News 24 Television
अर्बौ ठगीको खुलासा : हेलिकप्टर, ट्राभल कम्पनी र अस्पतालको सेटिङ

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकहरूको मुख्य आकर्षण हो पर्वतारोहण र पद यात्रा । उच्च हिमाली क्षेत्रमा कतिपय विदेशी पर्यटकहरुलाई लेक लाग्ने अथवा अन्य कुनै स्वास्थ्य अक्सर आउने गर्छ । तर त्यही कठिनाइको फाइदा उठाउँदै उद्धारका नाममा केही नेपाली पर्यटन व्यवसायीहरुले भने संगठित रुपमै अवैध असुली र ठगीधन्दा चलाइरहेका छन् । देशकै बदनाम गराइरहेको यस्ता घटना पट–पटक सार्वजनिक पनि भइसकेका छन् । 

हिमाली क्षेत्रबाट उद्दारका नाममा पर्यटन व्यवसायी, हेलिकप्टर कम्पनी र अस्पतालहरुको मिलेमतोमा करोडौँ रकम असुली हुने गरेको तथ्य सार्वजनिक भएको हो । जेनजी आन्दोलन जाँचबुझ आयोगका सदस्य तथा पूर्वएआइजी विज्ञानराज शर्मा नै फेक रेस्क्यू गर्ने गुरु ट्राभल्सको अध्यक्ष हुन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले तिन महिना यतादेखि गरिरहेको अनुसन्धानले उद्धारका नाममा गम्भीर अपराध भइरहेको देखाएको छ । नेपालका हिमाली क्षेत्रबाट विदेशी पर्यटकहरूको हेलिकप्टर उद्दारका नाममा चर्को असुली भइरहेको विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पटक पटक समाचार आइरहेको थियो । तर यसमा अनुसन्धान हुन सकिरहेको थिएन । हिमाली क्षेत्रबाट हुने उद्धार कार्य अन्तर्राष्ट्रिय जगतमा नराम्रोसँग बदनाम भई सक्दा पनि नेपालमा भने यो गोरख धन्दामाथि अनुसन्धान हुन सकिरहेको थिएन ।

अहिले भने सीआइबीले ४ कम्पनिका ९ जना सञ्चालक पक्राउ गरेपछि उद्धारका नाममा भइरहेको असुली धन्दा बाहिर आएको छ । विदेशी पर्यटक उद्धारको नाममा बीमा रकम असुली गरिएको आशंकासहित नक्कली उद्धार प्रकरणमा ठमेलस्थित ट्रेकिङ एजेन्सी एससीई  द हिमालय टुर्स एण्ड प्रालीका सञ्चालक प्रेमकुमार खत्रीमाथि सिआईबीले अनुसन्धान अगाडि बढाएको छ । 

खत्री गोरखा क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार समेत हुन । उनको कम्पनीले फेक रेस्क्यु प्रकरणमा करोडौ घोटला गरेको आंशका गरिएको छ । 

विदेशी पर्यटक उद्धार रेस्क्युका नामका अस्पताल, बीमा कम्पनी र ट्राभल एजेन्सीबीच मिलेमतो गरी ठगी हुँदै  आएको आरोप छ । 

यो विषयमा आवश्यक कागजात संकलन, बैंक कारोबार विवरण र बीमा दाबी प्रक्रियाको परीक्षण भइरहेको रहेको सिआइबीले बताउँछ । अहिले कम्पनीका सञ्चालक तथा कर्मचारीसँग बयान लिने क्रम जारी रहेको प्रहरी बताउँछ । 

सीआइबीले पक्राउ गरेका मध्य एक मुख्य आरोपी हुन माउन्टेन रेस्क्यु सर्भिसका संचालक जयराम रिमाल । जसको कम्पनीले सन २०२२ देखि २५ सम्म १२ सय ४८ जना विदेशी पर्यटकको उद्धार गरेकोमा १ सय ७१ जनाको उद्धार नक्कली देखिएको छ । 

जसबाट माउन्टेन रेस्क्युले १ अर्ब रुपैयाँ भन्दा बढीको बीमा दाबी गरेको छ । नक्कली उद्धारमा माउन्टेन रेस्क्युले एयर डाइनेष्टिको हेलिकप्टर प्रयोग गरेको खुलेको छ । अहिले रिमाललाई रेस्क्यु कम्पनीको सञ्चालक देखाएर हेलिकप्टर सञ्चालक उम्किन खोजे पनि ती दुवै कम्पनीका सञ्चालक एउटै समूह भएको पनि खुलेको छ । 

