News 24 Television
रुपन्देहीमा चुनावी तयारी कसरी हुँदैछ ?

रुपन्देही । रुपन्देहीमा निर्वाचन तयारी अन्तिम चरणमा पुगेको छ । गएरातिदेखि मौन अवधि सुरु पछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदानस्थल, केन्द्र र मतगणनास्थलमा आवश्यक तयारी तिव्र रुपमा अगाडि बढाएका हुन् । २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । 

निर्वाचनका लागि मतदान स्थलहरुमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मीहरु पुगेका छन् । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मतपत्र, मतपेटिका, शिल, छाप लगायतका आवश्यक सामाग्री पनि पठाउने काम धमाधम भइरहेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय, भैरहवाका अनुसार मतदानका लागि चाहिने मतपत्र सहित करिब ५ दर्जन आवश्यक सामाग्री बुझी, रुजु गरी मतदान अधिकृत सहित कर्मचारी, सुरक्षाकर्मीहरु आ–आफ्नो मतदान केन्द्रमा खटिएका छन् । 

बस्नेतका अनुसार मतदानस्थलमा पुगेका अधिकृतहरुले सूचना टाँस गर्ने, सर्वदलीय बैठक गर्ने र मतदानको तयारी गरिरहेका छन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन मतदान स्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीहरुले प्रभावकारी रुपमा काम गर्नेछन् । 

मतदानको तयारीसँगै जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा मतगणनाका लागि गणना स्थल र आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गर्ने, गणना स्थलमा तारजाली लगाउने लगायतका काम पनि अन्तिम चरणमा पुगेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर ७ सय ३६ जना मतदान अधिकृत र त्यति नै संख्यामा सहायक मतदान अधिकृत खटिएका छन् । यस्तै, मतदान स्थल र केन्द्रमा गरी ४ हजार ४ सय ४ जना कर्मचारी खटाइएको छ । यस्तै, २ हजार २ सय ३ जना स्वयंसेवक कर्मचारी खटाइएको बस्नेतले बताए ।

जिल्लामा २ सय १३ मतदान स्थलमा ७ सय ३६ मतदान केन्द्र छन् । पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update