
महिला हिंसाका घटनाहरुको सन्दर्भ उठ्नासाथ धेरैले दुर्गम गाउँ, अशिक्षा र गरिबीलाई मूल कारण ठान्छन् । तर पछिल्ला तथ्यांकहरूले शिक्षाको पहुँच बढ्दै गएको समाजमै पनि महिलाहरू सुरक्षित नरहेको यथार्थ उजागर गरेका छन् । महिला पुनःस्थापना केन्द्र (आरेक)को ‘अन्वेषी २०८१’ प्रतिवेदन अनुसार घरेलु हिंसामा परेका ७७ प्रतिशत महिला साक्षर छन्, जसमा धेरैले आधारभूत वा माध्यमिक शिक्षा लिएका छन् । यस्ता तथ्यहरूले देखाउँछ कि शिक्षाले मात्र महिला हिंसा रोकिन्न, जबसम्म मानिसमा चेतनाको विकास र व्यवहारमा समानता देखिदैन ।
हिंसा शिक्षित घरभित्रै किन ?
सामाजिक संरचना अझै पनि पुरुषप्रधान छ, जहाँ महिलाको स्वरलाई दोस्रो तहमा राखिन्छ । धेरै पढेलेखेका महिला कार्यालयमा ‘प्रोफेसनल’ भए पनि घरमा ‘परम्परागत पत्नी’कै भूमिकामा सीमित छन् । उनीहरूको आत्मसम्मान, इच्छाहरू र स्वतन्त्रतामाथि बारम्बार आक्रमण हुन्छ, कहिले शब्दद्वारा त कहिले व्यवहारद्वारा ।
‘शिक्षित समाजमा महिला हिंसा न्यूनीकरण नहुनु भनेको धेरै कारण छन् त्यसमा पनि मुख्य पितृसतात्मक सोँच र संस्कार नै हो ।’ –महिला अधिकारकर्मी बिना सिलवाल भन्छिन्, ‘महिलाहरुमाथी हेर्ने दृष्टिकोणमा अझै परिवर्तन भएको छैन । जो महिला बाहिर निस्कन खोज्नुहुन्छ, वा न्यायका लागि जो अगाडी बढ्न खोज्नुहुन्छ तर झण्झटीलो व्यवस्थापन र असहज अदालती प्रक्रियाले गाह्रो बनाएको छ । त्यसमाथी बल्लतल्ल कागजमा न्याय पाए पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । यो कास्कीमा ठूलो रोगको रुपमा रहेको छ ।’
शिक्षाले दृष्टिकोण परिवर्तन नगरेसम्म हिंसा शिक्षित घरभित्रै हुने सिलवाल बताउँछिन् । अहिले पनि महिलाले हिंसाको आवाज उठाउने वित्तिकै उ घरपरिवार, आफन्त र छिमिकबाटै एक्लो हुनुपर्ने बाध्यता रहेको उनको भनाई छ । घरपरिवारबाटै समान संस्कारमा हुर्काउन पर्ने र राज्यको नीति नियमलाई कार्यान्वयन तर्फ जोड दिनुपर्ने सिलवाल बताउछिन् ।
घरमै हिंसा : किन चुप लाग्छन् महिला ?
