News 24 Television
निर्वाचन विथोल्न विभिन्न समूह सक्रिय, सुरक्षा कडा

काठमाडौं । निर्वाचनका लागि अब केही घण्टामात्र बाँकी रहदाँ देशभरका सुरक्षा निकायहरूको ध्यान निर्वाचन सुरक्षामा केन्द्रित छ । संवेदनशील मतदान केन्द्र, सम्भावित झडप हुने क्षेत्र र आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रणमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् । तर यही बेला काठमाडौँसहित विभिन्न जिल्लाहरुमा सवारी साधन आगजानीदेखि नक्कली बमहरु राखेर नागरिकलाई त्रास फैलाउने तत्वहरु सक्रिय हुन थालेका छन । नागरिकको जिउधनको सुरक्षा व्यवस्था कस्तो छ त ? 

मंगलबार बिहान करिब ४ बजेतिर काठमाडौँको नैकाप र सुकेधारामा दुई वटा गाडीमा आगजनी भयो । बा ७ च १४०१ र बिएए २८३६ नम्बरका सवारी साधन थिए । प्रहरी टोलीले जानकारी पाएपछि घटनास्थल पुगेको थियो । घटनास्थलमा निर्वाचन विथोल्ने कार्यमा लागेका दुर्गा प्रसाईं समूहसँग सम्बन्धित पर्चाहरू भेटिए । सवारी साधनमा आगो लगाउने नै उनीहरुका मान्छे थिए । 

सवारी साधन पनि उनीहरुको आफनै भएको खुल्यो । सोमबार निर्वाचनको मौन अवधि सुरु भएकै रात विराटनगरको संवेदनशील क्षेत्रमा शंकास्पद वस्तु फेला परेपछि स्थानीय प्रशासन र सर्वसाधारणमा त्रासको वातावरण बन्यो । कालो प्लास्टिकको झोला भेटिएपछि बमको आशंकामा रातभर सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

सीसी क्यामेरा फुटेजमा मध्यरातमा स्कुटर चढेर आएका एक व्यक्तिले झोला छाडेर हिँडेको दृश्य देखिएपछि नेपाल प्रहरीले तत्कालै उक्त क्षेत्र सिल गर्यो । मंगलबार बिहान करिब ७ बजे सेनाको टोलीले हेर्दा झोलाभित्र कुनै विस्फोटक पदार्थ नभई केवल माटोको हाँडी, खरानी र पूजाको सामग्री फेला पर्यो । 

घटनामा कुनै विस्फोटक वस्तु नभेटिए पनि निर्वाचनको समयमा सार्वजनिक स्थलमा यसरी त्रास फैलाउने गरी वस्तु राख्ने व्यक्तिको खोजी तीव्र भईरहेको छ । एक साता अगाडि मात्र विराटनगर महानगरपालिका–७ डाँफे चोकमा कालो प्लास्टिकको पोकाभित्र शङ्कास्पद वस्तु रहेको सूचना प्राप्त भएको थियो । सूचनापछि नेपाली सेनाको विराटनगर विमानस्थलमा तैनाथ बम डिस्पोजल टोलीसहितको फौज तत्काल परिचालन गरिएको थियो । संयुक्त रूपमा क्षेत्रलाई सुरक्षित बनाउँदै शङ्कास्पद वस्तुलाई निष्क्रिय गरियो । 

त्यसैगरी कोशी प्रदेशकै ताप्लेजुङ जिल्ला आठराई त्रिवेणी गाउँपालिका–३ पञ्चमीस्थित हाङपाङ–दोभान भित्री कच्ची सडक खण्डमा बिहान कालो टेपले बेरिएको अर्को शङ्कास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको थियो । लगत्तै हाङपाङ सुरक्षा बेसमा तैनाथ बम डिस्पोजल टिमसहितको टिमले उक्त वस्तु निस्क्रिय पार्यो । 

दुवै स्थानमा फेला परेका शङ्कास्पद वस्तु समयमै निष्क्रिय गरिएकाले कुनै मानवीय वा भौतिक क्षति भने हुन पाएन । रौतहटमा विभिन्न समूहबीच उत्पन्न विवादले हिंसात्मक रूप लिएको र वीरगञ्जमा समेत ढुङ्गामुढा तथा प्रदर्शनका कारण स्थिति तनावपूर्ण बनेपछि निर्वाचन सुरक्षामा नयाँ चुनौती थपिएको विश्लेषण गरिएको छ । यी स्थानमा उत्पन्न तनावले निर्वाचनको वातावरण बिथोल्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा रणनीतिमा प्रहरीले केही  फेरबदल समेत गरिरहेको छ । फागुन ५ गते तुलसीपुरको अटोभिलेजमा अज्ञात समूहले सिलिन्डर बम विष्फोट गरायो । 

यस्तै त्यही दिन नै हेटौँडा उपमहानगरपालिका १६ चिसापानी र रूपन्देहीको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु भेटियो । दुवै स्थानका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले हटायो । निर्वाचनको वातावरण बिथोलिने गरी यस्ता गतिविधि गर्नेहरू सक्रिय हुन थालेपछि सुरक्षा निकायले निगरानी बढाएको छ । 

नेपाल प्रहरीले देशभरका निर्वाचन क्षेत्रको सुरक्षा चुनौती विश्लेषण गरेर रणनीति तयार पारेको जनाए पनि मतदानको मिति नजिकिँदै जाँदा भएका यस्ता गतिविधिले सुरक्षा चासो बढाएको छ । तर प्रहरीले भने पछिल्लो एक सातामा भएका घटना सामान्य र छिटफुट भएकाले चुनावी वातावरणमा कुनै असर नगर्ने दाबी गरेको छ ।

विभिन्न खालका चुनाव विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा १३३ जना पक्राउ परेकोमा अझै पनि ७० जना हिरासतमा रहेको प्रहरीले बताएको छ । प्रहरी जनशक्ति निर्वाचनमा खटिँदा नियमित गस्ती, निगरानी र अपराध अनुसन्धानमा केही असर पर्नसक्ने सुरक्षाविद्हरूको आकलन छ । 

निस्पक्ष, स्वतन्त्र र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नु राजनीतिक दल र नागरिक समाजको पनि दायित्व हो । तसर्थ शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सबै पक्ष संवेदनशील हुन आवश्यक छ । 

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  ०८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update