७२ देखि शुरु
– ०७४ मा राष्ट्रिय गौरवमा समावेश
– भौतिक प्रगति ६.१९ प्रतिशत
विद्युत् प्रसारण आयोजना (एमसिसी)
– परियोजना शुरुः आव ०७४\७५
– सम्पन्न गर्नुपर्नेः आव ०८५\८६
– अमेरिकी अनुदानमा बन्दै
– भौतिक प्रगति १६ प्रतिशत
बुढीगण्डकी जलविद्युत् परियोजना
– परियोजना शुरुः आव ०६९\७०
– सम्पन्न गर्नुपर्नेः आव ०८८\८९
– निर्माण सुरु भएको छैन
– जग्गा प्राप्तिका कारण भौतिक प्रगति १६.६ प्रतिशत
महाकाली सिँचाइ आयोजना
– परियोजना शुरुः आव ०६३\६४
– सम्पन्न गर्नुपर्नेः आव ०८७\८८
– भौतिक प्रगति २६.६५ प्रतिशत
लुम्बिनी क्षेत्र विकास कोष परियोजना
– परियोजना शुरुः आव ०६९\७०
– सम्पन्न गर्नुपर्नेः निर्माण अवधि संशोधन गरेर आव ०८२\८३
– भौतिक प्रगति ४३ प्रतिशत
रेल वे तथा मेट्रो विकास आयोजना
– परियोजना शुरुः २०६५ साल
– भौतिक प्रगति १० प्रतिशत भन्दा कम
– आयोजनाको अवधि यकिन नभएको
कालीगण्डकी करिडोर
– परियोजना शुरुः ०६६\६७
– सम्पन्न गर्नुपर्नेः आव ०८३\८४
– भौतिक प्रगति ८२.४ प्रतिशत
पशुपति क्षेत्र विकास कोष
– परियोजना शुरुः आव ०५७\५८
– सम्पन्न गर्नुपर्नेः पटक–पटक म्याद थप भई आर्थिक वर्ष २०८३\०८४
– भौतिक प्रगति ८८ प्रतिशत
रानीजमरा–कुलरिया सिँचाइ
– परियोजना शुरुः ०६७\६८
– सम्पन्न गर्नुपर्नेः निर्माण अवधि संशोधन गरेर ०८५\०८६
– भौतिक प्रगति ७४ प्रतिशत
भेरी बबई डाइभर्सन सिँचाइ आयोजना
– परियोजना शुरुः २०६८\६९
– सम्पन्न गर्नुपर्नेः निर्माण अवधि संशोधन गरेर आव २०८४\८५
– भौतिक प्रगति ६९ प्रतिशत
कोशी करिडोर
– परियोजना शुरुः २०६८
– भौतिक प्रगति ६४ प्रतिशत
कर्णाली करिडोर
– ०५६ सालमा शिलान्यास
– भौतिक प्रगति ५७ प्रतिशत प्रगति
सरकारले दिगो समृद्धिको आधार तयार पार्ने दाबीका साथ शुरू गरेका राष्ट्रिय गौरवका आयोजनाहरू दशकौं बितिसक्दा पनि अपेक्षित परिणाम दिन नसकेको यथार्थ झन् प्रस्टिंदै गएको छ । नियोजित प्राथमिकता, स्रोत सुनिश्चितता र विशेष व्यवस्थाको प्रतिबद्धता कागजमै सीमित रहँदा अधिकांश आयोजना न त समयमै सम्पन्न भएका छन् न त जनताले महसुस गर्ने उपलब्धि दिन सकेका छन् ।
नीतिगत अस्थिरता, प्रशासनिक लापरबाही, निर्माण म्यादको पटक–पटक थप, लागत वृद्धिको जोखिम र न्यून प्रगति यस्ता आयोजनाहरूको साझा नियति बनेको छ । अनेक सार्वजनिक गुनासोका बीच राष्ट्रिय गौरवको नाममा सञ्चालित आयोजना अब जनताको विश्वासमाथि बोझ बन्न थालेका छन् । यदि तत्कालीन सुधारात्मक कदमहरू नचालिए, नीति र कार्यान्वयनको बीचको खाडल पुरा गर्न नसकिने हो भने यी आयोजना विकास होइन प्रशासनिक असफलताको प्रतिविम्ब मात्र बन्नेछन् ।