पछिल्लो समय समाज शिक्षित भएपनि हिंसाका घटना न्यूनीकरण नहुनु निकै दुःखद कुरा भएको राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नितु गर्तौला बताउँछिन् । ‘महिलामा चेतना वृद्धि भएकाले नै पछिल्लो समय आफु अन्यायमा परेपछि कानूनी उपचारमा जान थालेका छन् । पहिला महिलाहरु घरभित्रै बस्थे भने अहिले शिक्षित भएकैले आफुमा परेको हिंसाको कानूनी बाटो खोज्न थालेका छन् । बाहिर धेरै सुधार भएको देखिन्छ तर घरभित्रै पुरुष र महिला समान हुन भने सकेको छैन ।’ – मानव अधिकारकर्मी गर्तौला भन्छिन् । विशेषगरि आर्थिक रुपमा कमजोर भएका र अपांगता भएका महिलाहरु बढी हिंसामा परेको उनको भनाई छ । गर्तौला भन्छिन् –‘पुरुषले मादक पदार्थ र लागु पदार्थको सेवनले बढी महिला हिंसा बढेको देखिन्छ ।’ पछिल्लो समय देखिने खाल्को शारिरिक हिंसा भन्दा पनि मानसिक हिंसा बढ्दै गएको उनको भनाई छ ।
पोखराकै एकजना महिला निजामती कर्मचारी जो साँझ–बिहान घरको काम पनि गर्नुपर्ने र जागिर पनि गर्नुपर्ने सुनाईन् । परिवारको सबै कुरा एक्लैले गर्नुपरेकाले आफुलाई हिंसा भएको बताउँछिन् । नाम नबताउने सर्तमा उनी भन्छिन् ‘परिवार मेरो लागि सबैथोक हो, परिवारको कुरा बाहिर ल्याउँदा म नै नराम्रो हुन्छु । हिंसा भयो भनेर उजुरी हाले भनेत म एक्लो हुन्छु । न त मलाई परिवारले साथ दिन्छ, न आफन्तले, न समाजले ।’
त्यस्तै पोखरा २२ पुम्दीभुम्दी कोदीमा कक्षा ३ मा पढ्ने १० वर्षिय बालिकालाई बलात्कार पछि हत्या गरिएको घटना ताजै छ । पोखरा वडा नं. ३३ मा बस्दै आएका गमबहादुर पुनले खाना नबनाएको निहुँमा आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरि हत्या गरेको घटना पनि सेलाउन पाएकै छैन । ८७ प्रतिशत भन्दा धेरै साक्षरता भएको जिल्लामा समेत यस्तो घटना घटिरहेको छ । यस्ता घटना त शिक्षित समाजकै उदाहरण हो । सामान्यदेखि डरलाग्दा महिला हिंसा यहि शिक्षित समाजमै भैरहेका छन् ।
तिनै तहको सरकार जिम्मेवार हुनु आवश्यक
आज महिला हिंसाको परिभाषा केवल कुटपिटमा मात्र सीमित छैन । यौन शोषण, एसिड आक्रमण, दाइजोको कारण उत्पीडन, मानसिक यातना, बलात्कार, गर्भपतनमा जबर्जस्ती, बालविवाह, प्रजनन अधिकार हनन् जस्ता हिंसाका स्वरूप हुन्, जसले महिला अस्तित्वलाई नै चुनौती दिइरहेको छ । विश्व स्वास्थ्य संगठन भन्छ –‘विश्वभर २५–४० प्रतिशत महिलाले जीवनको कुनै न कुनै मोडमा यस्ता हिंसाका अनुभव गरिरहेका छन् ।’
यसले यो पनि पुष्टी हुन्छ की शिक्षित समाजमा पनि महिला हिंसा न्यूनीकरण भएको छैन । तर महिला हिंसाका उजुरीका घटना बढ्नुलाई महिला चेतना वृद्धि भएको बताउँछिन महिलाको लागि वकालत गर्ने गण्डकी प्रदेशकी सांसद दमयन्ती रुचाल । उनी भन्छिन् –‘कानूनी व्यवस्था व्यवस्थित नभएकाले छोरी चेलीको कुरा बाहिर नल्याउनलाई हिंसा सहेर बसेको दे्िरखन्थ्यो ।
समाज परिवारले पनि लुकाउने चलन थियो । तर पछिल्लो समय महिलाहरुले हिंसामा विद्रोह गरेका छन् वा उनीहरु दबिएर बस्न हुदैन भन्ने चेतना बढेको देखिन्छ । शिक्षित समाजमा पनि महिलालाई कुण्ठित गर्न खोज्दा पनि महिला हिंसाका उजुरी, मुद्दा दर्ता भइरहेको छ । महिला हो भन्दैमा सहेर बस्नु पनि हुँदैन ।’ अपांगता भएका, विपन्न र दलित महिलाहरु अझ बढी उत्पिडन तथा हिंसामा पर्ने गरेको सांसद रुचालको भनाई छ ।