यस्तै नेपाल चार्टर सर्भिस नक्कली उद्धार गर्ने अर्को कम्पनी हो । जसका सञ्चालक रवीन्द्र अधिकारी र व्यवस्थापक विवेकराज थपलिया पक्राउ परिसकेका छन् । नेपाल चार्टर सर्भिसले तिन वर्षमा ४ सय ७१ वटा उद्धार गरेकोमा ७५ वटा शङ्कास्पद देखिएको छ । जसबाट उनीहरूले ८२ लाख ३४ हजार अमेरिकी डलर बिमा दाबी गरेका छन् । 

यस्तै मुक्ति पाण्डे सञ्चालक रहेको एभरेस्ट एक्सपिरियन्सले तिन वर्षमा ६०१ वटा उद्धार गरेकोमा ७१ वटा नक्कली देखिएको छ । त्यस बापत् कम्पनीले ११ लाख ५३ हजार अमेरिकी बिमा दाबी गरेको छ । 

कतिसम्म भने सगरमाथा क्षेत्रबाट पाँच जना पर्यटकको अल्टिच्युट एयरको एउटै हेलिकप्टरमा एकै खेपमा उद्धार भएको विमानस्थलको रेकर्ड हुँदाहुँदै उद्धार कम्पनी नेपाल चार्टर सर्भिसले पाँच जनाको फरक फरक उद्धार गरेको भन्दै एक जनासँग ७८ सय डलर, एक जनासँग ४५ सय डलर र दुई जनासँग ९४ सय डलर गरेर ३१ हजार डलर बिमा दाबी गरेको फेला परेको छ । 

यस्तै मुक्ति पाण्डे सञ्चालक रहेको एभरेस्ट एक्सपिरिएन्सले कैलाश हेलिकप्टरबाट ३ जनाको एकै पटकमा उद्धार गरेकोमा फरक फरक बिल बनाएर १४ लाख भन्दा बढी बीमा दाबी गरेको छ । 

यि सबै काममा हेलिकप्टर कम्पनी र अस्पतालका सञ्चालकहरू पनि संलग्न रहेको भेटिएको छ । नक्कली उद्धार गर्नेमा सबै भन्दा धेरै एयर डाइनेष्टि १ सय ७१, अल्टिच्युट एयर ७९, मनाङ एयर २८, कैलाश एयर १३ र बेसक्याम्प एयरले १३ वटा उद्दारका धन्दामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बुधवार मात्र पर्वतारोहणमा गएका विदेशी नागरिकको नक्कली उद्धार गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । 

विमान सेवा सञ्चालक संघ नेपालका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह र रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई प्रहरीले पक्राउ गरेको हो । सिआइबीका अनुसार योसँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी बिमाका नेपाल स्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी सञ्चालक समेत गरी ९ जनालाई पक्राउ गरिसकेको छ । 

पक्राउ परेकाहरूमाथि सम्पत्ति शुद्धीकरण, सङ्गठित अपराध र राज्य विरुद्धको कसुरमा अनुसन्धान भईरहको छ । मुलुकी अपराध संहिता अनुसार संगठित अपराध मुद्दामा ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई छुट छ । 

यसअघि मुलुकी अपराध संहिता २०७४ को दफा ५१ उल्लेखित राष्ट्रहित विरुद्धको कसुरमा उनीहरुलाई म्याद थप गरी अनुसन्धान सुरु भएको थियो । यो कसुरमा पनि २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सीआइबीलाई छुट छ । हालसम्म ८४ दिनसम्म सीआइबीले अनुसन्धानका लागि म्याद पाउन सक्छ ।

अन्य हेलिकप्टर कम्पनी र त्यसका सञ्चालकहरू पनि अनुसन्धानको दायरामा छन् । यस्तै सामान्य बिरामीलाई समेत हेलिकप्टर उद्धारको डर देखाएर पैसा असुली गर्नेमा ट्रेकिङ कम्पनीहरू पनि संलग्न रहेको विषयमा सीआइबीले अनुसन्धान गरिरहेको छ । सीआइबीको अनुसन्धानले नक्कली उद्धारको धन्दा सङ्गठित रूपमै हुँदै आएको आशङ्का गरेको छ । 

पर्यटन व्यवसायीहरू भने केही व्यक्तिको कारण सिंगो क्षेत्र बदनाम हुन नहुने तर्क गर्छन् । सीआईबीले बीमा कम्पनी, अस्पताल र ट्रेकिङ एजेन्सीबीचको आर्थिक लेनदेन तथा उद्धार रेकर्डको क्रस–भेरिफिकेसन गरिरहेको जनाएको छ । प्रारम्भिक प्रतिवेदन केही साताभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ । पर्यटन क्षेत्र पारदर्शी र विश्वसनीय बनाउन यो अनुसन्धान निर्णायक बन्न सक्ने देखिएको छ । 

 

प्रकाशित मिति: सोमबार, फागुन १८, २०८२  ०८:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update