महिला हिंसालाई कम गर्न तिनै तहको सरकार जिम्मेवार हुनु आवश्यक रहेको उनी बताउँछिन् । ‘घरपरिवार र समाज पनि एक पाटोमा जिम्मेवार हुनुपर्छ भने राज्यको नीति, नियम तथा कानून नै बलियो हुनु आवश्यक छ ।’ –सांसद रुचाल भन्छिन् ।
कस्तो छ कास्कीको तथ्यांक
जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला अदालत कास्कीको तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७९।८० पछिका दुई वर्ष महिला हिंसाका घटना, उजुरी तथा मुद्दा दर्ता बढेको देखिन्छ । कास्की प्रहरीमा २०७९।८० मा ८५ वटा महिला हिंसाका घटना घटेको तथ्यांकमा थियोभने २०८०।८१ मा ९२ र २०८१।८२ ८८ वटा महिला हिंसाका घटना अभिलेखमा छ । त्यस्तै कास्की अदालतमा २०७९।८० मा १८ वटा मुद्दा दर्ता भएका थिएभने २०८०।८१ मा ३० वटा र २०८१।८२ मा २४ वटा महिला हिंसाका मुद्दा दर्ता भएका थिए । यसरी पछिल्ला दुई वर्षलाई हेर्दा महिला हिंसाका घटनामा उजुरी दिनेको संख्यामा वृद्धि भएको देखिन्छ । तर यो त प्रहरी र अदालतमा पुग्नेको संख्या मात्र हो । प्रहरी र अदालतमै नपुगेगा धेरै महिला हिंसाका घटना हाम्रो समाजमा निकै धेरै छन् ।
उजुरी बढ्नु साक्षरताको इन्डिकेटर
प्रहरीमा उजुरी र अदालतमा मुद्दा दर्ता बढ्नु भनेको साक्षरताको इन्डिकेटर भएको अधिवक्ता भगवती पहारीको भनाई छ । ‘हिंसा सहेर बस्नुहुदैन, न्यायको लागि प्रहरी–अदालत जानु पर्छ भन्ने सचेत हुनाले पनि वृद्धि भएको हुन सक्छ । सिक्षित भएकाले नै उजुरीहरु बढेको हो ।’ – अधिवक्ता पहारी भन्छिन् ।
अझै पनि अदालत प्रतिको बुझाईमा कमि रहेको उनको भनाई छ । अधिवक्ता पहारी भन्छिन् –‘अदालती प्रक्रियामा गएपछि धेरै पैसा खर्च हुन्छ भन्ने भ्रम रहेको छ, यहि भ्रमकै कारण धेरै महिलाहरु हिंसा सहेर बस्ने गरेका छन् ।’
घरमै सुरु हुनुपर्छ न्याय
ग्रामीण क्षेत्रका महिलाहरू अझै पनि शिक्षा र आर्थिक अवसरबाट टाढा छन् । उनीहरू आफ्नो हक, अधिकार वा कानुनी सहायता कहाँ पाइन्छ भन्ने नै जान्दैनन् । शिक्षित महिलाले पनि आर्थिक स्वतन्त्रता नपाउँदा सामाजिक दृष्टिले कमजोर बन्नुपरेको छ । यही निर्भरता झैझगडा, मानसिक तनाव र नियन्त्रणको माध्यमले हिंसामा रूपान्तरण भएको देखिन्छ । राजनीतिक दल, संघसंस्था, नागरिक समाज, प्रहरी, अदालत, संकट व्यवस्थापन केन्द्रसहितका अस्पताल, शिक्षालय तथा हरेक अभिभावक महिला हिंसाविरुद्धको अभियानमा छन् । तथापि हिंसाका घटना कारुणिक र दर्दनाक रूपमा बढ्दै गएका छन् । उच्च शिक्षा हासिल गरेका र प्रविधिमा पोख्त व्यक्तिहरूबाटै ‘साइबर बुलिङ’ र साइबर अपराधमार्फत महिला हिंसा हुने प्रवृत्ति समेत बढेको छ ।
घरलाई नै पहिलो पाठशाला भनिन्छ तर त्यो पाठशालाको गुरु आमा–बुबा नै हुन् । यदि आमा–बुबाले छोरालाई सुरुदेखि नै अन्तरदृष्टि, संस्कार र आदर सिकाए भने भविष्यका श्रीमती, दिदीबहिनी, सहकर्मीहरू सुरक्षित हुन्छन् ।
अन्त्यमा,
शिक्षित समाजमा महिला हिंसा हुनु अझ दुःखद हो । शिक्षाको अर्थ केवल अक्षर चिन्ने होइन, समता बुझ्ने, न्याय खोज्ने र आफ्नो दविएको आवाज बाहिर ल्याउन सक्ने शक्ति दिलाउने माध्यम हो । यदि शिक्षित समाजमै महिलाहरू असुरक्षित छन् भने, कसरी शिक्षित समाज भन्ने ? यो प्रश्न उब्जिएको छ । शिक्षित समाज त तव बन्छ जहाँ महिलाले आत्मसम्मानका साथ बाँच्न पाउछन् ।